व्यङ्ग्य - फोहरमा पुरिएको कोरोनालाई सिनेमा दर्शन

 भदौ १९, २०७८ शनिबार १०:२६:४७ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डौमा १८ दिनसम्म फोहरको डुङ्गुरभित्र लुकेर बस्न पाउँदा कोरोनालाई मज्जै लागेको थियो । गाडीका पाङ्ग्रा र मान्छेको खुट्टाले कुल्चने डर थिएन । फोहरभित्र बसेर दिनदिनै नयाँनयाँ गन्ध सुँघ्न र फोहर चाख्थ्यो । फोहरभित्रै थरीथरीका साथी भेटिन्थे । आफ्नै गोत्रका रुघाखोकी र ज्वरो निकाल्ने भाइरस, अर्को गोत्रका झाडापखाला र हैजा निम्त्याउने भाइरस, घाउखटिरा र लुतो दाद ल्याइदिने छिमेकी कीटाणु । 

फोहरभित्र सबैसँग बस्दा कोरोनाले हिरो हुन पाएको थियो । अरुले ओहो तिमी त कति शक्तिशाली भनेर जिब्रो टोक्थे । हिजोआज तिमीलाई मात्र मान्छेले ध्यान दिन थाले, हाम्रो त वास्तै गर्दैनन् भनेर डाह गर्थे । कति त तिमी अथवा कोरोनालाई मात्र मासेर सक्ने भए, अरु हामी जस्ता अनेक भाइरस छौँ भन्ने तथ्य मान्छेले बिर्सिसके भनेर फुरफुर पनि हुन्थे ।

जे होस् काठमाण्डौको सडकमा फोहरको डङ्गुर लाग्दा कोरोनालाई मन बहलाउन अनेक उपायहरु थिए, जो सजिला र सरल थिए । भाइरस, ब्याक्टेरिया र अरु कीटाणुसँगको सङ्गतले कोरोनाले मान्छेका धेरै आनीबानी बुझ्न पाएको थियो । कीटाणु साथीहरु भन्थे–मान्छे, त्यसमाथि नेपालीहरु हाम्रा मित्र पनि हुन् । उनीहरुले सधैँ हाम्रो खेदो खन्दैनन् । केही दिन हामीले अलि बढी नै सतायौँ भने हाम्रो खेदो गर्छन् । नत्र हामीलाई स्वागत गर्न र साथ दिन सधैं तयार हुन्छन् । हामी मासिने हो कि भन्ने पिरले बेला बेला यताउता फोहरको डङ्गुर बनाउँछन् । हात धुन र मास्क लगाउन बिर्सन्छन् । हामी भाइरस, ब्याक्टेरिया र कीटाणुलाई जे गर्दा सजिलो हुन्छ, त्यही गर्न पाउँदा नेपालीको मन उत्फुल्ल हुन्छ, त्यही गर्छन् । 

अरु साथीहरुको कुरा सुन्दा कोरोनालाई पनि हो झैँ लाग्यो । बाटोमा बिना काम लखरलखर हिँड्नेहरु अहिले पनि उत्तिकै छन् । राम्रोसँग नाकमुख छोपेर मास्क लगाउनुपर्छ भन्ने थाहा भए पनि झन्झट मानेर नाक वा मुख दुईमध्ये एकमात्र छोप्छन् । साबुनपानीले हात धुनुपर्छ भन्ने कुरा सम्झेका बेला पनि बिर्सनै जाति ठान्छन् । खोप लगाएँ भनेर मख्ख पर्छन् र भीडभाडमा रमाउँछन् । सरकार पनि उनीहरु जस्तै छ । बेलाबेला उदेकलाग्दा निर्णय र आदेश दिएर नागरिकको मनोरञ्जन गराउन व्यस्तै रहन्छ । 

एकातिर सडकबजारमा भीडभाड, अर्कोतिर फोहरको डङ्गुर । सरकारले भाइरस र कीटाणुको वृद्धिका लागि प्रभावकारी कदम चाल्ने आशा गरेको बेला सोच्दै नसोचेको फोहर उठाउन थालेपछि कोरोना झसंग भयो । १८ दिनपछि काठमाण्डौ महानगरपालिकाको आँखा खुल्यो, अरु सरकारी निकायका कान ठाडा भए । फोहर उठाउने निर्णय भयो । नभन्दै धमाधम फोहर उठ्न थाल्यो । सँगैका कीटाणु साथीहरु लाखापाखा लागे । कोही सिसडोलतिर पुगे, कोही काठमाण्डौकै गल्लीमा भौँतारिन थाले । 

कहाँ जाउँ कहाँ जाउँ भइरहेको कोरोनालाई फेरि खुशीको खबर मिल्यो । फोहरको डङ्गुर उठाउन थालेकै दिन काठमाण्डौका सिडियोहरुले सिनेमाघर, पाटी प्यालेस र नाचघर खुलाउने निर्णय गरे । दलहरुका जुलुस र सभा, सरकारी निकायका भेला र बैठक, अनि ठाउँठाउँका होटल रेष्टुरेन्टमा मान्छेहरुसँगै बरालिने बानी भएको कोरोनालाई अब सिनेमा घरमा गएर फिल्म हेर्ने बाटो पनि खुल्यो । रोधीघर र नाचघरमा दोहोरी गाउँदै कम्मर मर्काएर नाच्न पनि पाइयो।

सिडियोहरुका निर्णय नै उदेकलाग्दो ! पाटी प्यालेस र होटलमा हुलका हुल जम्मा भएर खान मिल्ने, तर छरछिमेकी र आफन्तबीच बाहिर भोज भतेर गर्न नमिल्ने ! सिनेमामा अँगालाे मारेर फिल्म हेर्न र रोधी घरमा कुम जुधाएर नाच्न मिल्ने, तर चाडपर्व मनाउन नमिल्ने ! केटाकेटी मिलीजुली घुमफिर गर्न ठाउँ ठाउँमा जान मिल्ने, तर स्कुल जान चाहिँ सितिमिति अझै नमिल्ने !

जे होस् स्कुल कसरी खोल्ने भन्ने अन्योल भए पनि रोधीघर र सिनेमा घर खुल्यो । हलमा देखाउने सिनेमा पो छैन, हल त खुल्यो नि ! अहिलेसम्म मास्क, स्यानिटाइजरदेखि खोपसम्म देखाएर नतर्सिएको कोरोनालाई मनोरञ्जनमा भुलाउने सरकारको नयाँ रणनीति हो यो । सिनेमा हलमा सिनेमा नै देखाउनुपर्छ भन्ने पनि के छ र ? युट्युबका थरीथरीका तीज गीत आएकै छन् । 

टिकटकमा हेर्न मिल्ने, नमिल्ने सामग्री छँदैछन् । अहिलेसम्म फिल्म हल नखुल्दा पनि मान्छेले मोबाइलमै युट्युब र टिकटक हेरेर मनोरञ्जन लिएकै हुन् । अब पनि त्यही युट्युबका गीत र टिकटकका प्रदर्शनलाई काँटछाँट र जोडजाड बनाएर हलमा देखाए भइहाल्यो । मोबाइलमा हेरेर धित नमर्नेहरु सिनेमा हल पुग्छन् । घरमा मकै खाँदाखाँदा वाक्क भएकाहरुले पपकर्नको स्वाद लिन पाउँछन् । धेरै दिनदेखि फोन, च्याट र हेराहेरमै चित्त बुझाउन बाध्य प्रेमी–प्रेमिका अँगालो मारेर बस्न पाउँछन् । 

जता भीडभाड, उतै कोरोना । अनि मान्छेसँगै कोरोना पनि हलमा पुग्छ । मान्छेसँगै कोरोना पनि सिनेमा र मनोरञ्जनमा भुलिन्छ । रोधी घर र डान्सबारमा पुगेर गीत गाउँछ । कम्मर मर्काउँदै नाच्छ । नाचगान, रमाइलो र मनोरञ्जनमा भुल्न थालेपछि कोरोनाले आफ्नो ड्युटी र काम पनि बिर्सन्छ । उबेलाका राजाहरु नाच र रमाइलोमा भुल्दा शत्रुले राज्य नै कब्जा गर्थ्याे । अहिले कोरोना जित्न राज्यले उबेलाकै त्यो शैली अपनाएको छ । बिचरा कोरोनालाई यो कुराको के पत्तो !

अन्तिम अपडेट: चैत २६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया