कहाँबाट आयाे कति खोप,  कति आउन बाँकी ?

 साउन १५, २०७८ शुक्रबार ७:१९:४७ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्यो । संसदमा विश्वासको मत पाउँदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गर्नुभयो । 

यस्तै माथिका दुई उदाहरणले खोपमा सरकारको प्राथमिकता कति रहेछ भन्ने कुरा पुष्टि हुन्छ।अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राखेर काम गरिहेकामा गएकाे असार २९ गते बनेको सरकारले पनि नागरिकलाई कोरोना भाइरसबाट जोगाउनका लागि खोपलाई पहिलो प्राथमिकता राखेको छ ।

अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राख्दै ६० लाख मात्रा खोप नेपाल आएकाे थियाे । सरकारले आफैं खरिद गरेर, विभिन्न देशले अनुदानमा र कोभ्याक्स कार्यक्रममार्फत खोप ल्याएको छ।

सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कुल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कुल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने गर्दछ । 

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कुल जनसङ्ख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने धारणा राख्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्यसेवा विभागअन्तर्गत परिवार महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको छ ।

कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोनसन एण्ड जाेनसन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको छ । तीमध्ये कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोनसन एण्ड जाेनसन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा रहेका छन् ।

यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ४० लाख मात्रा रहेको छ । 

आउन बाँकी 

यसैगरी सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरिद गरेर ६० लाख भेरोसेल खोप आउँदाे भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो हप्ता नेपाल आइपुग्ने तालिका छ ।

यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एस्ट्राजेनेका खोपको १६ लाख मात्रा भदौ पहिलो हप्ता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोनसन एण्ड जाेनसन र सिनोभ्याक गरी करिब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ । 

उहाँले बालबालिका लागि लगाउने खोप खरिदको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । सरकारको आउँदाे असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ ।

खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्य लिएकामध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । चालु आर्थिक वर्षमा सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ रकम कोरोना भाइरसविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया