ताप्लेजुङ : चरन अभाव, वन्यजन्तुकाे आक्रमणका कारण चाैरीपालन छाड्दै हिमाली क्षेत्रका बासिन्दा

 फागुन २५, २०७७ मंगलबार १८:३०:४४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली क्षेत्रका बासिन्दाको पुर्ख्यौली पेसाका रूपमा रहेको चौरीपालन हराउँदै गएको छ । चरन क्षेत्रको अभावसँगै वन्यजन्तुको आक्रमणका कारण पनि चौरीपालन पेसा हराउँदै गएको हो ।

हिमाली गाउँका बासिन्दा अहिले पुर्ख्याैली पेसा चौरीपालन छाडेर वैकल्पिक पेसा अँगाल्न थालेका छन् । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा पुस्तान्तरण हुने अर्थात् अभिभावकले आफ्ना सन्ततिलाई पैतृक सम्पत्तिकै रूपमा भाग लगाएर चौरी दिने गरिएकोमा अहिले यो पेसा हराउँदै गएको फक्ताङलुङ गाउँपालिका ६ लेलेप घुन्साका डण्डु शेर्पाले बताउनुभयो । चरन क्षेत्र अभाव र जङ्गली जनावरको आक्रमणकै कारण गोठ राख्न छाडेपछि चौरीपालन हराउँदै गएको शेर्पाको भनाई छ ।

शेर्पाका अनुसार उहाँले पैतृक सम्पत्तिको रूपमा सुरुमा २० चाैरी पाउनुभएको थियो । त्याे सङ्ख्यामा चाैरी थपेर ४५ वटासम्म पुर्‍याएर पाल्दै आएकोमा अहिले चराउने ठाउँकाे अभाव र जङ्गली जनावरले मार्न थालेपछि पेसा छाडेको शेर्पाले बताउनुभयो ।  

उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्र स्थापना भएदेखि नै वन/जङ्गलको संरक्षण हुन थालेको र वनमा जङ्गली जनावर बढ्न थालेपछि पशुपालनमा समस्या आउँदै गएको हो ।

वन/जङ्गलको संरक्षणका कारण जथाभाबी गोठ राख्न वा चरन क्षेत्रको रूपमा प्रयोग नगर्न नपाइने भएकाले चौरीपालन छोड्नुपर्ने बाध्यता आएकाे हिमाली क्षेत्रका बासिन्दाको भनाइ छ ।

वन्यजन्तुको सिकार गर्न नपाउने भएपछि वन्यजन्तुको सङ्ख्या बढेको र वन्यजन्तुले घरपालुवा पशुचौपायामाथि आक्रमण गरेर क्षति पुर्‍याउन थालेकाले चौरी गोठ बेच्न बाध्य हुनुपरेको पेमा शेर्पाकाे गुनासाे छ । चौरी पालन छाडेर अहिले गेस्ट हाउस सञ्चालन गर्दै आएको उहाँले जानकारी बताउनुभयाे । 

यस्तै घुन्साकै टाँसीतेन्जी शेर्पाले पनि पुर्ख्याैली पेसा छाडेर होटल तथा गेस्ट हाउस व्यवसाय सञ्चालन गर्न थाल्नुभएको छ ।

फलेका लाक्पा भोटियाले केही वर्ष अगाडिसम्म ५० चौरी गोठमा पाल्नुभएको थियो । संरक्षण क्षेत्रमा हिउँ चितुवा, ब्वाँसो, भालु, चितुवाजस्ता वन्यजन्तु फैलिँदै गएर चौरी मार्न थालेपछि गोठ बेच्न बाध्य भएको भोटियाले बताउनुभयो । उहाँले केही फम्जो (भारी बोक्ने चाैरी) मात्र राखेर बाँकी सबै तिब्बतका व्यवसायीलाई बिक्री गरेको जानकारी दिनुभयो ।

यसरी नै कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिकाको ओलाङ्चुङगोला, याङ्मा, लेलेपको घुन्सा, फले, ग्याब्लालगायत हिमाली गाउँका धेरैजसाे बासिन्दाले चाैरी पालन छाड्दै गएका छन् ।
केही परिवारले भने सीमित सङ्ख्यामा चौरी पालन गरिरहेकाे बताएका छन् ।

कञ्चनजङ्घा संरक्षण व्यवस्थापन परिषद्ले आफ्नाे क्षेत्रभित्र जङ्गली जनावरले चौरी मारेमा क्षतिपूर्तिबापत एउटाकाे आठ हजार रुपैयाँ दिने गरेको जनाएकाे छ । स्थानीयले भने हजाराैँ हाराहारी पर्ने चाैरीकाे क्षतिपूर्ति भनेर दिइने आठ हजार रुपैयाँकाे अर्थ नहुने बताउँछन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया