म्यानपावरसहित तालिम प्रदायक संस्थालाई इजाजत नवीकरण गर्न आउन विभागको आग्रह

 असार २, २०७८ बुधबार १७:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था र सीपमूलक तालिम प्रदायक संस्थालाई नवीकरणका लागि आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै विभागले वैदेशिक रोजगार व्यवसायी र अभिमुखीकरण तालिम प्रदायक संस्थालाई असार मसान्तभित्र र तालिम प्रदायक संस्थालाई असार १५ गतेभित्र इजाजत नवीकरणका लागि आग्रह गरेको हो ।

म्यानपावर व्यवसायीलाई प्रत्येक वर्ष कम्तीमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित कागजात लिएर नवीकरणका लागि उपस्थित हुन भनिएको छ ।

नवीकरणका लागि संस्थाको निवेदनसहित अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाण समेत पेस गर्नु पर्नेछ । विभागबाट प्राप्त इजाजत पत्रको प्रतिलिपि, नगद धरौटी र बैङ्क ग्यारेन्टीको प्रतिलिपिसहित म्यानपावरहरूले उपस्थित हुन विभागले आग्रह गरेको छ ।

वैदेशिक रोजगार नियमावली २०६४ (पाँचौँ संशोधन) मा पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत स्वतः खारेज हुने व्यवस्था छ । तर, कोरोना महामारीका कारण तोकिएको सङ्ख्यामा कामदार पठाउन नसकेको म्यानपावर व्यवसायीहरूले बताउँदै आएका छन् ।

गएको वर्ष पनि कोरोना महामारीले गन्तव्य देश नै प्रभावित हुँदा  लामो समय वैदेशिक रोजगारी ठप्प भएको थियो । जसको कारण तोकिएको सङ्ख्यामा श्रमिक पठाउन नसक्दा अधिकांश म्यानपावर खारेजीको जोखिममा परेका थिए । तर महामारीको कारण देखाउँदै सरकारले तोकिएको सङ्ख्यामा श्रमिक पठाउन नसक्ने म्यानपावरलाई छुट दिएको थियो ।

बिस्तारै उठ्दै गरेको व्यवसायमा फेरि नेपालमा फैलिएको कोरोनाको दोस्रो लहरले प्रभाव पारेको छ । 

अभिमुखीकरण तालिम प्रदायक संस्थालाई पनि विभागले संस्थाको निवेदन, कम्पनी गर्दाको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको प्रमाणित विवरण, संस्थाको भौतिक वित्तीय सम्बन्धी विवरणलगायत कागजात सहित विभागको कार्यालय आउन भनिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया