१२ देखि १७ वर्षसम्मका बालबालिकालाई ढुक्क भएर मोडर्ना खोप लगाउन आग्रह

 पुस ४, २०७८ आइतबार ७:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ ।

कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन आवश्यक नभएको मन्त्रालयको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगर्न मन्त्रालयको आग्रह छ । अभिभावकको अनुमति पर्खदा खोप अभियानमा असर पर्न सक्ने र विद्यार्थी छुट्न सक्ने सम्भावना रहेकाले तोकिएको उमेर पुगेका सबै विद्यार्थीलाई खोप दिन मन्त्रालयको आग्रह छ ।

आजदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ । जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाले निर्णय गरेअनुसार खोप केन्द्र तोकेर खोप लगाइनेछ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार यसअघि फाइजर खोप अभियान सञ्चालन भएका काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुनेछ ।

स्वास्थ्य मन्त्रालयले १२ देखि १७ वर्षसम्मका झण्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया