‘केही समय रोजगारीका लागि विदेश जाने या स्वदेश फर्कने योजना नबनाऔँ’

 बैशाख २९, २०७८ बुधबार १७:५६:५३ | डा. सञ्जिव सापकोटा

विदेशका विभिन्न ८० भन्दा बढी देशहरूमा करिब ८० लाख नेपालीहरू रहेको गैरआवासीय नेपाली संघ एनआरएनएको अनुमान छ । एनआरएनएको स्वास्थ्य समितिलाई विभिन्न स्रोतबाट जानकारी भए अनुसार अहिलेसम्म विदेशका विभिन्न देशमा रहेका ८६ हजारभन्दा धेरै नेपाली सङ्क्रमित हुनुभएको पाएका छौँ । तर खुसीको खबर के छ भने अधिकांश नेपालीहरू निको हुनुभएको छ ।

लगभग ८३ हजार जना अहिलेसम्म निको हुनुभएको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार भएको स्वास्थ्य समितिको अनुमान छ । केही समय अघिसम्म यो सङ्ख्या निकै कम थियो । तर पछिल्लो समय भारतमा रहेका नेपालीमा कोरोना सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको छ ।

अहिलेसम्म नेपाल बाहिर रहेका ३७२ भन्दा बढी नेपाली नागरिकको कोरोनाकाे कारण ज्यान गएको छ । पछिल्लो समय भारतमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना महामारीको कारण पनि त्यहाँ रहेका थुप्रै नेपालीहरुमा सङ्क्रमण भइसकेको अवस्था छ ।

हामीले प्राप्त गरेको तथ्याङ्क अनुसार केही समय अघिसम्म १० हजार मात्र थियो भने अहिले ३० हजारभन्दा बढी नेपालीहरू भारतमा सङ्क्रमित हुनुभएको छ । भारतमा ७१ जना नेपालीको ज्यान गएको पाएका छौँ । यो एकदमै दुःख लाग्दो कुरा हो । 

केही समय अघिसम्म हाम्रो हातमा आइसकेको महामारी मुख्यतया यो दक्षिण एसियाका देशमा फेरि हाम्रो हातभन्दा बाहिर गइसकेको अवस्था छ । पहिला पश्चिमा देशहरूमा निकै अनियन्त्रित भएको कोरोना महामारी अहिले केही नियन्त्रणमा रहेको र सङ्क्रमण दर पनि कम हुँदै गएको छ ।  नेपालभन्दा बाहिर रहेका नेपालीहरूको अवस्था भिन्न देशमा भिन्न किसिमको रहेको छ ।

नेपालीको श्रम गन्तव्य देशको हालखबर

मध्यपूर्वका देशहरूमा पनि  लगभग पहिलो लहरको महामारी व्यवस्थापन भइसकेको अवस्था थियो । तर पछिल्लो समय यूएई कतारजस्ता देशमा पुनः सङ्क्रमण बढ्न थालेको छ । साउदी अरेबिया र कुवेतमा पनि बढ्न थालेको खबर हामीले पाएका छौँ ।

यी देशमा नेपालीहरू पनि निकै सङ्क्रमित भएको र पछिल्लो समय जवान नेपालीहरूले साउदी र कतारमा कोरोनाबाट ज्यान गुमाएको खबर  छ । अहिले नयाँ भेरियन्टको प्रभावशालिता र सङ्क्रमण दुवै बढेको महसुस गरेका छौँ । नयाँ भेरियन्टको जुन हिसाबको प्रभाव छ यो निकै चासोको विषय बनेको छ । 

यदि सम्भव छ भने जुन कम्पनीको भए पनि खोप लगाउनुहोस् । यो कम्पनीको त्यो कम्पनीको नभनि खोप लगाउनुभयो भने अत्ति नै उत्तम हुन्छ । कम्पनी नखोजी उपलब्ध भएको खोप लगाउन पनि स्वास्थ्य समिति आग्रह गर्दछ । तर रुघाखोकी लागिरहेको छ, ज्वरो आइरहेको छ या अन्य कुनै रोग लागिरहेको अवस्थामा चाहिँ नलगाउनुहोस् भन्ने सल्लाह दिन चाहन्छु । 

अहिले नयाँ भेरियन्ट मध्यपूर्वका देश यूएई र कतारमा पनि देखिएको छ । कतार सरकारले त्यहाँ रहेका नेपालीलाई पनि खोप उपलब्ध गराएको हामीले पाएका छौँ ।  त्यस्तै मध्यपूर्वका अन्य देशहरूमा प्राथमिकताको आधारमा खोप लगाइएको र त्यहाँ रहेका नेपालीले पनि खोप लगाउन पाएको भन्ने खबरहरू हामीले पाएका छौँ । तर पछिल्लो समय त्यति व्यापक हिसाबले नेपालीहरूले खोप नपाइसकेको अवस्था छ । 

रोग लागेपछि उपचार गर्नुभन्दा लाग्न नदिनु नै निकै उपयुक्त हुन्छ । 

जुन देशमा अर्थतन्त्र राम्रो छ उनीहरूले सिधै कम्पनीबाट किनेर लगाइरहेको अवस्था छ । तर अर्थतन्त्र राम्रो नभएका देशहरू जसले आफैँले खोप किन्न सक्दैनन् उनीहरूले प्रशस्त मात्रामा खोप उपलब्ध गराउन सकेको अवस्था छैन ।

मलेसिया लगायतका अन्य देशहरूमा पनि अहिले त्यहाँ रहेका नेपालीहरूले पूर्ण तरिकाले खोप नपाएको अवस्था छ । त्यसैले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षाका उपायहरू अपनाउनुहुन अनुरोध गर्दछौँ ।

मास्क लगाउन, नियमित साबुन पानीले हात धुन र भौतिक दुरी कायम गर्न एकदमै आवश्यक छ । किनभने खोप नै लगाइसकेको भए पनि हामीलाई कोरोना लाग्न सक्छ र लाग्ने खतरा पनि उत्तिकै छ भनेर हामीले बुझ्नुपर्छ ।

 मानिसको शरीर अनुसार र क्षमता अनुसार खोपले काम गर्ने भएकाले मैले खोप लगाएको छु, मैले मास्क नलगाउँदा हुन्छ, मैले दूरी कायम नगर्दा हुन्छ भनेर सोच्नु साह्रै नै दुर्भाग्यपूर्ण कुरा हो । सावधानी जो कोहीले पनि अपनाउन पर्छ ।

साबुनपानीले हात धुन चाहिँ छोड्न हुँदैन भन्न चाहन्छु । म आफैँ पनि जहाँ गए पनि जतिखेर गए पनि बाहिर गएर आउनसाथ पनि साबुन पानीले हात धुन्छु । किनकि यसले हामीलाई बचाउँछ । रोग लागेपछि उपचार गर्नुभन्दा लाग्न नदिनु नै निकै उपयुक्त हुन्छ । 

महामारीमा यात्रा नगर्नु बेस

अब अहिले जुन देशमा नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएको छ त्यो देशबाट यात्रा गर्दा मानिससँगै भेरियन्ट पनि आउने जोखिम भएकाले यसले जनस्वास्थ्य र ‘ग्लोबल हेल्थ सेक्युरिटी’मा पनि निकै प्रभाव पर्छ । केही समय, कम्तिमा यो अवस्था अलिक सामान्य नहुँदासम्म कुर्न र धैर्य धारण गरिदिनुहुन हामी स्वास्थ्य समितिका तर्फबाट अनुरोध गर्छौँ । हो रोजगारी महत् ।

तर अहिलेको अवस्थामा रोजगारीभन्दा ठुलो कुरा हाम्रो ज्यान र सुरक्षा हो । हाम्रो ज्यानै नभए रोजगारी हुँदैन । केही हप्ता, केही महिना हामी सतर्क बन्न आवश्यक छ । अहिले त गन्तव्य देशहरूले पनि प्रतिबन्ध लगाएको अवस्था छ । जस्तो मध्यपूर्वका केही देशसँगै अमेरिकाले पनि भारतबाट आउनेहरूलाई रोक लगाएको अवस्था छ । अवस्था अलिक सामान्य नहुँदासम्म गन्तव्य देशमा जाँदा रोजगारीबाट जुन एउटा नाफा हुन्छ त्यो भन्दा बढी अहिले घाटा त्यहाँ रहेका नागरिकहरूलाई नयाँ भेरियन्टले पुर्‍याउने अवस्था छ ।

पहिलो भेरियन्टमा जुन आक्रान्त थियो त्यो अवस्था फेरि पनि नदोहोरिएला भन्ने अवस्था छैन । नेपाल, भारत, बेलायत र साउथ अफ्रिका लगायत विभिन्न देशमा देखिइसकेको यो भेरियन्ट अरुअरु देशमा पनि सर्दै जाने देखिन्छ ।

यो अवस्था सधै रहँदैन । केही समयका लागि हो । त्यस कारण केही समय धैर्यधारणा गरिदिँदा यसले सबैलाई नै फाइदा पुर्‍याउछ । आफूलाई कोरोना भएको पनि छैन र यात्रा गर्नै पर्ने आपतकालिन अवस्था छ भने केश अनुसार नै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।  कसैले खोप पनि लिइसक्नुभएको छ, स्वस्थ हुनुहुन्छ र नगई नहुने अवस्था छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यात्रा गर्नुहोस् । 

यदि अति आवश्यक छैन भने यात्रा नगर्नुहोस् नै भन्न चाहन्छु । किनकि सबैतिरबाट पहल गरिएन भने यो भाइरस नियन्त्रणमा आउँदैन । लकडाउन हुनासाथ मानिस र मानिसको बीचमा हुने सम्पर्क कम होस् भन्ने हो । उडान बन्द हुनु भनेको पनि भाइरसको सङ्क्रमण रोकथामका लागि हो ताकि नागरिकलाई दुःख दिन होइन । त्यस कारण आपतकालिन अवस्था छैन भने अहिलेलाई यात्रा पछिलाई सार्न या रोक्न अनुरोध गछौं भने आपतकालिन अवस्था छ भने सम्बन्धित निकाय र आफू रहेको देश स्थित नेपाली दूतावासमा सम्पर्क गर्न र थप बुझ्न स्वास्थ्य समिति अनुरोध गर्दछ ।

किनकि यो अवस्था यसै हुन्छ भन्न सकिने अवस्था छैन । पहिलो भेरियन्टमा जुन आक्रान्त थियो त्यो अवस्था फेरि पनि नदोहोरिएला भन्ने अवस्था छैन । नेपाल, भारत, बेलायत र साउथ अफ्रिका लगायत विभिन्न देशमा देखिइसकेको यो भेरियन्ट अरुअरु देशमा पनि सर्दै जाने देखिन्छ ।

अधिकांश नागरिकले खोप लगाइसकेको देशमा गयो भने यो भेरियन्टको प्रभाव कम गर्नलाई निकै मद्दत पु र्‍याउछ । तर खोप लगाउनेको सङ्ख्या १० प्रतिशतभन्दा कम रहेको देशमा यो नयाँ भेरियन्टको प्रभाव भयो भने यसले झन् बढी प्रभाव पर्ने देखिन्छ ।

हाम्रो अनुरोध

स्वास्थ्य समितिले प्राथमिक रोकथाममा ध्यान दिनुहुन अनुरोध गर्दै आएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डले नै हो हामीलाई बचाउने । भन्दा सामान्य लाग्न सक्छ तर मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बारम्बार हात साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म धुने लगायतका प्राथमिक रोकथामका कुराहरू अपनाउनु अनुरोध गरिरहेका छौँ । यसले नै हामीलाई बचाउँछ ।

मानिसको स्वभाव नै यस्तो छ कि जबसम्म भयावह अवस्था आउँदैन तबसम्म हामीले हाम्रो बानीलाई परिवर्तन गर्दैनौँ । 

हामी आफैँ नै सङ्क्रमित भएनौँ भने स्वास्थ्यकर्मीसँग भेट्न पर्दैन । अस्पतालमा चाप कम हुन्छ, जो सङ्क्रमित भइसक्नुभएको छ उहाँहरूले राम्रो उपचार पाउनुहुन्छ ।

दवाई, अक्सिजन, भेन्टिलेटर र आइसियुमा चाप बढेन । म आफैँ पनि रोकथाम विज्ञ भएको हुनाले म आफैँ पनि यो भन्न चाहन्छु कि सबैभन्दा पहिला हामी आफैँ सुरक्षित हौँ ।

स्वास्थ्य समितिले हरेक हप्ता विश्वभर सङ्क्रमित भएका नेपालीको तथ्याङ्क निकाल्छौँ र सचेत हुन आग्रह गर्छौँ जुन हामीले कोरोना महामारी सुरु भएदेखि नै गर्दै आएका छौँ । तर मानिसको स्वभाव नै यस्तो छ कि जबसम्म भयावह अवस्था आउँदैन तबसम्म हामीले हाम्रो बानीलाई परिवर्तन गर्दैनौँ । 

हामीले जनचेतना फैलाउने काम रोकेका छैनौँ यो निरन्तर नै छ । नयाँ भेरियन्ट आउनुअघि टेलिहेल्थ कार्यक्रम पनि सञ्चालन ग र्‍यौं । टेलिहेल्थको लाभ लिन अनुरोध गर्छौँ । यसमा सबै हिसाबका डाक्टरहरू हुनुहुन्छ ।

मानसिक स्वास्थ्य कोरोनाको कारण महत्त्वपूर्ण बनेको छ । बेलायतमा पूर्व गोर्खा सैनिकमा अहिले मानसिक समस्या बढी देखिएको हुनाले हामीले तत्कालीन रूपमा मासिक स्वास्थ्यको तालिम लगायत सञ्चालन गरेका छौँ । योसँगै आत्महत्या रोकथाम तालिम पनि हामीले गरेका छौँ । 

(डा. सापकोटासित कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. सञ्जिव सापकोटा

डा. सापकोटा गैरआवसीय नेपाली संघ अन्तर्गतकाे स्वास्थ्य समितिका संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया