कांग्रेस महाधिवेशन : के भन्छन् महाधिवेशन प्रतिनिधि ?

 मंसिर २६, २०७८ आइतबार १३:५५:३५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । देशभरिका महाधिवेशन प्रतिनिधिहरू नयाँ नेतृत्व छान्नका लागि काठमाण्डौमा भेला भएका छन् । 

नयाँ नेतृत्वसँगै पार्टीमा पुराना, अभिभावक र पाका पुस्ताले विश्राम लिनुपर्ने र नयाँ पुस्तामा नेतृत्व पुस्तान्तरण गर्नुपर्ने आवाज पनि जोडले उठिरहेको छ । पाका पुस्ताले आफ्ना अनुभव र ज्ञान नयाँ पुस्तालाई दिने र नयाँ पुस्ताले आफ्नो ऊर्जा देश तथा पार्टीको विस्तारमा लगाउनुपर्ने आवाज जोडले उठिरहेको छ । 

महाधिवेशनमा नयाँ नेतृत्व चुन्नका लागि भेला भएका प्रतिनिधि के भन्छन् त ?

नारायण बहादुर कार्की

केन्द्रीय महाधिवेशन प्रतिनिधि, भोजपुर 

नेपाल विद्यार्थी सङ्घ मोरङबाट राजनीति गर्दै आउँदा मेरो यो पार्टीमा ५४ वर्ष पूरा भइसकेको छ । मैले धेरै लामो समय नेपाली कांग्रेसको महाधिवेशन हेर्ने मौका पाएँ । तर, अहिले जस्तो कहिले पनि थिएन । अर्थात अहिले जस्तो गुटबन्दी कहिले पनि देखिएको थिएन । 

यदि असल मान्छे छ र गुटमा परेन भने ऊ खराब । तर, चोर, डाँका नै छ भने पनि गुटमा पर्यो भने त्यो असल । यस्तो प्रवृत्ति पार्टीमा झाङ्गियो, त्यसकारण सही कार्यकर्ताको मूल्याङ्कन पार्टीमा हुन सकेको छैन । कांग्रेसको भविष्यसँग पनि यो जोडिएकाले राम्रो संस्कार सिकाउँदै लग्यो भने मात्रै पार्टी पनि राम्रो तरिकाले फस्टाउने हो । अन्यथा धेरै गाह्रो हुन्छ । 

कार्यकर्ताको अपेक्षा पार्टी गुट परस्त नहोस्, सही मूल्याङ्कन होस् र जिल्ला जिल्लामा एउटा मूल्याङ्कन समिति होस् भन्ने छ । प्रदेशमा पनि यस पटक चुनाव भयो । त्यहाँ पनि गुट बन्यो । त्यहाँ पनि मूल्याङ्कन समिति बनोस् । सही कार्यकर्ता र सङ्घर्ष गरेका मान्छे हरुको मूल्याङ्कन होस् । त्यो सजिलै गर्न सकिन्छ । 

हुन त पार्टीमा आज आयो भोलि जाने मान्छेहरु पनि हुन्छन् । तर, जसले जिन्दगी गाले, जवानी दिए, भएको सम्पत्ति लगानी गरे ती मान्छेहरु निरास हुने अवस्था भएकोले मूल्याङ्कन प्रविधि चाहिँ राम्रो बन्नुपर्छ जस्तो लाग्छ । 

भोजपुर जिल्लाको कुरा गर्दा त्यहाँ सङ्घर्ष गरेको मान्छे को हो ? पक्राउ खाएको मान्छे को हो ? पार्टीमा निरन्तरता दिएको छ कि छैन ? योग्य हो कि होइन ? जिल्ला जिल्लामा यसरी निष्पक्ष भएर छानबिन गर्ने हो भने चामलबाट कनिका निकालेको जस्तो सजिलै निस्कन्छ । 

मैले नेतृत्वमा पुग्ने धेरै अवसर छोडेको मान्छे हो । नेतृत्वमा पुग्दा मात्र सही मान्छे हुन्छ भन्ने धारणा नै गलत हो । गणेशमान सिंहले प्रधानमन्त्रीको कुर्सीलाई लात हानेर फाल्नुभयो । तर, उहाँ सानो मान्छे हुनु भएन । महान मान्छे हुनुभयो । नाराले राष्ट्रियता हुने होइन । त्यो भनेको भावना र क्रियाकलापले हुने कुरा हो । हरेक मान्छेले आफूलाई असल भन्छ तर असल र खराब नागरिकले निर्णय गर्ने कुरा हो । 

नेतृत्व चयनको समय भएको हुनाले मैले त्यो कुरो मनमा लिएको छु । साथीहरुसँग कुरो पनि गरेको छु । तर, पावर, पैसा र पाखुराको राजनीति हुने बेलामा निष्‍ठाको राजनीति भने गौण हुने रहेछ । 

कविता विष्ट 

बडिमालिका नगर उप–प्रमुख

केन्द्रीय महाधिवेशन प्रतिनिधि, बाजुरा 

अन्य राजनीतिक पार्टीको महाधिवेशन सकिएर नेतृत्व चयन गरिसक्नु भएको छ । नेपाली कांग्रेस भने टोल, वडा, जिल्ला, प्रदेश हुँदै केन्द्रको नेतृत्व चयन गर्ने पूर्व प्रक्रियामा छौँ हामी । 

नेपाली कांग्रेसको विधान, नीति नियम राम्रो छ । हाम्रो पार्टीमा चाहेको नेतृत्व, चाहेको नेता चुन्ने अवसर पाएका छौँ। अन्य पार्टीको तुलनामा कांग्रेसले अवलम्बन गरेको प्रक्रिया राम्रो र जायज लाग्छ मलाई । यो मेरो मात्र नभएर समग्र बाजुरावासी युवाको आवाज हो । 

अहिले हाम्रो पार्टी जुन विधि, विधान अनुसार चलेको छ त्यो एकदम जायज छ । अहिले वडा हुँदै केन्द्रको नेतृत्व छान्दै गर्दा भर्खरै क्रियाशील लिएकाको पनि त्यही अनुसारको मूल्याङ्कन, लामो समयसम्म सङ्गठन र पार्टी निर्माणमा लागेको र भर्खरै आएकाको उही मूल्याङ्कन गर्दा भएन भन्ने हो । 

विधि र विधान राम्रो छ नेपाली कांग्रेसको । त्यसकारण पनि हामी यो पार्टीमा लागेका छौँ । क्रियाशीलको विवाद विभिन्न जिल्लामा देखिएको थियो । अझ कतिपय जिल्लामा त बाँकी नै छ होला । बाजुरामा भने वडा हुँदै प्रदेशको अधिवेशन हामीले सकाएका छौँ । 

जुन १६ जिल्लामा अहिले सभापति चयन हुन सकेको छैन जसका कारण यस १४ औँ महाधिवेशनमा उहाँहरुले भाग लिन सक्नु भएको छैन । जुन हाम्रा लागि दुःखद कुरा हो । नेतृत्वमा जो आए पनि यो गुट, उपगुटको अन्त्य हुनुपर्छ भन्ने मलाई लागेको छ । तर, जुनसुकै पार्टीलाई सक्रिय बनाउन पनि गुट, उपगुट पनि चाहिन्छ । 

तर, गुट भित्रका नेताज्यूले राम्रो मान्छेलाई पछि पार्न मिल्छ त ? त्यस्तो हुँदैन । त्यसकारण यो गुट उपगुटले भोलि आउने मान्छे आएन भने वा जसले नेपाली कांग्रेस भनेर लाग्यो, त्याग गर्यो, बलिदान गर्यो तर, यति हुँदा हुँदै पनि गुटका कारणले त्यस्ता मान्छे पछि नपरोस् भन्न चाहन्छौँ। 

देशलाई हाँक्ने युवा हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि ७७ जिल्लाबाट प्रतिनिधित्व गर्ने हामी प्रतिनिधिले सभ्य र भव्य रुपमा सम्पन्न गर्छाैँ । नेतृत्व चलायमान गर्नका लागि, सङ्गठन विस्तारका लागि र पार्टी राम्रोसँग चलाउँछौँ भन्नेलाई हामी चयन गर्नेछौँ। साथै गुट, उपगुटको अन्त्य होस भन्न चाहन्छौँ हामी ।  

              

अमर रेग्मी 
महाधिवेशन महासमिति सदस्य सिरहा

हाम्रो एउटै उद्देश्य छ पार्टीको सुदृढीकरण, पार्टीले गति लेओस् तथा पार्टीका सबै सदस्यलाई लिएर हिँड्न सक्ने नेतृत्व हुनुपर्यो । हाम्रो माग, हाम्रो चाहना, हाम्रो विचार यही हो । 

कुनै गुटको कुनै खेमा नबनेर नेपाली कांग्रेस बनौँ भन्ने हाम्रो चाहना हो । नेता वीपी कोइरालाको चाहना पनि पार्टीलाई महान बनाउनु, पार्टीमा देश हाँक्न सक्ने नेतृत्व दिनु र राष्ट्रको समान उन्नति गराउनेलाई विकास गराउनु भन्ने उहाँको महान उद्देश्य भएको हुनाले हामी पनि त्यही उद्देश्य र लक्ष्य लिएर अगाडि बढेका छौँ। 

हामी चाहन्छौँ यस १४ औँ महाधिवेशनले सवल नेतृत्व देओस् । हामी त्यसकै चाहनामा छौँ। अहिले पूर्ण रुपमा मनोनयन नभइसकेको हुनाले कसको नेतृत्व आए राम्रो हुन्थ्यो भन्न हामीलाई गाह्रो छ । 

जिल्लामा पार्टीको समस्या छैन, गुटको समस्या छ । सिरहा जिल्लाले यसपटक नमुना पेस गरेको छ । वडादेखि जिल्ला तहका सम्पूर्ण पदाधिकारी चयन सर्वसम्मत तरिकाले भएको छ । 

हामीले कुनै गुट हेरेनौँ । संस्थापन पक्ष तथा इतर नभनेर केन्द्रसम्म एक भएर आयौँ । अब हाम्रो जिल्लालाई नेतृत्व दिने केन्द्रले रोक्न सक्नु पर्यो हामीहरू गुट बन्नलाई । हाम्रो चाहना त्यही छ । 

अहिलेसम्म हेर्दा त पार्टीमा मिलाएर लाने तथा जाने वातावरण देखिएको छैन । तर, चुनावको वातावरण छ । साथीहरुले पर्चा दिइरहनु भएको छ । को राम्रो, को नराम्रो छुट्याउनलाई समय लाग्छ । मतदान गर्न नै एक घण्टा लाग्छ होला । तर, अहिलेसम्म वातावरण भने सहज छ । नेता तथा कार्यकर्तामा मैत्रीपूर्ण सम्बन्ध छ । 

कलवलगुडीमा गरेको महाधिवेशन जस्तै सहमति र सहकार्य गरेर एउटा उम्मेदवारलाई निर्वाचित गरेर जानसके पार्टीलाई नयाँ उर्जा मिल्छ । 

नवौँ महाधिवेशनदेखि लगातार प्रतिनिधित्व गर्दै आएको म यति धेरै नयाँ अनुहार देखेको छु कि म आफैँ पनि एक्लै बसिरहेको थिएँ । युवाको उर्जा र जागरणले पक्कै पनि पार्टीमा नयाँ वातावरण ल्याउँछ । 

शंकर तिवारी 
महाधिवेशन प्रतिनिधि, नवलपुर

एउटा लोकतान्त्रिक पार्टीको विधिवत शैलीबाट नेतृत्व चयनको अपेक्षा गर्न सकिन्छ । सहमति नै भइहाल्छ भन्ने अवस्था छैन कांग्रेसमा । 

शायद २०४६ सालपछि कांग्रेसको नेतृत्व सर्वसम्मत भएको छैन । जहिले पनि निर्वाचन भएको छ । २०४६ पछि निर्वाचन र प्रतिस्पर्धा भएको छ । कहिले एकदमै नजिक त कहिले विशाल अन्तर देखिने गरेको छ विजयको मतान्तरमा । 

वीपी कोइराला नेपाली कांग्रेस पार्टीको दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि भूदेव राईले प्रजातान्त्रिक परिपाटी रहनु ‍पर्छ भनेर त्यसबेला चुनाव उठ्नु भएको थियो । त्यसकारण लोकतन्त्रको सुन्दरता मान्नु पर्छ यसलाई । 

अबको नेतृत्व एक प्रकारले हेर्दा पुरानै नेतृत्व आउँछ । पुरानै सोच रहेको नेतृत्व आउँदा युवाहरुको दवावलाई सामना गर्दै पुरानै शैलीमा चलाउने छुट उनीहरुलाई छैन । 

बाह्रौँ, तेह्रौँ र चौधौँ अधिवेशनमा कांग्रेसमा प्रष्ट सङ्केत देखिएको छ कांग्रेसमा २०६३ पछिको पुस्ता नयाँ उभार सहित, नयाँ ज्वारभाटासहित आइरहेको छ । र, त्यसको अन्तिम धक्का अहिले जतिले नेतृत्व लियो लियो त्यसपछि अर्को मौका छैन । 

त्यो नयाँ पुस्ताले उभार यस पटक ५१ प्रतिशत नपुगे अर्को पटकको महाधिवेशनमा अवश्य पुग्छ । यो पार्टी विशाल रुपमा परिवर्तनको सङ्घारमा छ । शेरबहादुर देउवा, केपी ओली वा अरुको तुलनामा उत्कृष्ट हो । तर, कांग्रेसको आन्तरिक अवस्था हेर्दा नागरिक पनि शेरबहादुर देउवासँग खुशी छैनन् । 

उहाँ पुरातन सोचबाट आउनु भएको हो । मतदाताको सोच नयाँ जनादेश लिएर आउने नयाँ नेतृत्वको खोजी भइरहेको छ । त्यसमा सबैको ध्यान गइरहेको छ । शायद महाधिवेशनमा प्रतिनिधिले यो मागको सम्बोधन गर्नुहुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया