महामारीमा अस्पतालको क्यान्टिनमा 'कमाउ धन्दा' : पानी तताएको ५०, दालभातको तीन सय रुपैयाँ !

 जेठ ३, २०७८ सोमबार १४:४४:० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमकाे सल्लेमा रहेकाे जिल्ला अस्पतालभित्र सञ्चालित चमेना गृह (क्यान्टिन) मा कालोबजारी हुने गरेको बिरामीहरूले गुनासाे गरेका छन् । कोरोना महामारीका बेला स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको मौका छोपी क्यान्टिनमा गुणस्तरहीन र महँगो दरमा खाना र पानी दिने गरेको बिरामीहरूले बताएका छन् । 

कोरोना सङ्क्रमित एक बिरामीका आफन्तले बाहिरका होटेल, पसल बन्द भएको मौकामा अस्पतालभित्रको क्यान्टिनले कमाउ धन्दा चलाएको आरोप लगाउनुभयो । एक प्लेट चना र एउटा अण्डाको ९० रुपैयाँ तिर्नुपरेको बताउँदै उहाँले त्यही नास्ता बजारमा ३० रुपैयाँ बढी नपर्ने बताउनुभयाे । 

‘अस्पतालभित्र सञ्चालित क्यान्टिनमा पोसिलाे खाना तथा नास्ता, झोलिलो खानेकुरा, तातोपानीको व्यवस्था हुनुपर्ने हो’, उहाँले भन्नुभयो, ‘क्यान्टिन सञ्चालकले एक लिटर पानी तताएको समेत ५० रुपैयाँ लिँदा रहेछन् ।’ उहाँका अनुसार नाममात्रको दाल र भातको एक छाक तीन सय रुपैयाँ असुल्ने गरिएकाे छ । तर बजारमा एक सय २० रुपैयाँमा क्यान्टिनकाे भन्दा बढी स्वादिष्ट र गुणस्तरीय खाना पाइन्छ । 

युवा नेता नरेन्द्र विकले कोभिड अस्पतालको रूपमा सञ्चालन गरिएको यस अस्पताल परिसरको क्यान्टिनमा कुनै पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालन हुने नगरेको बताउनुभयो । आइसाेलेशनमा रहेका बिरामीलाई भेट्न गएर आउने आफन्त, कुरुवा निर्वाध रूपमा खाना तथा नास्ता खान आउने गरेको, सतर्कता नअपनाएको, क्यान्टिनको खाना/नास्ता गुणस्तरहीन रहेको उहाँको गुनासो छ । क्यान्टिनसँगै जोडिएको प्रतिक्षालयसमेत सङ्क्रमणको अर्को डरलाग्दो ठाउँ भएको युवा नेता विककाे भनाइ छ । 

यस विषयमा जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख विष्णुबहादुर बुढाथोकीले तत्कालै क्यान्टिनको अनुगमन गरेर व्यवस्थापन गरिने बताउनुभयो । गुनासो आउनेबित्तिकै अस्पताल प्रशासनले काम थालेको उहाँको भनाइ रहेको छ ।   

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया