दशैं चहलपहल : नयाँ नोट, सुपथ मूल्य पसलदेखि सामान किन्दा विभिन्न उपहार

 असोज १५, २०७८ शुक्रबार १३:५५:१३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – अघिल्लो वर्ष कोरोनाको कारण राम्रोसँग दशैं मनाउन नपाएका नेपालीलाई यसवर्ष छिटै दशैं लागिसकेको छ । कोरोना सङ्क्रमण घटेसँगै बजारमा चहलपहल बढेको छ । 

पहिलेका वर्षहरुमा अलि ढिलो गरी देखिने दशैंको चहलपहल यस वर्ष छिटो देखिएको छ । फेन्सी पसलदेखि फुटपाथमा पनि उत्तिकै भीड छ । 

दशैंकै लागि बैंकहरुले नयाँ नोट साट्न थालिसकेका छन् । खाद्य संस्थाले सहुलियत पसल सञ्चालन गरेको छ । गाडीको अग्रिम टिकट बुकिङ पनि खुलिसकेको छ । 

दशैंको छेको पारेर विभिन्न निजी व्यापारिक कम्पनीहरुले पनि छुट तथा उपहार घोषणा गरेका छन् । 

दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे गाडी कम्पनी, मोबाइल कम्पनी लगायत अन्य घरायसी सामान उत्पादकहरुले विभिन्न छुट तथा उपहार लिएर आएका छन् । 

नयाँ नोट 

दशैंमा नयाँ नोट दक्षिणाका रुपमा आदानप्रदान गर्ने चलन छ । यसका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गर्छ । गएको वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । अहिले भने कोरोना सङ्क्रमण कम भएसँगै राष्ट्र बैंकले नयाँ नोट वितरण थालेको हो । 

असोज ४ गतेदेखिनै नयाँ नोट वितरण सुरु भैसकेको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका क्षेत्रीय कार्यालय तथा अरु बैंकहरुबाट समेत नयाँ नोट वितरण गरिने भएकोले यसवर्ष पहिले जस्तो भीडभाड देखिएको छैन । पहिले पहिले नयाँ नोट लिन राष्ट्र बैंक अगाडि रातभरसमेत लाइन लाग्नुपर्ने बाध्यता थियो ।

अग्रिम टिकट बुकिङ

सरकारले यस वर्षको दशैंका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट बुकिङ खुला गरिएसँगै नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन थालेको छ । 

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ वटा टिकट काउण्टर थप गरिएको छ । भने ३२ वटा काउण्टरबाट नियमित टिकट बिक्री हुने गर्छ । 

नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरुवात गरिएको छ ।

काठमाण्डौ बाहिरबाट आएर विभिन्न काम, पढाइ, जागिर तथा व्यापार/व्यवसाय गरेर बसेकाहरुलाई दशैं मनाउन घर जान सहज होस् भन्नका लागि  अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने गरिएको छ । अनलाइनबाट पनि बसको टिकट लिन सकिन्छ ।

सुपथ मूल्य पसल

हरेक वर्षको दशैं झैँ यसपटक नेपाल खाद्य संस्थानले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलमा विशेष गरी दैनिक उपभोग्य खाद्य वस्तुहरु बिक्री गर्ने गरिन्छ । 

सरकारले सुरु गरेको सुपथ मूल्य पसलमा खाद्य सामग्रीहरूमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँ सम्म छुटको व्यवस्था गरिएको छ । चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ, खानेतेलमा प्रतिलिटर ५ रुपैयाँ, कर्णालीको सिमी र फापरको दानामा प्रतिकिलो १० रुपैयाँ र जिउँदो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

काठमाण्डौ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण भइरहेको छ । भने लगनखेलमा सहकारी मार्फत बिक्री वितरण हुने गरेको छ । 

खाद्यले ३९ जिल्लाको ४३ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । जसमा काठमाण्डौ उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट बिक्री वितरणको व्यवस्था गरिएको छ ।

दशैंका लागि आवश्यक खसीबोका तथा च्याङ्‍ग्रा भने घटस्थापनादेखि बिक्री सुरु हुनेछ । काठमाण्डौ उपत्यकाको लागि मकवानपुर र दाङबाट २ हजार वटा खसीबोका ल्याउन लागिएको छ । 
जिउँदो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

दुई पाङ्ग्रे तथा चार पाङ्ग्रेमा छुट 

दशैंको छेको पारेर मोटरसाइकल कम्पनीहरुले पनि थुप्रै छुट तथा उपहारको अफर लिएर आएका छन् । होण्डाले अधिकतम ३५ हजार नगद छुट तथा लक्की 'ड्र' मार्फत सातै प्रदेशमा एक/एक जनालाई १ लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको छ । 

यामाहाले ८ हजारदेखि एकलाखसम्मको हात खाली नजाने उपहार ल्याएको छ । लक्की 'ड्र' तथा बम्पर उपहारको पनि व्यवस्था रहेको छ । सुजुकीले १० हजार हात खाली नहुने नगद पुरस्कार तथा एक्सचेञ्ज अफर पनि लिएर आएको छ । 

बजाजले खरिदपछि १० हजार देखि तत्काल एकलाख र लक्की 'ड्र' मार्फत १ लाख उपहारको अफर ल्याएको छ । चार चारपाङ्ग्रे हकमा पनि हुण्डाई, ड्याट्सन, निशान, प्रोटोन, सुजुकी, टाटा लगायतका गाडीले दशैं लक्षित छुट तथा उपहार ल्याएका छन् । 

जसमा ५० हजारदेखि तीनलाखसम्मको छुट, बीमा, सवारी कर एक्सचेञ्ज बोनस लगायतका उपहार छन् । तर यसवर्ष सरकारले प्रतिस्थापन बजेट ल्याएपछि मोटरसाइकलको मूल्य बढेको छ ।

मोबाइलमा पनि छुट

विभिन्न मोबाइल उत्पादक कम्पनीले नगद छुट, स्क्र्याच कुपन, बाइक, स्कुटरदेखि विदेश भ्रमणसम्मका योजना अगाडि सारेका छन् । 

आईफोनको खरिदमा चाँदीको सिक्कादेखि लक्की 'ड्र' मार्फत स्कुटरसम्मको उपहार योजना सार्वजनिक गरेको छ आईफोनले । 

सामसुङले स्मार्ट टीभीदेखि डबल डोर रेफ्रिजेरेटरसम्मका होम अप्लाइन्सहरू उपहारमा राखेको छ । एचटीसीले चाँदीको सिक्का, हुवावेले फोन तथा पावर बैंक, कलर्सले क्यास ब्याक, जिओनीले सिङ्गापुर भ्रमणसम्मका दशैं उपहार योजना अगाडि सारेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Ramesh Prasad Bhattarai

    Oct. 1, 2021, 8:07 p.m.

    नेपाल खाद्य संस्थान होइन।नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया