खोलाको बाटो मिचिंदा बाढीको त्रास

 भदौ ३, २०७५ आइतबार १०:२९:४० | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – असार २७ र २८ गतेको बाढीले भक्तपुरका दर्जनौं घर डुबानमा परे करोडौं रुपैयाँको नोक्सानी भयो । यस्तै गएको मंगलबार राति परेको पानीका कारण धोबीखोलामा आएको बाढीले काठमाडाैंको अनामनगरका धेरै घरभित्र पस्यो । मान्छेको निन्द्रा मात्र चौपट पारेन, कतिलाई घरबाहिर नै सुतायो पनि ।

अनामनगरका जितबहादुर मगर बिहीबारसम्म पनि घरभित्र पसेको बाढीको पानी बाल्टिनमा बोकेर घर बाहिर फाल्दै हुनुहुन्थ्यो । उहाँका छोराबुहारी भने राहत पाइने आशामा वडा कार्यालयमा जानुभएको थियो । 

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बाढी पस्ने गरेको घटना नयाँ होइन । उपत्यकाभित्रको सहरी व्यवस्थापनका लागि स्थापित उपत्यका विकास प्राधिकरणले खोलाको बाटो मिचिंदा बाढीले बढी क्षति पुर्याएको बताएको छ । 

खोलाको क्षेत्र भनेर २०÷२० मिटर दायाँ बायाँ घर बनाउन नहुने भनेर सरकारले नियम लगाएको भएपनि जग्गा मिचेर घर बनाएका कारण खोलाको बहाव क्षेत्र साँघुरिएको प्राधिकरणका प्रवक्ता केशवराज न्यौपानेले बताउनुभयो । त्यही कारण वर्षायाममा खोलामा पानीको मात्रा बढ्दा साँघुरिएका खोलाको बहाव क्षेत्रफलभन्दा बढी हुने र बस्तीमा पस्ने गरेको उहाँको भनाई छ ।

उपत्यकामा बाढीले बस्ती डुबानमा पर्ने समस्या नियन्त्रण गर्न खोलाको दायाँ बायाँ बाटो बनाएर करिडोर विस्तार गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । उपत्यकामा बग्ने प्रमुख नदी बाग्मती र यसका सहायक नदीहरुमा करिडोर निर्माण गर्ने काम तीव्र रुपमा भइरहेको प्राधिकरणको दाबी छ । भक्तपुरमा हनुमन्ते खोलामा पनि डोजर लगाएर खोला फराकिलो पार्ने काम भइरहेको र चाँडै करिडोर निर्माण गरिने मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । 

अहिले उपत्यकामा बाढी प्रकोप नियन्त्रणमा विपद जोखिम भू उपयोग योजना, बाग्मती सभ्यता एकीकृत विकास समिति साथै केही सरकारी तथा गैरसरकारी संस्थाले काम गरिरहेका छन् । तर पनि सरकारले सडकको व्यवस्थापन र ढल निकासको उचित प्रबन्ध नगरेसम्म खोला नियन्त्रण गर्न कठिन हुने उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विपदको बेलामा सुरक्षाको लािग सरकारले तत्काल एक्सन देखाउनुपर्ने र सम्भावित विपदलाई रोक्न खोलामा तटबन्धन तथा करिडोर विस्तार गरिनुपर्ने आवश्यकता छ । अहिले काठमाडौंका बाग्मती, विष्णुमती, कर्मनाशा लगायत नदीमा करिडोर निर्माणको काम भइरहेको र करिडोर निर्माण पछि बाढीको जोखिम घट्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया