चितुवाको छाला बिक्री गर्न ग्राहक खोज्दै हिँड्ने ४ जना पक्राउ

 भदौ ६, २०७५ बुधबार १९:१५:३६ | उषा तामाङ
unn.prixa.net

दोलखा – चितुवाको छाला बिक्री गर्न ग्राहक खोज्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दोलखाले साुमदायिक वनका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको छ । 

मंगलबार साँझ ७ बजे वैत्यश्वर गाउँपालिका वडा नम्बर ४ काव्रे, मैनापोखरीस्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नजिकैबाट प्रहरीले ३४ वर्षीय प्रदीप गजमेरलाई पक्राउ गरेको हो । 

हनुमन्तेश्वर मावि नजिकै हिँडिरहेका गजमेरले बोकेको कालो र निलो रङ्गको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद भएको थियो । गजमेर पक्राउ परेपश्चात त्यही घटनामा संलग्न थप ३ जनालाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । 

सुरुमा पक्राउ परेका गजमेरको सहयोगमा जिरी नगरपालिका वडा नम्बर ९ बस्ने ३५ को वेदबहादुर सुनुवार र ४८ को नारद सुनुवारलाई पक्राउ गरिएको हो । अर्का मुख्य आरोपीलाई पक्राउ गरी सदरमुकाम ल्याइँदै गरेकाले उनको नाम थर प्रहरीले खुलाएको छैन । पक्राउ परेका नारद सुनुवार भुसुने सुँगुरे सामुदायिक वन उपभोक्ता समूहका वर्तमान अध्यक्ष हुन् । झण्डै ४ महिना अघि नै उक्त चितुवालाई पासो थापी मारिएको थियो । 

५ फिट ९ इन्च लम्बाइ  र २ फिट ६ इन्च चौडाइ भएको चितुवाको छाला र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइने प्रहरीले जनाएको छ । उनीहरुलाई वन ऐन २०४९ अनुसार कारबाही हुनेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया