ब्याज दर वृद्धिमा राष्ट्र बैंकको अङ्कुश, कात्तिकको ब्याज दर संशोधन हुने

 कात्तिक ३, २०७८ बुधबार १३:२४:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याज दर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याज दर असाधारण रूपमा बढ्न नदिन निर्देशन जारी गरेको हो । 

केन्द्रीय बैंकले हिजाे मङ्गलवार जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले जुनसुकै निक्षेपमा प्रदान गर्ने ब्याज दर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याज दरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् । त्यस्तै संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याज दर सर्वसाधारणलाई मुद्दती निक्षेपमा दिने अधिकतम ब्याज दरभन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने निर्देशनमा उल्लेख छ । 

राष्ट्र बैंकले कात्तिक महिनाका लागि सार्वजनिक भएका ब्याज दरसमेत उल्लेखित व्यवस्था बमोजिम नभएको भए संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी लागू गर्न र ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्न निर्देशन दिएको छ । 

राष्ट्र बैंकको निर्देशनअनुसार अब बैंकले गएकाे असोज महिनाको ब्याज दरका तुलनामा बढीमा १० प्रतिशतले वृद्धि गरी यही कात्तिकका लागि नयाँ ब्याज दर निर्धारण गर्न सक्नेछन् । असोज महिनाका लागि सनराइज बैंकले निक्षेपमा अधिकतम १० दशमलव शून्य सात प्रतिशत ब्याज दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार अब सनराइज बैंकले मुद्दती निक्षेपमा कात्तिक महिनामा अधिकतम ११ दशमलव शून्य शून्य सात प्रतिशतसम्म ब्याज दिन सक्नेछ । 

तरलता अभावले लगानीयोग्य रकममा समस्या आएको जनाउँदै धेरै बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो  त्रैमासिकको पहिलो दिननै दोहोरो अङ्कले ब्याज बढाएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया