बझाङमा डेढ महिनादेखि बिजुली आपूर्ति ठप्प : सञ्चार सम्पर्कविच्छेद, कलकारखाना बन्द

 मंसिर २१, २०७८ मंगलबार १०:२८:३८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बाढीले क्षति पुर्याएका विद्युतका आयोजनाकाे मर्मत नहुँदा बझाङका गाउँ डेढ महिनादेखि अन्धकार बनेका छन् ।

खप्तडछान्ना गाउँपालिका-१ का गोठखोला, खातिगाउँ, मायापाटा, डाँडागाउँ र खेदावाडागाउँ बिजुली नहुँदा डेढ महिनादेखि अन्धकार बनेका हुन् ।

गएको कार्तिक १ गते जडारीगाड खोलामा आएको बाढीले २१ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको नहर, विद्युत् गृह र पोल बगाएपछि २ सय ६५ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् ।

आयोजना २०६५ सालमा डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । त्यस्तै जडारीगाड दोस्रो लघु जलविद्युत् आयोजनाको अवस्था पनि उस्तै छ । बाढीले आयोजनाको नहर र विद्युत् गृहमा क्षति भएपछि ५२ किलोवाट क्षमताको यो विद्युत् गृह बन्द छ ।

थलारा गाउँपालिका-९ का राउली, लिस्ताडा, खानी, सिरेटा, चित्रु, फकाली, मालुमेला, अफ्ला बगर, आमबगर र सेलाबगरका ४ सय ९६ परिवार अन्धकारमा छन् । याे लघु जलविद्युत् २ करोड रुपैयाँ लागतमा निर्माण भएर २०७५ सालदेखि सञ्चालनमा आएको थियो ।

ती गाउँमा सञ्चालन भएका मिल बन्द हुँदा कुटानी पिसानीका लागि दिनभरि हिँडेर अर्काे गाउँ पुग्नुपर्ने बाध्यता छ । उद्योग, वडा कार्यालय, विद्यालय, सहकारी, स्वास्थ्य संस्थाको सेवा पनि प्रभावित भएको छ । बिजुली नहुँदा सञ्चार सेवा समेत ठप्प भएको जलविद्युत् आयोजना व्यवस्थापन समितिका अध्यक्ष देविभक्त जोशीले बताउनुभयो ।

खप्तडछान्ना र थलारा मात्रै नभएर बझाङका ५० वटाभन्दा धेरै लघु आयोजनामा क्षति हुँदा ११ वटा गाउँपालिकाका एक सयभन्दा धेरै गाउँ अन्धकारमा रहेको तर अहिलेसम्म मर्मतको पहल नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

क्षतिको यकिन विवरण नआएको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु सुवेदीले बताउनुभयो । केही आयोजना स्थानीय बासिन्दा आफैँले मर्मत गरेर अस्थायी रुपमा सञ्चालनमा ल्याएका छन् । बझाङमा रहेका लघु जलविद्युत् हेर्ने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्रदेश कार्यालय तीन महिनादेखि कर्मचारीविहीन छ । 

‘मोबाइल चार्ज गर्न नपाएर गाउँबाट कतै सम्पर्क गर्न समेत सकिएको छैन । विद्यार्थीहरुको पढाइ समेत बिग्रिन थालेको छ’ स्थानीय बासिन्दा वडा नम्बर ९ का अध्यक्ष मोहन राज जैशीले भन्नुभयाे । 

विद्युत् आयाेजना निर्माण पछि खुलेका सबै उद्योग धन्दाहरु बन्द भएका छन् । वडा कार्यालयको कामकाज पनि प्रभावित भएका छन् । ​

'खप्तड छान्ना गाउँपालिकाका ११ वटा विद्युत् आयोजनामा क्षति पुगेको थियो’ गाउँपालिकाका सूचना अधिकारी ऐन रोकायाले भन्नुभयाे ‘केही आयोजनाहरु स्थानीयले मर्मत गरेर अस्थायी रुपमा सञ्चालन गरेको भए पनि केही सञ्चालनमा आउन सकेका छैनन्। सम्पूर्ण संरचनाहरु नै बगाएका कारण कुनै कुनै आयोजना पुनर्निर्माण गर्न पनि नसकिने अवस्था छ ।’

उहाँले नहर बगाएका विद्युत् आयोजनाहरुमा स्थानीयले काठ र पाइपको प्रयोग गरेर अस्थायी रुपमा सञ्चालन गरिरहेको बताउनु भयाे । । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा वैकल्पिक ऊर्जा प्रवर्द्धनमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय संस्था जीआई जेडका प्राविधिक सल्लाहकार महाभारत व्यास श्रेष्ठ केन्द्रको प्रदेश कार्यालयमा लामाे समयदेखि कर्मचारी नआएकाे बताउनुहुन्छ । 

‘बझाङका धेरै आयोजनामा क्षति भएको भन्ने अनौपचारिक जानकारी आएको छ तर कति वटा आयोजनामा कस्तो खालको क्षति भएको छ भन्ने यकिन तथ्याङ्क छैन’उहाँले भन्नुभयाे । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बानेश्वरका राज आचार्यले पनि आधिकारिक रुपमा क्षतिको कुनै विवरण नआएको बताउनुभयाे ।  उहाँले भन्नुभयाे,‘यो विषयमा जिल्ला प्रशासन कार्यालयलाई बढी जानकारी होला । हामी कहाँ आधिकारिक विवरण अहिलेसम्म आएको छैन।’

जिल्ला प्रशासन कार्यालयमा पनि क्षतिको यकिन विवरण नआएको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु सुवेदीले बताउनुभयाे।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया