परिवारकाे आराेप : काेराेनाका कारण ज्यान गुमाएकी महिलाले लगाएकाे गहना अस्पतालबाटै हरायाे !

 जेठ १३, २०७८ बिहिबार १८:४०:५८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – कोरोना सङ्क्रमितले समयमै उपचार नपाएर, गरिबीका कारण ज्यान गुमाएको घटना त सुनिएकै हो । तर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका व्यक्तिले लगाएको गरगहना र साथमा रहेको नगद अस्पतालबाटै हराएको सुन्दा अचम्म लाग्न सक्छ । हो, रुकुम पश्चिममा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएकी एक महिलाको गरगहना र साथमा रहेको नगद अस्पतालले नदिएको परिवारजनले आरोप लगाएका छन् ।  

गएको वैशाख ६ गते जिल्ला अस्पताल सल्लेमा मुसिकोट नगरपालिका वडा नम्वर ७ की एक महिलाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको थियो । वैशाख ४ गते अस्पताल भर्ना भएकी महिलाले लगाएका गरगहना र साथमा रहेको नगद अहिलेसम्म नपाएको परिवारजनले बताएका हुन् । 

‘ज्वरो आएपछि र श्वासप्रश्वासमा गाह्रो भएपछि हामीले तीन दिनअघि बुहारीलाई अस्पताल लगेका थियौँ’, मृतककी ससुरा सरवीर दमाईले उज्यालोसँग भन्नुभयो, ‘कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि उनलाई आइसोलेशनमा राखियो, हामी बाहिरै बस्यौँ । ६ गते सोमवार बिहान मृत्यु भएपछि पनि हामीले नजिक गएर देख्न पाएनौँ, त्यही दिन बेलुका नेपाली सेनाको टोलीले स्थानीय मुग्लु खोलामा दाहसंस्कार गरेको हो ।’ त्यसको केही दिनपछि अस्पतालमा गएर बुहारीले लगाएको गहना र साथमा रहेको नगदबारे कुरा गर्दा अस्पतालले लुकाएको उहाँले आरोप लगाउनुभयो ।

‘मैले अस्पतालका प्रमुखलाई कुरा राखेँ’, उहाँले भन्नुभयो, ‘उहाँले के–के सामान थियो देऊ भन्नुभयो तर त्यहाँका कर्मचारीले फोहोर फाल्ने ठाउँमा पर्‍याे होला भन्दै तर्किए ।’ कर्मचारीको त्यस्तो जवाफले आफूलाई झन् शङ्का लागेको मृतककी ससुराले बताउनुभयो ।  

बुहारीले एक तोलाको सुनको गहना लगाएको उहाँको भनाइ छ । आठ आनाको कानबाली, मङ्गलसुत्र, लस्करी गरेर एक तोला सुनका गहना, उपचार खर्च भनेर घरबाट बोकेको १० हजार रुपैयाँ र नागरिकताको प्रमाणपत्र बुहारीकै साथमा रहेको उहाँले दाबी गर्नुभयो ।

‘आइसोलेशनमा राखिएपछि मलाई भित्र जानै दिएनन्, जाने अवस्था पनि भएन’, उहाँले भन्नुभयो, ‘अस्पताल वा प्रहरीले सामान सुरक्षित राखिदिएका होलान् भन्ने लागेको थियो तर लुकाएछन् ।’ उहाँले अहिलेसम्म काेरोनाका कारण बुहारीको मृत्यु भएकोबारे अस्पतालले कुनै पनि कागज नदिएको पनि गुनासो गर्नुभयो । 

यस विषयमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख विष्णुबहादुर बुढाथोकीले मृतकका परिवारको गुनासो आएको बताउनुभयो । गुनासो आउनेबित्तिकै खोजी गर्दा अस्पतालमा सामान नदेखिएको बताउँदै निमित्त प्रमुख बुढाथोकीले भन्नुभयो, ‘बुझ्दै छौँ, प्रहरी मुचुल्का हेर्छौँ, संलग्न कर्मचारीलाई बुझेर खबर गरौँला ।’ 

मृतकका तीन छोरा छन् । उहाँका श्रीमान् तीन वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा हुनुहुन्छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया