पाँच महिनामै एक खर्ब रुपैयाँभन्दा धेरैको निर्यात, व्यापार घाटा चुलिँदो, ३३ अर्बको खाद्यान्न आयात

 पुस ८, २०७८ बिहिबार १४:३३:१२ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको छ । यो गएकाे वर्षको पाँच महिनाको तुलनामा एक सय पाँच दशमलव ६१ प्रतिशतले धेरै हो । गएकाे वर्षको पहिलो पाँच महिनामा नेपालले ५० अर्ब पाँच करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

पाँच महिनामै एक खर्ब रुपैयाँको सामग्री निर्यात हुनुलाई वैदेशिक व्यापारको क्षेत्रमा ठूलो सफलताको रूपमा हेरिएको छ । गएको आर्थिक वर्ष २०७७/७८ मा नेपालले एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको थियो । सरकारले २०६४ सालमा बनाएको तीन वर्षे अन्तरिम योजनामा आर्थिक वर्ष २०६६/६७ भित्र नेपालको निर्यात व्यापारलाई वार्षिक एक खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेकोमा पूरा नभएपछि आर्थिक वर्ष २०६९/७० मा एक खर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य लिएको थियो । 

तर सरकारको लक्ष्य गएकाे वर्ष मात्रै पूरा भएको थियो । यो वर्ष भने पाँच महिनामै नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको हो । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ३० अर्ब रुपैयाँको सोयाबिन तेल, २७ अर्ब रुपैयाँको पाम तेल, दुई अर्ब रुपैयाँको सनफ्लावर तेल, दुई अर्ब रुपैयाँको अलैँचीलगायतका वस्तु निर्यात गरेको छ । यस्तै चिया, कफी, पस्मिना, जडीबुटी, छुर्पीलगायतका वस्तु धेरै निर्यात हुने गरेका छन् । 

व्यापार घाटा पाँच महिनामै झन्डै साढे सात खर्ब रुपैयाँ

पाँच महिनामा नेपालको व्यापार घाटा सात खर्ब रुपैयाँ नाघेको छ । नेपालले आठ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको आयात गरेकोमा एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँको निर्यात गरेको छ । साउनदेखि मङ्सिरसम्म नेपालको व्यापार घाटा सात खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यो गएकाे वर्षको भन्दा ५४ दशमलव ५० प्रतिशतले धेरै हो । पाँच महिनामा नेपालको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले बढेर नौ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । 

३३ अर्ब रुपैयाँको खाद्यान्न आयात

हरेक वर्ष सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न कार्यक्रम ल्याए पनि हरिया सागपात, फलफूललगायतका खाद्यान्न आयात भने बढिरहेको छ । पाँच महिनामा ३३ अर्ब ९४ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । यसमा १९ अर्ब ५७ करोड रुपैयाँको तरकारी, १० अर्ब रुपैयाँको फलफूल, चार अर्ब रुपैयाँको चिया कफी, एक अर्ब रुपैयाँको जिउँदाे पशु, ६८ करोड रुपैयाँको माछा आयात भएको छ । ६९ अर्ब ८४ करोड रुपैयाँको घिउ तेल, बाेसाे र पशुजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । खाद्यान्न उद्योगका लागि १२ अर्ब रुपैयाँका सामान आयात भएका छन् । 

धेरै आयात हुने वस्तुको सूचीमा एक खर्ब २२ अर्ब रुपैयाँको खनिजजन्य वस्तु, ३२ अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ, १२ अर्ब रुपैयाँको लत्ता कपडा, ७० अर्ब रुपैयाँको फलाम र स्टिल, ६३ अर्ब रुपैयाँको मेशिनरी सामान, ५७ अर्ब रुपैयाँको विद्युतीय सामान, ५३ अर्ब ४५ करोड रुपैयाँका गाडी आयात भएका छन् । 

अन्तिम अपडेट: चैत ८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया