बेनीदेखि राउण्ड धौलागिरी बेसक्याम्प जाने बन्यो ‘भर्जिन’ मार्ग

 भदौ ६, २०७५ बुधबार ८:५१:२१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – राउण्ड धौलागिरी बेसक्याम्प पुग्नका लागि पदमार्ग निर्माण भएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमालको आधारशिविर पुग्न पदमार्ग निर्माण गरिएको हो ।

बेनीको हुलाकचोकदेखि अर्थुङ्गे–गुफा–पौलस्त्य–पुलहाश्रम–जगन्नाथ–टोड्के–मालिका–धुरी–विम भएर मुदी हुँदै धौलागिरी बेसक्याम्प पुग्ने पदमार्ग बनाइएको धौलागिरी पर्यटन परिषद म्याग्दीले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ बाट पदमार्ग निर्माण कार्य सुरु गरिएकोमा अहिलेसम्म एक हजार आठसय ८२ मिटर लामो पदमार्ग निर्माण गरिएको छ । मंगला गाउँपालिका–१, कुहुँस्थित रहेको पर्यटकीयस्थल टोड्केबाट झण्डै एकहजार मिटरको पदमार्ग निर्माण गरिएको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा पर्यटन विभागबाट टोड्केमा ३४ लाख रुपैयाँको बजेटले पदमार्ग र गोलघर (प्रतिक्षालय) निर्माण गरिएको छ । यसैगरी गएको वर्ष पर्यटन विभागबाटै परेको ३० लाखको लागतमा बेनीबाट ७ सय ६४ मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै बेनी नगरपालिकाको चारलाख रुपैयाँको बजेटमा एक सय १८ मिटरको पदमार्ग निर्माण भएको छ । बेनीको हुलाकचोकबाट पदमार्ग बनाउन सुरु गरिएकोमा अहिलेसम्म बेनीतर्फ एकहजार ३ सय ३८ ओटा सिँढी बनाइएको उपभोक्ता समितिका अध्यक्ष बानियाँले बताउनुभयो ।

पछिल्लो समय पदमार्गको अभावमा जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आउन थालेपछि पर्यटकहरुलाई नै लक्षित गरेर पदमार्ग निर्माणको कार्यमा जोड दिइएको छ । बेनीबाट सुरु भएर धौलागिरी बेसक्याम्प पुगेर टुङ्गिने यस पदमार्गलाई ‘भर्जिन’ पदमार्गको संज्ञा समेत दिइएको छ ।

गएको केही वर्षयता गाउँ–गाउँसम्म डोजरको प्रयोगमा तीव्र सडक विस्तारको कार्यले पदमार्ग र चौतारा लोप हुँदै गैरहेको अवस्थामा नयाँ पदमार्गले जिल्लामा पर्यटन आगमन बढ्ने अपेक्षा गरिएको छ ।

निर्माणाधीन रुपमा रहेको पदमार्गले पर्यटकसँगै सदरमुकाम बेनी आउने सर्वसाधारण तथा मर्निङ र इभिनिङ वाक गर्नेलाई सहज भएको छ । यस पदमार्गलाई कहीँ कतै पनि सडकले अवरोध गर्दैन । नयाँ पदमार्गले म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार हुनुका साथै धार्मिक पर्यटन बढ्ने सम्भावना रहेको छ ।

बेनीबजारदेखि धौलागिरी बेसक्याम्प पुग्न पर्यटकलाई लक्षित गरी पदमार्ग निर्माणको कामलाई अगाडि सारिएको हो । पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव सुन्दरमान शेरचनले पदमार्ग निर्माणका क्रममा यसअघि कामदारको अभाव, वर्षाको समय पर्नु जस्ता समस्याहरु आइपरे पनि प्राप्त बजेटको काम समयमै सकिएको बताउनुभयो ।

बेनीदेखि अर्थुङ्गे आँपरुख मुनिसम्म पदमार्ग पु¥याइएको छ भने टोड्केबाट डडुवातर्फ र प्रसिद्ध मालिका मन्दिरतिर पदमार्ग बनाइएको छ ।

धौलागिरी पर्यटन परिषद म्याग्दीका अध्यक्ष समेत रहनुभएका बानियाँले जिल्लामा पर्यटनको उपस्थिति बढाउन पदमार्ग निर्माण र पर्यटनमैत्री वातावरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

चालु वर्ष २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाउन थालिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया