यात्रु र गाडीवालाको एउटै समस्या – खुद्रा पैसा छैन !

 कात्तिक ११, २०७८ बिहिबार ८:४४:३९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

भक्तपुरको राधेराधेबाट गाडी चढेका शैलेन्द्र राना वीर अस्पताल अगाडि ओर्लिनुभयो । सरकारले तोकेको भाडा दरअनुसार त्यहाँसम्मको भाडा २३ रुपैयाँ हो, तर उहाँले २५ रुपैयाँ तिर्नुभयो । 

‘२ रुपैयाँ फिर्ता मागेको हो, सहचालकले छैन भन्यो’ उहाँले बढी भाडा तिर्नुपरेको बाध्यता सुनाउनुभयो, ‘कि तपाईँले चानचुन पैसा मिलाएर दिनुपर्यो हामीसँग त छैन भन्यो । मैले पनि कहाँबाट ल्याएर दिने हो र!’

अर्का यात्री प्रेम तामाङ भने बनेपादेखि आउनु भएको हो । उहाँसँग सहचालकले पहिले नै ६० रुपैयाँ लियो । उहाँलाई पनि बनेपादेखि काठमाण्डौसम्मको भाडा ५८ रुपैयाँ हो भन्ने थाहा छ । तर, उहाँले पनि पैसा फिर्ता माग्दा आफूसँग चानचुन पैसा नभएको भन्ने जवाफ दिए सहचालकले । 

‘पैसा फिर्ता त मागेको हो तर, चानचुन छैन भन्यो के गर्नु अब, आफूसँग पनि चानचुन मिलाएर दिनलाई छैन,’ उहाँले भन्नुभयो, ‘सधैँ यो २ रुपैयाँका लागि किचकिच गर्नुपर्छ । त्यही भएर अहिले त मैले माग्न नै छोडिदिएँ ।’

लक्ष्मी प्रजापति जगातीबाट काठमाण्डौ आउनु भएको हो । उहाँले भने ३० रुपैयाँ भाडा तिर्नुभयो । तर, सरकारले तोकेको भाडा भने २७ रुपैयाँ मात्र हो । उहाँले ३ रुपैयाँ बढी तिर्नुपर्यो । ‘पैसा फिर्ता मागे पनि दिने होइनन् । चानचुन छैन भन्छन् । अब कति झगडा गरिराख्नु’ उहाँको बाध्यता पनि उस्तै छ । 

काठमाण्डौ उपत्यकामा सरकारले गाडी भाडा बढाएपछि यात्रु र सह–चालकबीच दैनिक हुने घटना हो यो । काठमाण्डौ–धुलिखेल रुटका गाडी चालक राजेन्द्र लामा सरकारले बढाएको भाडा अव्यावहारिक भएकाले यात्रु र सह–चालकबीच सधैँ विवाद हुने गरेको बताउनुहुन्छ । 

‘धुलिखेलसम्मको भाडा खासमा ७८ रुपैयाँ हो । तर, हामी कहिले ८० लिन्छौं, कहिले भने ७५ रुपैयाँ पनि लिने गरेका छौं । दुई जना भयो भने १५०/१५५ लिन्छौं’ उहाँले भन्नुभयो ।

पहिले पहिले सहिदगेट, रत्नपार्क, लगनखेल जस्ता मुख्य मुख्य बिसौनीमा केही रकम कट्टी गरी चानचुन पैसा साट्ने व्यवसाय पनि राम्रै चलेको थियो । तर, अहिले भने त्यस्ता खुद्रा पैसा सटही गर्ने साना व्यापारीहरु देखिँदैनन् । बनेपा–धुलिखेल रुटका सहचालक कृष्ण चौलागाईँ भन्छन्, ‘हामीले पनि मन लागेर यात्रुसँग धेरै पैसा लिएका होइनौँ । बाध्यता छ । चानचुन पैसा हुँदैन अनि के गर्नु ?’

उहाँका अनुसार यदि दुई जना अथवा नियमित ओहोरदोहोर गर्ने यात्रु छन् भने छुट दिएर चानचुन पैसा दिनु नपर्ने गरी हिसाब मिलाएर लिने गरिएको छ । बनेपा–धुलिखेल रुटमा दैनिक झण्डै १ सयभन्दा बढी गाडी चल्ने गरेको त्यहाँका टाइम किपर राजु किजुले बताउनु भयो । 

उहाँ भन्नुहुन्छ, ‘भाडा त ७८ रुपैयाँ हो । तर, चानचुन नहुने कारणले गर्दा फिर्ता दिन सकिँदैन । यदि कसैले मागेका खण्डमा उसलाई ७५ रुपैयाँ मात्र लिनु भनेर समितिले भनेको छ ।’ अर्का चालक विष्णु श्रेष्ठ भने आफूले सह–चालकलाई यात्रुसँग बढी पैसा नलिन र कसैले मागेमा मिलाएर दिन भनेको बताउनुहुन्छ । 

‘चानचुन पैसा नहुने कारणले कहिले यात्रुहरुले भाडा बढी दिनुपर्छ भने कहिले हामीले छोड्नु पर्ने हुन्छ’ उहाँ भन्नुहुन्छ, ‘यो अव्यावहारिक भाडाले गर्दा यात्रु तथा हामी दुवैलाई मर्का परिरहेको छ ।’ अर्का सहचालक नितेश भन्नुहुन्छ, ‘अब हामीले पनि चानचुन नभएर पसलेले चकलेट, चुइँगम दिएजस्तै गरी यात्रुलाई दिनुपर्ला ।’अहिले सडक पेटीमा खुद्रा पैसा साट्ने कोही नभएकाले पनि यात्रुलाई पैसा फिर्ता दिन अप्ठ्याराे परेको उहाँले बताउनु भयो । 

सरकारले काठमाण्डौ उपत्यकामा पछिल्लो पटक बढाएको भाडा दरअनुसार न्यूनतम भाडा १८ रुपैयाँ छ । भाडा १८ रुपैयाँ भए पनि २० रुपैयाँ तिर्न यात्रु बाध्य छन् । यसअघि सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा न्यूनतम १३ रुपैयाँ भाडादर तोकेको थियो । त्यसबेला पनि यात्रुले १५ रुपैयाँ नै तिर्ने गरेका थिए । त्यसको कारण भने फेरि उही चानचुन पैसामा आएर नै ठोक्किन्थ्यो । 

सरकारले भाडा बढाउँदा प्रतिशतका आधारमा बढाउने र यसरी बढाउँदा जहिले पनि भाडादर अव्यावहारिक हुने गरेको छ । बजारमा एक, दुई रुपैयाँको खुद्रा पैसा सजिलै नपाइने भएकाले यात्रु र गाडीवालालाई पनि खुद्रा पैसाको जोहो गर्न गाह्रो छ । तर यातायात व्यवस्था विभागले भने खुद्रा पैसा साथमा राख्न आग्रह गर्दै आएको छ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • M.A.R.S

    Nov. 18, 2021, 10:09 a.m.

    अनलाइन पे गर्ने

  •  0 Reply

तपाईको प्रतिक्रिया