‘हाम्रा छोरीहरुले अब पढ्न पाउँछन्’

 चैत ५, २०७७ बिहिबार ११:५४:१९ | इन्द्रसरा खड्का

बाँकेको डुडुवा गाउँपालिका-४ अम्रुवाकी मीना श्रेष्ठले २०७६ को वैशाखमा छोरी जन्माउनुभयो  । बिहे गरेको २३ वर्षपछि सन्तान जन्माउँदा उहाँको परिवारमा खुसीयाली छायो । १७ वर्षमा बिहे गरेकी मीनाले ४० वर्षको उमेरमा सन्तान जन्माउँदा उहाँका श्रीमान मानबहादुर पनि खुसी हुनुहुन्छ ।

बिहे गरेको वर्ष दिनमा पनि उहाँ गर्भवती हुनुभएको थियो । तर बच्चा पाठेघर बाहिर बसेकाले अप्रेशन गरेर फाल्नु पर्यो । अप्रेशनपछि डाक्टरले ५, ६ वर्षसम्म बच्चा नजन्माउन सल्लाह दिए । तर, २० वर्षभन्दा बढी भइसक्दा पनि बच्चा बसेन । मीना र उहाँका श्रीमान मानबहादुर चिन्तित हुनुभयो । 

लामो समयको उपचारपछि ४० वर्षको उमेरमा मीनाले २०७६ वैशाखमा छोरी जन्माउनुभयो । छोरी जन्मेको तीन महिनापछि मीनाको घरमा पालिकाका कर्मचारी पुगे । उनीहरुले बालविवाह रोक्न र छोरीलाई विद्यालयको पहुँचमा पुर्याउन पालिकाले सुरु गरेको ‘कन्या मुद्दती शिक्षा’ कार्यक्रमबारे जानकारी गराए । यो कुरा सुन्दा मीना र उहाँका श्रीमान खुसी हुनुभयो । 

भोलि छोरीकै भविष्यको लागि राम्रो कामको सुरुवात भन्दै मीना र मानबहादुरले आफ्नो विवाहदर्ता, छोरीको जन्मदर्ता र छोरी स्वास्थ्य संस्थामा जन्मेको प्रमाणपत्रसहित पाँच हजार रुपैयाँ दिनुभयो । पालिकाले अर्को पाँच हजार थपेर माछापुच्छ्रे बैंकमा मीनाकी छोरी जेनिशाको नाममा १० हजारको ‘कन्या मुद्दती खाता’ खोलिदियो । छोरी जन्मनेबित्तिकै उनकै नाममा कन्या मुद्दती खाता खोल्न पाउँदा मीना र मानबहादुर खुसी हुनुहुन्छ ।

‘२० वर्षपछि ब्याजसहित ६०/७० हजार रुपैयाँ पुग्छ रे । भोलि आफूसँग केही नभए पनि छोरीलाई पढाइलेखाइ गर्न त सजिलो हुन्छ नि !’ उज्यालोसँगको कुराकानीमा मीनाले खुशी साट्नुभयो । उहाँ भन्नुहुन्छ, ‘मैले स्कुल पढ्न पाइनँ । सानैमा बिहे गरेर दुःख पाएँ । मेरो जस्तो दुःख मेरो छोरीले भोग्न नपरोस् । पालिकाले थालेको यो कदम राम्रो छ ।’ 

डुडुवा गाउँपालिका ४ कम्दीकी जनक गुप्ताले पनि छोरी विधिको नाममा कन्या मुद्दती खाता खोल्नुभएको छ । पालिकाले छोरीको लागि कन्या मुद्दती शिक्षाबारे कार्यविधि बनाएको थाहा पाएपछि सामुदायिक छलफल केन्द्रका सहजकर्ताको सहयोगमा जनकले छोरीको मुद्दती खाता खोल्नुभयो ।

जनकले दिएको पाँच हजारमा पालिकाले अर्को ५ हजार रुपैयाँ थपेर गएको मंसिरमा कन्या मुद्दती खाता खोलिदिएको छ । गाउँपालिकाले छोरीका लागि राम्रो कार्यक्रम ल्याएको भन्दै डुडुवा गाउँपालिकाका बासिन्दा खुसी भएका छन् । छोरीलाई सजिलैसँग पढाउन पाइने भएपछि उनीहरु खुशी भएका हुन् । 

अब पालिकाबाटै १० हजार रुपैयाँ

डुडुवा गाउँपालिकाले २०७६ साल साउनदेखि ‘कन्या मुद्दती शिक्षा कोष’ स्थापना गरेको हो । साउनदेखि अहिलेसम्म पालिकाभित्रका सबै वडाका एक सय २७ जना छोरीको २० वर्षकाे ‘कन्या मुद्दती खाता’  खोलिएको पालिकाले जनाएको छ । 

मुद्दती खाताको लागि पालिकाले केही सर्त राखेको छ । बालिका अस्पतालमा जन्मिएको, जन्मदर्ता बनाएको, आमाबुबाको बिहे दर्ता भएको र वडाको सिफारिस हुनुपर्ने सर्त छन् ।  यस्तै छोरी ५ वर्ष पुगेपछि विद्यालयमा भर्ना गराउनुपर्ने नियम छ ।

२०७६ सालमा अभिभावकको ५ हजार र पालिकाको ५ हजार रुपैयाँ गरी १० हजार रुपैयाँको मुद्दती खाता खोलिएको थियो । अहिले भने पालिकाले नै १० हजार रुपैयाँ दिने गरेको पालिकाका उपाध्यक्ष शाहिदा बानाेले बताउनुभयो ।

अहिलेसम्म कन्या मुद्दती खाता खोलिएका एकसय २७ मध्ये पालिकाले ५६ जनालाई १० हजार र ७४ जना छोरीलाई ५ हजार रुपैयाँको दरले रकम उपलब्ध गराएको छ ।  सुरुमा पाँचहजार रुपैयाँ अभिभावकबाट माग्दा कतिपयले मन नलगाएको र कतिपयसँग नभएकाले सबै रकम पालिकाले नै दिने गरेको उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो ।

शिक्षामा पहुँच  पुर्याउन कन्या मुद्दती खाता

यो अभियानबाट बालिकालाई विद्यालय शिक्षामा ल्याउन सहज हुने डुडुवा गाउँपालिकाकोे विश्वास छ । अहिले पनि बाँकेमा थुप्रै बालिका विद्यालयको पहुँच बाहिर रहेकाले यो कार्यक्रमले उनीहरुलाई विद्यालय पुर्याउन सहयोग पुग्ने डुडुवा गाउँपालिकाका महिला शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘अभिभावकलाई बुझाउन सकियो भने छोरीलाई विद्यालय पुर्याउन र बाल विवाह रोक्न सकिन्छ ।’ पालिकाभित्र हुने बालविवाह रोक्न र छोरीलाई शिक्षा प्रदान गर्ने उदेश्यले नै पालिकाले यो योजना बनाएको उपाध्यक्ष शाहिदा बानाेले बताउनुभयो ।

छोरीको नाममा राखिएको पैसा २० वर्षपछि छोरीकै नाममा लगानी गर्नुपर्ने छ । छोरीले २० वर्ष भइसकेपछि पढाइ वा आयआर्जन, सीपमूलक वा आफ्नो बिहेको लागि त्यो पैसा खर्च गर्न पाउने छन् । कन्या मुद्दती खाता खोलेका छोरी उमेर नपुग्दै बिहे भएमा वा पढाइ छोडेमा भने पैसा नदिने पालिकाले जनाएको छ । छोरीको शिक्षामा पहुँच र बालविवाह रोक्न पालिकाले यो कदम चालेकाले नियम विपरीत विद्यालय नपठाए वा सानै उमेरमा बिहे गरे गराए सेवा नदिने पालिकाका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो ।

डुडुवा गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘कन्या मुद्दती शिक्षा’ कार्यक्रम छोरीका लागि राम्रो भएको डुडुवा गाउँपालिकाकी स्थानीय जानकी यादव बताउनुहुन्छ । अहिले पनि छोरीलाई विद्यालय पढाउनुपर्छ भन्ने सोच अभिभावकमा नआएकाले यो कार्यक्रमले फाइदा पुग्ने उहाँको विश्वास छ । उहाँ भन्नुहुन्छ, ‘मधेसी र मुस्लिम समुदायमा छोरी पढाउन हुन्न भन्ने मान्यता र पहाडी समुदायमा छोरी सानै उमेरमा भाग्ने प्रवृत्ति छ । पालिकाले ल्याएको यो कार्यक्रमले यस्ता प्रवृत्तिमा परिवर्तन ल्याउँछ ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया