नेपाल फेरि लकडाउनकाे अवस्थामा जाओस् भन्ने चाहँदैनाैँ : मन्त्री त्रिपाठी

 चैत २४, २०७७ मंगलबार १३:२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ । 

मङ्गलवार काठमाण्डाैमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताउनुभएको हो । उहाँले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको बताउनुभयो । लकडाउनले कोभिड सङ्क्रमण कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी यो चाहँदैनौँ कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्त्वपूर्ण र प्रभावकारी कदमहरू छन्, सरकार ती सबै कदमहरू चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले कम हुने त एकातिर छँदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव, अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दीर्घकालीन रूपले हुनेरहेछ तसर्थ संसारले नै जसरी यो लडाइँ लडिरहेको छ, हामी पनि एउटा यो लडाइँमा योद्धा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाइँ गर्न तयार छ ।’

छिमेकी देशमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण सुरु गरेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो । यस्तै सीमा नाकामा आइसोलेशन र क्वरेण्टीन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतङ्कित नहुन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसका लागि सतर्क छौँ । तर एउटा कुरा म यहाँहरूलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतङ्कित हुनुपर्ने अवस्था छैन । आतङ्कित हुनु भनेको यो सङ्क्रमणलाई झन थप्नु हो । सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरू अबलम्बन गर्नुपर्छ तर आतङ्कित गरेर नागरिकमा भय र त्रास गर्ने काम गर्नु हुँदैन ।’

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि तीन किसिमका खोपलाई मान्यता दिइ प्रचलनमा ल्याएको बताउनुभयो । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधवारदेखि सुरु हुने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया