ताप्लेजुङ : गाेडेर ठिक्क पारेकाे आलु असिना पानीले नष्ट

 बैशाख ३, २०७८ शुक्रबार २०:३७:४९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा पानीसँगै परेको असिनाले आलुलगायतका बाली नष्ट गरेकाे छ । शुक्रवार दिउँसाे परेकाे असिना पानीले आलुकाे पकेट क्षेत्र मानिएको फुङलिङ नगरपालिका ९ बुङकुलुङ क्षेत्रमा आलुलगायतका बली नष्ट भएकाे स्थानीयवासी पासाङरीता शेर्पाले बताउनुभयो । झण्डै आधा घण्टा जति परेकाे असिना पानीले गाेडेर ठिक्क पारेर अब फल्छ कि भन्ने भएकाे आलुलाई 
नष्ट गरेकाे उहाँले बताउनुभयो । 

 

शेर्पाले आउँदाे वर्षका लागि बिउसमेत नहुने बताउनुभयो । उहाँले भन्नुभयो, तरकारी बेचेर गुजारा गर्ने बुङकुलुङ गाउँलाई अनिकाल हुने डर छ । फुङलिङ बजारमा लगेर बेच्ने आलु, बन्दाकोपी, फूलकोपीलगायतका तरकारी पूर्णरूपमा असिनाले नष्ट गरेपछि गाउँ नै चिन्तामा छ । 

असिना पानीले पाकेर काट्ने बेला भएको गहुँ, जौ झारेकाे समेत उहाँले जानकारी दिनुभयो । बुङकुलुङ क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु बल्कको रूपमा लिएर आलुकाे बिउसमेत उत्पादन गरिँदै आएको थियो । त्यस क्षेत्रमा रहेको झण्डै सय परिवारको आलुलगायतका बाली नष्ट भएकाे किसान पासाङरीता शेर्पाले बताउनुभयो । 

असिना पानीले फुङलिङ नगरपालिका १० फुरुम्बुमा पनि क्षति गरेको छ । अहिलेसम्म जिल्लाका कुन–कुन ठाउँमा असिना परेकाे र कति क्षति भएकाे भन्नेबारेमा थाहा भइसकेकाे छैन ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया