कानुनमा भएका स–साना छिद्रभित्र पसेर ठूला–ठूला अत्याचार हुने गरेको छ : सभामुख

 फागुन १७, २०७७ सोमबार २०:५७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - सभामुख अग्निप्रसाद सापकोटाले सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भूमिका खेल्ने बताउनुभएको छ । सोमवार काठमाण्डौमा आयोजित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख सापकोटाले सुशासनको क्षेत्रमा महत्त्वपूर्ण विधि, विधान, नीति निर्माण र कानुन भएको भन्दै सुशासन कायम गर्नका लागि कानुनको शुद्धता, पवित्रता र काननुको गुणस्तरले सबैभन्दा बढी भूमिका खेल्ने बताउनुभएको हो ।

कानुनमा भएका स–साना छिद्रभित्र पसेर ठूला ठूला अत्याचार हुने गरेको भन्दै उहाँले कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘म कानुनको विद्यार्थी त होइन । अहिले मलाई कानुनको सुक्ष्म अध्ययन गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । मलाई के लाग्यो त भन्दा कानुन निर्माणदेखि लिएर कानुनमा हुने छिद्रहरु र कानुनको शुद्धता, पवित्रता, कानुनको गुणस्तरले चाहिँ सुशासन कायम गर्नका लागि सबैभन्दा बढी भूमिका खेल्छन् । तपाईँ हामीलाई थाहा छ, त्यहाँ छिद्रभित्र पसेर धेरै ठूला कुरा हुँदा रहेछन् । एउटा कमा हुँदा र नुहुँदा, ‘र’ र ‘वा’ को बीचमा कति ठूला कुरा भइराखेको हुँदा रहेछन् । त्यसरी कति ठूला अत्याचारहरु भइराखेका छन् ।’

सभामुख सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको र नयाँ मूल्य, मान्यताहरुलाई आत्मसात् गर्न खोजेको बताउनुभयो । संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै उहाँले संविधानलाई अझै पनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको छ र नयाँ मूल्य, मान्यतालाई पनि आत्मसात् गर्न खोजेको छ । हाम्रो संविधान साँच्चिकै दुनियाँको मौलिक छ र यसले मौलिक अभ्यास गर्न खोजेको छ हाम्रो संविधानले । यो परम्परागत संसदीय व्यवस्था पनि होइन र यो हाम्रै मौलिकतामा, मौलिक जगमा खडा भएको छ । नेपालीपन छ यसमा । नेपाली मौलिकता छ र त्यो संविधानमा फेरि पनि हामीले विकास गर्नुछ । परिमार्जन गर्नुछ । संशोधन गर्नुछ । त्यो संशोधन, परिमार्जन र विकास गर्नका लागि यसको सफल कार्यान्वयन गर्नुछ ।’

सभामुख सापकोटाले संसद् पुनर्स्थापनाको निम्ति नेपाली पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेकाले नेपाली पत्रकारिताप्रति आफ्नो छाती गर्वले फुलेको र श्रद्धाले शिर झुकेको समेत बताउनुभयो । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट पत्रकारद्य सुशील पन्त र टपेन्द्र कार्कीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी इञ्जाले पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई विशेष सम्मान गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया