दुर्गाप्रसादको उपचार प्रदेश १ सरकारले गर्ने, क्षतिपूर्ति दिलाउन पनि पहल गर्ने

 चैत १०, २०७७ मंगलबार २०:२४:३९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दीपक) को उपचार प्रदेश नम्बर १ ले गर्ने भएको छ । भारतको ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा जेल जीवन बिताएर ४० वर्षपछि घर आइपुग्नु भएका तिम्सिनाको उपचार हुने भएको हो । 

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार, प्रदेशको सामाजिक विकास मन्त्रालयले उहाँको उपचार गर्ने भएको छ । मन्त्री कार्कीले तिम्सिनाको घरमा टोली पठाएर विवरण लिन निर्देशन गरिसक्नुभएको बताइएको छ । मङ्गलवार प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्कालाई टेलिफोन सम्पर्कमा तिम्सिनाको उपचारको आवश्यक व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभएको बताइएको छ ।

तिम्सिनाको अवस्था अहिले के छ ?, उहाँलाई कहाँ लगेर कस्तो उपचार गर्ने ? लगायतका पक्षमा निर्देशन दिनुभएको अधिकारी खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तिम्सिनालाई जस्तो उपचार आवश्यक पर्छ, त्यही उपचार प्रदेश सरकारले गर्ने मन्त्रीज्यूको भनाइ छ । तिम्सिनालाई क्षतिपूर्ति दिलाउन प्रदेश सरकारले पहल गर्नेछ ।’ यसमा जिल्ला प्रशासनले समेत आवश्यक सहयोग गर्न तत्पर रहेको अधिकारी खड्काले बताउनुभयो । कोलकाताको उच्च अदालतले दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन सरकारका नाममा आदेश दिइसकेको छ । 

दुर्गाप्रसाद मानसिक रूपमा बिरामी हुनुहुन्छ, थोरै मात्र बोल्नुहुन्छ । ओठ, हात, खुट्टा स्पष्ट रुपमा थरर्र कामेको देखिन्छ । जेलमा औषधि उपचार पाइरहनुभएका उहाँले घर आएपछि औषधि खान पाउनुभएको छैन ।  जेलले औषधि पठाइदिएको छैन । 

उहाँले खाने औषधि नै थाहा नभएकाले पनि समस्या छ भन्नुहुन्छ, भतिजा गोपाल तिम्सिना । परिवारमा धेरै जना मानसिक बिरामी रहेका र आर्थिक अवस्था पनि दयनीय भएकाले पनि दुर्गाप्रसादको पुनस्र्थापनामा जटिल देखिन्छ । परिवार नै आर्थिक समस्यामा रहेकाले उपचार सहयोग मिल्दा परिवारमा राहत मिलेको भतिजा गोपाल तिम्सिनाले बताउनुभयो ।  

उहाँलाई कोलकाता उच्च अदालतले जेलबाट गएको बुधवार रिहाको आदेश दिएको थियो । आदेशअनुसार उहाँ शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुट्नुभएको हो । व्यक्ति हत्या अभियोगमा सुनुवाइ विनै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार आफ्नो घर आइपुग्नुभएको थियो  । 

अहिलेसम्म नागरिकता नै छैन 

२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मङ्गलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता हुनुभएका तिम्सिना कहाँ हुनुहुन्छ भन्ने कसैलाई थाहा पत्तो थिएन । यही कारण २०१७ साल साउनमा जन्मिनुभएका उहाँको अहिलेसम्म नागरिकता नै बनेको छैन । 

यसका लागि जिल्ला प्रशासनले आवश्यक सहयोग गर्ने अधिकारी खड्काले बताउनुभयो । उहाँ २० वर्षको हुँदा घरबाट हिँड्नुभएको आमा धनमाया तिम्सिनाले जानकारी दिनुभयो । ८५ वर्षकी आमा धनमायाले भन्नुभयो, ‘दुर्गाप्रसादको धार्मिक परम्पराअनुसार व्रतबन्ध र विवाह समेत भएको छैन ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया