पहिरो हटाइएपछि बेनी–पोखरा सडक खुल्यो, बेनी–जोमसोम अझै खुल्न सकेन

 असार ३०, २०७८ बुधबार २०:२०:५४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने बेनी–पोखरा सडक खण्ड मर्मतपछि फेरि सञ्चालनमा आएको छ । मङ्लवार राति वर्षासँगै पहिरो खसेर बन्द भएको बेनी–पोखरा सडक खण्ड मर्मतपछि आज दिउँसोपछि सञ्चालनमा आएको हो । 

पर्वतको कुश्मा नगरपालिका ८ चुवाको तीन ठाउँमा खसेको पहिरोको अवरोध हटाएपछि सडक सञ्चालनमा आएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । 

बन्द सडक सञ्चालनमा आएपछि बीच बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् भने सर्वसाधारणलाई पनि आवतजावतमा सहज भएको छ । 

यता हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड भने अझै बन्द छ । यो सडक खण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण ३ दानामा रहेको रुप्सेखोला र जलथलेमा खसेको ढुङ्गा, माटो र लेदोसहितको अवरोधलाई हटाएर सडक सञ्चालनमा ल्याइएको भए पनि रघुगंगा ३ राहुघाटमा सडक बन्द भएको हो । बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । 

७६ किलोमिटरको बेनी–जोमसोम सडक खण्ड अन्तर्गत बेनी–गलेश्वर खण्डको जलेश्वर, रघुगंगा १ बेगखोला, रघुगंगा ३ राहुघाट, अन्नपूर्ण २ भूरुङ तातोपानीको नैनीबगर, अन्नपूर्ण ३ दानाको रुप्सेखोला र काभ्रे भिरमा वर्षाका कारण पटक–पटक सडक बन्द हुँदै आएको छ ।

यसैबीच पश्चिम म्याग्दी भेगसहित जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड मर्मतपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया