कर्णाली प्रदेश : विश्वासको मतमा मतदान गर्न माओवादी केन्द्रको अपिल

 बैशाख २, २०७८ बिहिबार २०:७:३९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्र संसदीय दलको कार्यालयले प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न अपिल गरेको छ । प्रमुख सचेतक सीताकुमारी नेपालीले हस्ताक्षर गरेको सार्वजनिक अपिलमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न आग्रह गरिएको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ । दिउँसाे २ बजे बस्ने  प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची राखिएको हो ।  एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनादेखि कर्णाली प्रदेश सरकार अल्पमतमा छ । एमालेले गएको चैत ५ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

समग्र राजनीतिक परिवर्तन र यसबाट नागरिकले गरेको अपेक्षाअनुसारको विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन विश्वासको मत लिने निर्णयमा पुगेको भन्दै माओवादी केन्द्रले मतदान गर्न आग्रह गरेको छ । ‘समग्र राजनीतिक परिवर्तन र यसबाट नागरिकले गरेको अपेक्षाअनुसारको विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन विश्वासको मत लिने निर्णयमा हाम्रो दल पुगेको छ’, सार्वजनिक अपिलमा भनिएको छ, ‘विश्वासको मतमा मतदान गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सम्बद्ध माननीय सदस्यज्यूहरूलाई हार्दिक अपिल गर्दछु ।’

सार्वजनिक प्रतिबद्धता विपरीत केही व्यक्तिको सत्ता स्वार्थले सरकारको साझेदार दल एमालेले समर्थन फिर्ता लिएको र यो कदमले राजनीतिक अस्थिरता निम्तिनुका साथै कर्णालीको समग्र विकास र समृद्धिको जनअपेक्षामा कुठराघात हुने निश्चित भएको माओवादी केन्द्रले बताएको छ ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • भरत बेघा

    April 15, 2021, 9:36 p.m.

    मेरो विचारमा कर्णाली प्रदेश जस्तो पिछडिएको क्षेत्रलाई राजनैतिक अस्थिरताको दलदलमा फसाउनु भनेको अत्यन्त दु:खद कुरा हो । र यो कुरा त्यहाँका माननीयहरुलाइ राम्रोसँग थाहा हुनुपर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया