सिंहदरबारलाई जिस्क्याउँदै गरेको मण्डलाको न्याय

 मंसिर २१, २०७८ मंगलबार १३:३:३३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

राजन सेख बाँकेदेखि काठमाण्डौको माइतीघर मण्डला आएको १३ दिन भयो । मण्डलामा हुने अन्य समूहको विरोधका चर्का नारा त छँदैछन्, गाडीको कर्कश ध्वनी र कालो धुवाँ अनि सरकारको कालो मनले उहाँहरुको मुहार थकित, मलिन देखिन्छ । 

उपत्यकालाई प्रदूषणले गाँजेझैँ यहाँको न्याय प्रणाली तथा सरकारको रवैयामा पनि प्रदूषण देख्नुहुन्छ सेख । ‘हेर्नुस त ! धर्ना दिनेहरु उठ्न सकेका छैनन्, सरकार भने ठडिएको ठडियै छ’ नजिकै लौरो बोकेर बसेका प्रहरी र लम्पसार परिरहेका धर्नामा रहेका आफ्ना साथीहरुलाई देखाउँदै सेखले भन्नुभयो ।   

माइतीघर मण्डला सामुन्नेको सानो आइल्यान्डमा एकातिरको डोरी सडकको खम्बा तथा अर्कोतिरको डोरी रुखमा बाँधिएको अवस्थामा फ्लेक्स प्रिन्ट झुण्डिएको छ । विधवा महिला निर्मला कुर्मीको अपहरण र हत्या साथै घरेलु हिंसा पीडित महिला नन्कुन्नी देवीको हत्यामा न्याय चाहियो भन्ने उनीहरुको प्रमुख माग छ ।

 यसै विषय उल्लेख छ फ्लेक्समा । फ्लेक्सको अलि वर बाँकेका १६ जनाको समूह अनिश्चितकालीन धर्ना तथा रिले अनसनमा छ । सँगै जोडिएको सडकमा प्रहरीको भ्यान तयारी अवस्थामा छ । केही जवान प्रहरी पनि देखिन्छन् सडकमा । 

यसै सडकमा प्रधानन्यायाधीशको बहिर्गमन, न्यायाधीश इजलाशमा नबसे राजीनामादेखि अध्यादेश र सरकारका कदमका उग्र विरोध हुन्छ । गाडीमा रहेको माइकले कर्कश आवाज निकाली रहेकै हुन्छ । बाजागाजादेखि शङ्खध्वनी पनि सुनिन्छ । तर, यी सबै चर्का आवाज र नाराले सँगै रहेको यस समूहको आवाज भने विलीन भइरहेको छ । 

सडकमा बेलाबेला प्रहरी तथा प्रदर्शनकारीबीच झडपसमेत हुन्छ । त्यसबेला यी धर्नामा रहेकाहरुलाई भने कहाँ जाउँ र कता भागौँ हुन्छ ।

बाँकेको रापले रापिएकालाई काठमाण्डौको ठिहीले सताएकै छ । समस्यामा रहेका उनीहरुलाई खुला आकास अनि भोको पेटले पोलेको छ । 

सम्पत्तिको लागि निर्मला कुर्मीको अपहरण, शरीर बन्धकपछि भएको हत्यामा सरकार उदासिन रहेपछि न्यायका लागि उहाँहरु नेपालगञ्जदेखि हिँडेरै काठमाण्डौसम्म आउनु भएको हो । 

यो एथलेटिक्समा उहाँहरुले २० दिन लगाएर ५ सय बीस किलोमिटर पैदल यात्रा गर्नुभयो । गोडामा उठेका फोका, घाउ अनि घाउमाथिको मल्हमपट्टीको यहाँ हिसाब छैन । मल्हमपट्टी  लगाएर थोरै मत्थर भएको अघिल्लो घाउमा फेरि पछिल्ला रिले अनसनका दिन थपिँदा घाउ बल्झिने चिन्ताले सताएको छ उहाँहरुलाई । 

‘दुई महिलाको हत्या भएको घटना सम्बन्धमा छानबिन तथा दोषीमाथि कारबाहीका लागि हामीले बाँकेको सीडीओ अफिसमा पनि ९ दिन धर्ना दियौँ । तर, न्याय नपाएपछि यहाँ आएका हौँ’ हातमा प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो भएको ‘कि न्याय देव सरकार । कि प्राण लेव सरकार’ भन्ने पर्चा देखाउँदै राजन सेखले भन्नुभयो । 

देश गणतन्त्र तथा सङ्घीयतामा गइसकेपछि गाउँ गाउँमा सिंहदरबार भन्ने नारा एकदमै घन्काइयो । तर, नागरिक भने न्याय माग्न दूरदराजबाट फेरि सिंहदरबार नै आउनु परेको छ । सिंहदरबार अगाडि लम्पसार पर्दा पनि नागरिकले न्याय पाउन सकेका छैनन् । 

‘गाउँ गाउँमे कुछ नहीँ पहुँच गवा है । खाली मुंहसे कहावत है बस । कुछ नहीं गवा है । ना कोही पुछे जावत है । ना कुछ ना कुछ । खाली सरकार उल्लु बनावत है गाउँ गाउँमे सिंहदरबार पहुँच गया है । कुछ नहीँ भवा है’ झुस्स दारी र खोबिल्टो परेको गालाबीचबाट आक्रोशित स्वरमा सेखले भन्नुभयो । 

‘देशमा एक सय ५० पार्टी छ भन्छन् तर, यहाँ भने कुनै पार्टी आएका छैनन् । खाने, बस्ने व्यवस्था नागरिक समाजले गरेको छ’ यसो भन्दै गर्दा सेखको खिन्नता झल्किन्थ्यो । 

‘दुईके महिलाको हत्या भयो वहीके न्याय माग्नको लागि’, अनसनरत शहिना खातुन भन्नुहुन्छ, ‘बाँकेमे न्याय नहीँ मिला है । बाँकेसे बीस दिन पैदल यात्रा करके भुखन, प्यासन मरकर तब यहाँ आगर त ।’ 
यहाँ आएर अनशन बसेपछि उहाँहरुलाई सरकारले न्याय दिने तथा दोषीमाथि कारबाही गर्ने आश्वासन पनि दिएको थियो । तर, सरकारले वाचा पूरा गरेन । 

‘तब सरकारने लिखतमे दिए थे हम लोगोँ को न्याय दिया जइ। दोषी लागोको पकडकर अन्दर कराजइ’ खातुनले टाउकोको सल सम्हाल्दै भन्नुभयो, ‘सरकारके बात मानकर हम वापस चलाजइ । लेकिन न्याय नहीँ दिया । हम लोग फिर आवेका है ।’

निर्मला कुर्मी तथा नकुन्नी धोवीको हत्या सन्दर्भमा सरकारले छानबिन समिति समेत गठन गरेको थियो । समितिले आफ्नो प्रतिवेदन सरकारलाई पेस पनि गरिसकेको छ । तर, सरकारले प्रतिवेदन सार्वजनिक पनि गरेन अनि प्रतिवेदनमा दोषी उल्लेख गरिएका व्यक्तिलाई कारबाहीको साटो झन् जमानीमा छोडिदियो भन्ने अनसनकर्मीको आरोप छ । 

यसै घटनालाई लिएर अभियानकर्मी रुबी खान अनसनमा बस्नु भएको थियो । त्यसबेला खान र सरकारबीच छानबिन समिति बनाउने र दोषीमाथि कारबाही हुने भन्ने सम्झौता भएको थियो । 

आन्दोलनकारीलाई सहयोग गर्न बसिरहनु भएका बृहत् नागरिक अन्दोलनका नीर्घ नवीन भन्नुहुन्छ ‘रुबी खान र सरकारबीच भएको सम्झौताको अक्षरशः पालना भएन । त्यसकारण पीडितहरु सहित उहाँहरु आन्दोलनको लागि यहाँ आउनु भएको छ । उहाँहरुलाई सहयोग गर्न हामी यहाँ सहभागी भएका हौँ।’

आन्दोलनमा सहभागी भएकाहरुलाई विभिन्न वकिल, नेता तथा खानपिन, बसाइँ र अन्य आर्थिक पक्षमा बृहत् नागरिक आन्दोलनले सहयोग गर्दै आइरहेको छ । ‘उहाँहरुको लागि यो नयाँ भूगोल हो । त्यसकारण कतै जानेदेखि बस्नेसम्मका लागि हामीले सहयोग गर्दै आएका छौँ’ नवीनले भन्नुभयो । 

सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन अगाडि बढाउँछौँ भनेर सरकारले भनेको छ । तर, पीडितको ठोस माग भने सबै प्रमाणहरु नष्ट भइसके अब त्यहाँको प्रहरी प्रशासनले सक्दैन ।त्यसकारण सीआईबी नखटाइ र नयाँ ढङ्गले अनुसन्धान नगरी पीडितले न्याय पाउँदैनन् भन्ने आन्दोलनमा सहभागीको माग रहेको पनि नवीनले बताउनु भयो । 

गृह मन्त्रालयको उप–सचिवको नेतृत्वमा आन्दोलनकारीका तर्फबाट एक जना प्रतिनिधिसमेत रहेको छानबिन समितिले प्रतिवेदन तयार गरिसकेको छ । तर, छानबिन समितिले दोषी ठहर्याएका व्यक्तिलाई कारबाही नगरि सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छोडेकोले अभियुक्तमाथि कारबाहीको माग गर्दै अहिले मण्डलामा अनसन चलिरहेको अवस्था छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस घटनाका सन्दर्भमा आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गरिसकेकाले यो सरकारको प्राथमिकतामा परेको बताउनु भयो । 

‘यो विषय त्यहीँ समाधान हुनुपर्ने विषय थियो । तर, उहाँहरु यहाँसम्म आइपुग्नु दुःखद कुरा हो’, शर्माले भन्नुभयो, ‘अहिले स्थानीय निकाय छ, स्थानीय सरकार छ । यो विषय त्यहीँ हल हुनुपर्नेमा केन्द्रसम्म आइपुग्नु दुःखद रहेको तथा चाँडै नै सरकारले निकास निकाल्नेछ।’

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया