प्रदेश सरकारको ३० लाख रुपैयाँको लागतमा ‘लभ्ली हिल’ र ‘बाबियाचौर’मा हरियाली पार्क (तस्बिरसहित)

 फागुन ५, २०७७ बुधबार १३:५६:४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पछिल्लो समय सहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्नका लागि पार्क निर्माण गर्ने क्रम बढ्दो छ । 

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यापर्यटन कार्यक्रमअन्तर्गत हिमाली जिल्ला म्याग्दीको दुईवटा पालिकामा पनि हरियाली पार्क निर्माण गरिएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा बेनी नगरपालिका–२, खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल र मंगला गाउँपालिका–२ बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको हो । प्रदेश सरकारको १८ लाख रुपैयाँको लागतमा मंगलाको बाबियाचौर तथा १२ लाख रुपैयाँको लागतमा लभ्लीहिलमा हरियाली पार्क निर्माण भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

सहरी क्षेत्रमा बढ्दो प्रदूषणबाट बच्न र पर्यावरणको समेत संरक्षण गर्ने उद्देश्यसहित हरियाली पार्क निर्माणको कार्य अघि सारिएको प्रदेश सरकारले जनाएको छ । पर्यटकहरुको चहलपहल बढाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हरियाली पार्कमा विभिन्न प्रजातिका सुगन्धवाल फलफुलका बिरुवाहरु रोपिएका छन् ।

अक्सिजन उत्सर्जन गर्न, पर्यटकलाई वनस्पतिसम्बन्धी विषयमा सूचना दिन र जैविक विविधताको संरक्षण एवं अभिवृद्धि गर्ने उद्देश्यले हरियाली पार्क निर्माण गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।

सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गामा वृक्षारोपण गरी हरियाली बनाइ सफा र स्वच्छ हावा लिनका लागि समेत पार्क निर्माणमा जोड दिइएको जनाइएको छ । म्याग्दीको विभिन्न स्थानमा सामुदायिक वनअन्तर्गत खाली जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्नेगरी हरियाली पार्क निर्माणपछि स्थानीय खुसी भएका छन् । 

निर्माण गरिएका पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफुल प्रजातिका सदाबहार हरियाली भैरहने र सुगन्धवाल बिरुवाहरु रोपिएको छ । लभ्लीहिलमा हरियाली पार्क बनाएर विभिन्न प्रजातिका बोटबिरुवाहरु रोपेसँगै पछिल्लोपटक लभ्लीहिल भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै जान थालेको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मंगला गाउँपालिकाले गएको आर्थिक वर्षमा मंगला इन्द्रेणी पार्क निर्माणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरी पार्क निर्माण गरेको जनाएको छ । चालु आर्थिक वर्षमा पनि म्याग्दीको विभिन्न स्थानमा प्रदेश सरकारको आर्थिक सहयोगमा गुराँस पार्क, हरियाली पार्क, रावणपार्क, पिक्नीक स्पोट, साइकल लेन बनाउने जस्ता योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन् ।

कार्यक्रमअनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा गह्रा निर्माण गरी बगैंचा बनाउने, बोटविरुवा रोप्ने, वृक्षारोपण गर्ने, शोभनीय खालका नयाँनयाँ प्रजातिका विरुवाहरु लगाउने, बस्न मिल्ने ठाउँ बनाउने र पर्यटक आगमन बढाउन हरियाली पार्कमा रुपान्तरण गर्ने योजना अगाडि सारिएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया