रुकुम पश्चिममा महिलाको हत्या आरोपमा दुई जना नाबालक पक्राउ

 साउन १४, २०७८ बिहिबार १३:४२:६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम  - रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ । 

बिहीवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर त्रिवेणी गाउँपालिका-४ का १५ र ११ वर्षका दुई जना नाबालकलाई प्रहरीले सार्वजनिक गरेको हो । 

गएकाे सोमवार राति मनकलाको त्रिवेणी गाउँपालिका-३ मा मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैँसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म घर नफर्केपछि उहाँको खोजी भएको थियाे ।मनकलाको शव गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल भेटिएको थियो । 

बुधवार तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले आज दुई जनालाई हत्यामा संलग्न भएको बताएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा नाबालकद्वयले धारिलो हतियार (खुर्पा) प्रहार गरी मनकलाकाे हत्या गरेकाे खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

उनीहरुले मनकलाको हत्या गरी मकै बारीमा फालेर मृतकको नाक, कानमा भएका सुनका गरगहनासमेत लिएको डीएसपी श्रेष्ठले बताउनुभयो । १५ वर्षीय बालकको घरबाट सुनको कानबाली दुई थान, मुन्द्री दुई थान, नाकको फुली एक थान र हँसिया (खुर्पा) एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया