‘अहिले नै लकडाउन गर्ने, सीमा नाका बन्द गर्ने सरकारकाे साेच छैन’

 चैत १२, २०७७ बिहिबार १६:३७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने मन्त्री पाैडेलले बताउनुभएको हो । 

बिहीवार हामीसँगकाे कुराकानीमा अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमा नाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामी आशङ्काबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ भन्ने सरकारकाे साेच हाे । अर्कोतर्फ आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित र सुरु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुरु पनि गर्छाैँ, नियमित पनि गर्छौँ र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ । अहिले सरकारले सीमा नाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताउनुभयो । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको उहाँले बताउनुभयो । कोभिडपछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी बजेटको तयारीमा जुटेका छौँ । सिद्धान्त र प्राथमिकताको तयारी झण्डै अन्तिम चरणमा आइपुगेको छ । सँगसँगै हामी बजेटको तयारीमा पनि जुटिनैरहेका छौँ । समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौँला । मुख्य हामी कोभिडपछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जनाजस्ता विषयमा बढ्ता केन्द्रित हुन्छौँ । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउन गर्नुपर्ने निर्णयहरू लिने गरी बजेट लिएर आउँछौँ ।’

राष्ट्रिय प्राथमिकताका विषयलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘अहिले हामी दुई कुरामा केन्द्रित हुन चाहिरहेका छौँ । बजेटले राष्ट्रिय प्राथमिकतालाई ठिक ढङ्गले चिनेर आउँछ । राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरू ठिक ढङ्गले निश्चित गरेर आउँछ । दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ । दुई कुरामा हामी बढी ध्यान दिन्छौँ । आजको हाम्रो प्राथमिकता के हो ? त्यो कुरामा हामी बढी होसियार हुन्छौँ । बजेट सार्वजनिक गरेर मात्रै हुँदैन त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्त्वपूर्ण विषय हो । त्यस कारणले कार्यान्वयनको सुनिश्चितता कसरी हुन्छ ? यी दुई वटा कुरामा हामी केन्द्रित हुन्छौँ ।’

कोरोना खाेप खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थ मन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ ।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया