पहिलो पटक सौराहाका सबै होटल बुकिङ, एमालेसँग चार करोड रुपैयाँको सम्झौता

 मंसिर ८, २०७८ बुधबार १९:१६:२५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको दशौँ महाधिवेशनका कारण चितवनको होटल क्षेत्रमा रौनक थपिएको छ । एमालेले नारायणगढको नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्रको कार्यक्रम राखेको छ । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म भए पनि चितवनका लगभग सबैजसो होटल मङ्सिर ९ देखि १३ गतेसम्मकै लागि बुकिङ भइसकेका छन् । 

कोरोनाका कारण दुई वर्षसम्म सुनसान रहेको मुख्य पर्यटकीय क्षेत्र यति बेला जुरमुराएको छ । केही समय पहिलेसम्म होटल बुकिङ नभएर हैरान भएका व्यवसायी अहिले होटलमा बेड नपुगेर तनावमा छन् । सौराहासहित भरतपुर र नारायणगढ क्षेत्रका सबैजसो होटल एमालेको महाधिवेशनकै लागि बुकिङ भइसकेका छन् ।

सौराहामा इतिहासमा पहिलो पटक सबै खाले होटलका सबै कोठा बुकिङ भएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । जतिसुकै पर्यटक पुगे पनि यसरी एकै पटक सबै होटलका सबै कोठा यसअघि कहिल्यै बुकिङ नभएको सङ्घले जनाएको छ । अहिले भने साना, मझौला र ठूला गरी सबै खाले होटल एमालेका नेता, प्रतिनिधि, पर्यवेक्षक, सञ्चार माध्यमका प्रतिनिधि र कार्यकर्ताले बुकिङ गरेका छन् । 

एमालेसँग चार करोड रुपैयाँको सम्झौता, १० करोड रुपैयाँको कारोबार हुने अनुमान

चितवनको मात्रै नभएर देशकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको एक सौराहामा सबै होटलमा गरेर ६ हजार पाँच सय बेड रहेका छन् । सबै होटल एमालेको महाधिवेशनका लागि बुकिङ भइसकेका छन् । यसका लागि क्षेत्रीय होटल सङ्घ सौराहाले  अग्रसरता लिएर काम गरिरहेको छ । ६ हजार पाँच सय बेडमध्ये तीन हजार पाँच सय बेड बुकिङको सम्झौता भइसकेको छ । क्षेत्रीय होटल सङ्घ र नेकपा एमालेबीच चार करोड रुपैयाँमा सम्झौता भइसकेको छ । 

‘तीन हजार पाँच सय बेडका लागि हामीले चार करोड रुपैयाँ सम्झौता गरिसकेका छौँ । यसमध्ये ८० लाख रुपैयाँ एडभान्स प्राप्त भइसकेको छ, बाँकी रकम महाधिवेशन सकिएको १५ दिनभित्र दिने सम्झौता भएको छ ।’ क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो । 

६ हजार पाँच सय बेडमध्ये एक हजार बेड एमालेको महाधिवेशनअघि नै अन्य पर्यटकले बुकिङ गरिसकेका, तीन हजार पाँच सय बेडका लागि एमालेसँग क्षेत्रीय होटल सङ्घले नै सम्झौता गरेको र बाँकी दुई हजार बेड पनि एमालेकै नेता, कार्यकर्ताका लागि छुट्याइएको भट्टराईले जानकारी दिनुभयो । दुई हजार बेड एमालेका नेता/कार्यकर्ताकै लागि भनेर अनलाइन बुकिङ नगरिएको उहाँको भनाइ छ । 

एमालेको महाधिवेशनका लागि १० हजार बेड आवश्यक पर्ने अनुमान गरिएको र भरतपुर तथा नारायणगढ क्षेत्रका होटल पनि एमालेका नेता÷कार्यकर्ता, शुभचिन्तक, पर्यवेक्षक, सञ्चार माध्यमका प्रतिनिधिलगायतले बुकिङ गरिसकेका छन् । 

व्यवसायीले साना होटलको २५ सय, मझौलाको ३५ सय र ठूला होटलका कोठाको मूल्य पाँच हजार रुपैयाँ तोकेका छन् । खाना र खाजाको पनि सहुलियत मूल्य तोकिएको व्यवसायीले बताएका छन् । 

‘महाधिवेशनको अवधिमा चितवनका होटलमा खाना र बस्न गरेर १० करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको छ’, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो । 

‘पहिले फ्रीमा रुम दिनुपर्थ्याे, अहिले पैसाको सम्झौता हुँदा खुसी लाग्यो’

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यसअघि ठूला दलले गर्ने कार्यक्रममा निःशुल्क खान बस्नका लागि दबाब दिने गरे पनि अहिले एमालेको महाधिवेशनमा होटल व्यवसायीले नगद नै पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘यसअघि दलका कार्यक्रम हुँदा निःशुल्क खान बस्नको सुविधा मात्रै होइन चन्दाको समेत माग हुन्थ्यो, अहिले त हामीले चार करोड रुपैयाँको सम्झौता नै गरिसकेका छौँ, यसले एउटा राम्रो सन्देश गएको छ’, भट्टराईले भन्नुभयो । 

१३ गतेसम्म पर्यटकको बुकिङ नलिने

एमालेको महाधिवेशनका कारण सौराहा क्षेत्रका होटलले पर्यटकको बुकिङ बन्द गरेका छन् । मङ्सिर ९ गतेदेखि १३ गतेसम्म एमालेको महाधिवेशनकै पाहुना राख्नका लागि अरू पर्यटकका बुकिङ बन्द गरिएको व्यवसायीले बताएका छन् । यस्तै होटलमा हुने विवाह, व्रतबन्धलगायतका भोज, विभिन्न सङ्घ संस्थाका गोष्ठी, सेमिनार, भेलालगायतका गतिविधि पनि बन्द गरिएको छ । 

‘राजनीतिक दलको यति ठूलो कार्यक्रम हुँदैछ, यसले यहाँ आउने पर्यटकलाई नै डिस्टर्ब हुन्छ भनेर १३ गतेसम्म अरू पर्यटकका बुकिङ बन्द गरेका छौँ, त्यसपछि फेरि बुकिङ खुला हुनेछ’, अध्यक्ष भट्टराईले भन्नुभयो । 

महाधिवेशनले सौराहाको पर्यटन फेरि जुरमुराउनेछ : दीपकराज जोशी

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी सौराहामा हुने एमालेको महाधिवेशनले यो क्षेत्रको पर्यटन जुरमुराउने बताउनुहुन्छ । महाधिवेशनको समयमा एमालेका नेता÷कार्यकर्ताकै कारण सौराहाको होटलदेखि अन्य पर्यटन क्षेत्र चलायमान हुने र महाधिवेशनका बेला हुने प्रचारप्रसारका कारण त्यसपछि पनि पर्यटक बढ्ने जोशीको अनुमान छ ।

‘देशको सबैभन्दा ठूलो दलको महाधिवेशन एउटा पर्यटकीय नगरीमा आयोजना गर्नु पर्यटन व्यवसायका लागि निकै ठूलो अवसर हो, यसले सौराहाको थप प्रचारप्रसार भएको छ’, पूर्व सीईओ जोशीले भन्नुभयो । 
कोरोनाका कारण प्रभावित भएको पर्यटन क्षेत्र फेरि उकास्नका लागि पनि यस्ता ठूला–ठूला कार्यक्रम पर्यटकीय क्षेत्रमै गर्दा राम्रो हुने जोशीको भनाइ छ । 

‘एमालेको महाधिवेशनपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाललगायतका दलको पनि महाधिवेशन हुँदैछ, उहाँहरूले पनि यस्तै पर्यटकीय क्षेत्रमा कार्यक्रम गर्नुभयो भने झनै राम्र्रो हुने थियो’, पूर्व सीईओ जोशीले भन्नुभयो । 

यस्ता ठूला–ठूला कार्यक्रममा पर्यटन व्यवसायीलाई चुनौतीसँगै धेरै अवसर पनि प्राप्त हुने जोशीको भनाइ छ । महाधिवेशनमा आएका पाहुनालाई राम्रो स्वागत–सत्कार र सेवा–सुविधा दिएमा उनीहरूले प्रचारप्रसार गर्ने र त्यसले सौराहाको बारेमा अझ धेरै जनाले सोधखोज गर्ने र भ्रमणको योजना बनाउने सम्भावना रहेको उहाँले बताउनुभयो । 

‘पछिल्लो समयमा होटल क्षेत्रमा निकै ठूलो लगानी भएको छ, कोरोनाका कारण होटल सञ्चालक अत्तालिएको अवस्थामा पर्यटकीय क्षेत्रमा हुने यस्ता ठूला कार्यक्रमले गर्दा होटल क्षेत्रलाई निकै उत्साह र आड, भरोस दिएको छ,’ जोशीले भन्नुभयो । 

जनप्रतिनिधिलाई पनि सिक्ने अवसर

पर्यटन प्रवर्द्धन कसरी गर्ने र पर्यटकलाई कसरी स्वागत गर्ने भन्ने विषयमा देशका अरू पालिकाका जनप्रतिनिधिले सौराहाबाट सिक्ने अवसर पनि रहेको पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी बताउनुहुन्छ ।

‘एमालेबाट निर्वाचित विभिन्न ठाउँका मेयर, गाउँपालिकाका अध्यक्षलगायतका जनप्रतिनिधि पनि महाधिवेशनमा आउनुहुन्छ, उहाँहरूले सौराहाका राम्रा र सकारात्मक विषयलाई आफ्नो पालिकामा पनि लागू गर्ने र सौराहामा नभएका संरचना बनाउने योजना बनाउनुभयो भने यसले झनै राम्रो हुनेछ’, जोशीले भन्नुभयो । 

चितवनमा ठूला सभा गर्न हल नहुँदा बन्द सत्रका लागि छुट्टै स्थानमा ठूलो खर्च गरेर संरचना बनाउने काम भइरहेकोमा जनप्रतिनिधि आफ्नो क्षेत्रमा त्यस्तो समस्या आउन नदिन ठूला हल र संरचना बनाउने विषयमा प्रेरित हुन सक्ने जोशीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया