विवादित कृषि कानुन फिर्तापछि भारतभरि स्वागत, किसानहरू खुसी

 मंसिर ३, २०७८ शुक्रबार १९:११:३९ | एजेन्सी
unn.prixa.net

विवादित कृषि कानुन फिर्ता लिने घाेषणापछि किसानहरू खुसी मनाउँदै

काठमाण्डाै – भारतमा अति विवादमा परेका कृषिसम्बन्धी तीन कानुन सरकारले आज शुक्रवार फिर्ता लिएको छ । 

झन्डै एक वर्ष अगाडि संसदबाट पारित भएका तीन कानुनका विरुद्धमा वर्षभरि किसानहरूले आन्दोलन गरिरहेका थिए । 

आन्दोलनका क्रममा सयौँको ज्यान गयाे भने हजारौँ घाइते भए । तर पनि किसानहरूले आन्दोलन जारी राखेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै कानुन फिर्ता लिइएको घोषणा गर्नुभएको हो । 

देशका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, सबै जनालाई आज म यो अनुरोध गर्न चाहन्छु कि हामीले विवादमा परेका र विरोध भइरहेका कृषिसम्बन्धी तीन वटै कानुन फिर्ता लिने निर्णय गरेका छौँ ।

उहाँको घोषणापछि किसानहरूले खुसीयाली मनाएका छन् । उनीहरूको आन्दोलन गरेको सङ्गठनले यो घोषणालाई आफ्नो ठूलो जितको रूपमा लिइएको जनाएको छ । अरूले पनि विवादास्पद र विरोध भइरहेको कानुन फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेका छन् ।   

किसानहरूकाे बसोबास धेरै रहेको पन्जाब र उत्तर प्रदेश राज्यमा हुन लागेको चुनावलाई लक्षित गरेर प्रधानमन्त्री मोदीले किसानहरूलाई खुसी बनाउने गरी विवादास्पद कानुन फिर्ता लिएको घोषणा गर्नुभएको हो । 

हजारौँ किसानले अघिल्लो वर्षको नोभेम्बरदेखि ती कानुनको विरोधमा राजधानी दिल्लीको सीमा क्षेत्रमा धर्ना दिइरहेका थिए । बेला–बेलामा देशव्यापी कठोर आन्दोलन पनि गरेका थिए । 

आन्दोलन चर्किँदै गएपछि प्रदर्शनकारी र सरकारी पक्षका बीचमा पटक–पटक वार्ता भएका थिए । तर ती सबै वार्ता विफल भएका थिए । 

वार्ताका क्रममा किसानहरूले ती कानुनले कृषिमा निजी क्षेत्रको आगमन सहज बनाउने र त्यसले आफ्नो आयमा असर गर्ने बताउँदै आएका थिए भने सरकारको पक्षबाट वार्तामा बसेका मन्त्रीहरूले ती कानुन किसानका लागि लाभदायक भएको दाबी गरेका थिए । 

किसानहरूलाई यसको फाइदाबारे बुझाउने थुप्रै प्रयास गरिए पनि आफूहरू असफल भएकाले फिर्ता लिनु परेको सरकारी पक्षको भनाइ छ ।

सरकारी पक्षले कानुन फिर्ता लिए पनि कानुन ठिक नै रहेको दाबी गरिरहेकाले अहिले नै पूरै आन्दोलन फिर्ता लिन भने नसकिने किसान नेता राकेश टिकैतले बताउनुभएको छ । 

सरकारले फिर्ता लिने निर्णय गरे पनि संसदबाट कानुन खारेज गरेपछि मात्रै आफ्ना आन्दोलनका कार्यक्रम अन्त्य गर्ने उहाँले स्पष्ट पार्नुभयो । 

झन्डै ४० किसान सङ्गठनको छाता संस्था संयुक्त किसान मोर्चाले सरकारले गरेको अनुरोधका बाबजुद पनि विरोधबाट पछि हट्न अस्वीकार गरेको थियो । जाडोमा पानीको फोहरा र अश्रुग्यास सहँदै भारतीय किसानहरूले आन्दोलन गरिरहेका थिए ।  

किसानहरूले अत्यन्त जाडो र अत्यन्त गर्मीको बेलामा पनि कोरोना भाइरसको जाेखिम मोल्दै निरन्तर आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा ठन्डी, गर्मी र कोरोनाका कारण केही किसानकाे ज्यानसमेत गएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया