फेरि लाग्न थाल्याे मनाङको जङ्गलमा आगो

 फागुन २, २०७७ आइतबार १०:५२:४१ | रासस
unn.prixa.net

मनाङ - हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुमा रहेकाे मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताउनुभयो ।

मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उहाँको भनाइ छ । आगलागीबाट कुनै मानवीय तथा पशुचौपायामा क्षति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त टोलीले आगो निभाउने गरिरहेको छ । 'हामीले हाम्रोतर्फबाट प्रयास गरिरहेका छौँ' मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भन्नुभयो ।

उहाँले अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गका वन जलिरहँदा खोज अनुसन्धान प्रक्रियामा ढिलाइ गरेको आरोपसमेत लगाउनुभयो । मनाङमा भएका आगलागीमा अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वन परेको तथा यसको जिम्मेवारी एक्यापले लिनुपर्नेमा छिटो तथा तदारुकताका साथ नभएको स्थानीयवासीको आरोप छ । 'जङ्गल जलिरहेको छ, हाम्रा कर्मचारी र स्थानीयवासी परिचालन भएका छन्, अनुसन्धानको दायरा कसिलो बनाएका छौँ, कसरी आगो लाग्यो भन्ने कुरा अझै पत्ता लगाउन सकेका छैनौँ' अन्नपूर्ण संरक्षण क्षेत्रका मनाङ प्रमुख लेखनाथ गौतमले भन्नुभयो ।

उहाँले स्थानीयवासीले मुख नखोल्दा आगलागीको कारण तथा व्यक्ति पत्ता लगाउन र अनुसन्धान गर्न कठिन भएको बताउनुभयो । यसभन्दा अघि पनि दुई पटकसम्म मनाङको विभिन्न जङ्गलमा आगलागी भएको थियो । आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन । कसले र किन पटक–पटक मनाङका जङ्गलमा आगो लगाएको हो भन्नेबारे अन्योल भएको छ ।

यसरी बाराम्बार यस्ता गतिविधि दोहोरिरहँदा हिमाली जडीबुटी र लोपोन्मुख जनावरको विनाश भएको स्थानीयवासीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया