माधव नेपाललाई ओली समूहका नेताहरुको आग्रह–तपाईँहरु मिल्नुस्, योभन्दा अर्को विकल्प छैन

 असार २०, २०७८ आइतबार ११:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुले मिलेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । बिहान नेपाल निवास कोटेश्वरमा पुगेर उनीहरुले मिल्नुको विकल्प नरहेकोले दुईजना भेटेर कुरा गर्न र मिलेर अघि बढ्न आग्रह गरेका हुन् । 

नेता नेपाललाई भेटेर फर्किएपछि ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले भन्नुभयो, ‘हामीले तपाईँहरु मिल्नुस्, योभन्दा अर्को विकल्प छैन भनेर भन्यौँ । दुवै जना भेटेर छलफल गरेर समस्याको समाधान गर्न आग्रह गर्यौँ ।’

वरिष्ठ नेता नेता नेपाललाई भेट्न एमालेका नेताहरु नेम्वाङसहित उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेल कोटेश्वर पुगेका थिए । जवाफमा वरिष्ठ नेता नेपालले आफ्नो समूहमा छलफल गरेर मात्रै निर्णय लिने बताउनुभयो । त्यसबाहेक उहाँले अरु कुनै प्रतिक्रिया नजनाउनुभएको नेता नेम्वाङले बताउनुभयो ।

एमालेको केन्द्रीय कमिटी बैठकले भोलि बेलुकासम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । तोकिएको समयसम्म पनि हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बताइसक्नुभएको छ । 

प्रतिनिधि सभा विघटनको कदम गल्ती भएको भनेर स्वीकार नगरेसम्म आफूहरुले शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता नगर्ने खनाल–नेपाल समूहका नेताहरुले बताउँदै आएका छन् । यसअघि हिजो दुवै पक्षका ६ जना नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो । वार्ताका क्रममा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्वशर्त बनाउने सहमति भएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया