शैक्षिक सत्रको सुरुमै विद्यार्थीको हातमा किताब पुग्ने केन्द्रको दाबी

 जेठ २७, २०७८ बिहिबार ९:४०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना र निषेधाज्ञाका कारण यो वर्षको शैक्षिक सत्र ढिला गरी असारदेखि सुरु हुँदैछ । अघिल्ला वर्षहरूमा शैक्षिक सत्र सुरु भएको पाँच/छ महिना बित्दासमेत विद्यालयमा पुस्तक नपुगेका समाचार आउने गर्थे । तर यो वर्ष पाठ्यपुस्तक विद्यार्थीसम्म समयमै पुग्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । 

कक्षा एकदेखि १० सम्मका सबै पाठ्यपुस्तक अहिले सातवटै प्रदेशको प्रादेशिक केन्द्रमा पुर्याइ सकिएको र देशभर रहेको एघार सयभन्दा धेरै बिक्रेताहरुबाट बिक्रीवितरण भइरहेको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो ‘प्रदेश-१ को विराटनगर, दुई नम्बर प्रदेशको जनकपुरमा रहेको प्रादेशिक कार्यालयमा किताब पुर्याइ सकिएको छ।’ वाग्मती प्रदेशको लागि केन्द्रबाट पनि बिक्रीवितरण हुने गरेको छ । यस्तै चितवनको भरतपुरमा रहेको कार्यालयबाट वाग्मती प्रदेशका केही जिल्ला र दुई नम्बर प्रदेशका केही जिल्लामा किताब बिक्री हुने गरेको छ । नवलपरासी,  बुटवल, नेपालगञ्ज र पोखरामा पनि केन्द्रीय कार्यालयहरु रहेका छन् । यस्तै सुर्खेत र धनगढीमा रहेका प्रादेशिक कार्यालयहरुमा पनि किताब पुगिसकेका छन् । 

केन्द्रले गर्नुपर्ने सबै काम पूरा गरिसकेकाले अरु खालका समस्या नभएमा शैक्षिक सत्रको सुरुवातमै सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने उहाँले बताउनुभयो । सातवटै प्रदेशको प्रादेशिक कार्यालयमा किताब पुगिसकेको भए पनि निषेधाज्ञाका कारणले देशको कुनाकाप्चासम्म पुग्नका लागि केही समय भने लाग्न सक्ने उहाँको भनाइ छ । 

शैक्षिक सत्र असारदेखि सुरु हुने भए पनि केही समय भर्ना अभियान चल्छ । त्यसपछि पढाइ सुरु हुँदासम्म विद्यार्थीको हातहातमा किताब पुगिसक्ने पनि आचार्यले बताउनुभयो । निषेधाज्ञाका कारण ढुवानीमा समस्या हुन नदिन सम्बन्धित पालिकालाई समन्वय गरिदिन पनि केन्द्रले आग्रह गरेको छ । 

दुई/तीन वर्षयता फाट्टफुट्ट रुपमा बाहेक किताब अभाव भएको गुनासो आएको छैन । ‘हामीले केही वर्षयता समयै पाठ्यपुस्तक छपाइ गर्ने गरेका छौँ । किताब कुनै सिजनमा छाप्ने होइन, वर्षभरि नै छाप्ने हो । अहिले पनि हामीले अर्को शैक्षिक सत्रका लागि किताब छापिरहेका छौँ ’ आचार्यले भन्नुभयो ।

यो शैक्षिक सत्रका लागि एक करोड ८४ लाख थान किताब छापिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया