तोरी फुलेर पहेँलपुर म्याग्दीको रत्नेचौर (फोटो फिचर)

 माघ ८, २०७८ शनिबार १७:५२:५५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – तोरीको फूलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन् । बारीको छेउकुना तथा सडकको दायाँ बायाँ मानिसहरु भुलिरहेका छन् । म्याग्दीको रत्नेचौर अहिले पहेँलपुर भएको छ । कठ्याङ्ग्रिने माघको चिसो मौसममा बारीभरि फुलेको तोरीले त्यहाँ जाने जो कोहीको थकान भुलाइदिन्छ । चिसो छल्न र थकान मेटाउन अचेल आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ रत्नेचौरमा ।

उत्तरतर्फ फर्किएर हेर्दा मनोरम हिमश्रृङ्खला देखिन्छ । पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा पँहेलै तोरी फुलेको छ । गाउँको बीचमा पर्ने बेनी–बागलुुङ सडकखण्ड अनर्तर्गत कालोपत्रे गरिएको चिल्लो सडक । सडकको दायाँ र बायाँ भू–भागमा परम्परागत तथा आधुनिक घरहरु ठडिएका छन् । तोरी फूलेर पहेँलै बनेको रत्नेचौरको तोरी बारीको बयान शब्दमा जति गरे पनि कमै पर्छ ।

समुन्द्री सतहदेखि ७ सय ९२ मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–१ नम्बर वडामा पर्ने रत्नेचौर गाउँकाे सुन्दरता अहिले चुलिएकाे छ । तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि रत्नेचौर निकै सुन्दर, आकर्षक र मनमोहक देखिएको छ । रत्नेचौरबाट संसारको सातौं अग्लो ८ हजार १ सय ६७ मिटर उचाइको चुचुरो धौलागिरि हिमाल देखिन्छ ।

तोरी फूलेर पहेँलै बनेको रत्नेचौरमा खेतको बीचमा रहेको सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले थप आकर्षण थपेको छ । रत्नेचौर–ज्यामरुककोट–भकिम्ली हुँदै बराङ्जा पुग्ने सडकखण्डको १८ सय मिटर सडकमा सांसद भूपेन्द्रबहादुर थापाको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०७५/०७६ को चार करोडको बजेटबाट कालोपत्रे र ढलान गरिएको हो ।

अहिले तोरी फूलेर पहेँलपुर बनेपछि रत्नेचौरको तोरी बारीमा पुगेर फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरुको भीड बढ्दै गएको छ । म्याग्दी जिल्लाको विभिन्न स्थानसहित बागलुङको कुँडुले, उपल्लाचौर, पर्वतको धाईरिङ, मिलनचोकलगायत ठाउँबाट पर्यटकहरु पुग्ने गरेका छन् ।

रत्नेचौरको तोरी बारीमा बिदाको दिन र शनिबार झण्डै २ सय जना पर्यटकहरु आउने गरेको स्थानीयवासी बताउँछन् । तोरी फूलेपछि स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु रत्नेचौर पुगेर तोरी बारीमा रमाउने गर्दछन् । उनीहरु त्यहाँ पुगेर फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटिक बनाउँछन् । तोरी फूलेको कारण कालोपत्रे गरेको चिल्लो सडक समेत ‘भाइरल रोड’ बनेको छ । वरिपरीको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रबर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको छ ।

तोरी फूलेर पहेँलै भएपछि साथीहरुसँग रत्नेचौरको भ्रमण गर्न पाउँदा आफूलाई आनन्दको अनुभूति मिलेको आन्तरिक पर्यटक जमुना आचार्यले अनुभव सुनाउनुभयो ।

‘फेसबुकमा फोटोहरु हेर्दा सधैँ आइरहेको जस्तो ठाउँ लागेको थियो । तर यहाँ आउँदा त साँच्चै स्वर्गानुभूति हुने, वरिपरी पहेँलै तोरी फुल्या छ । सरर पिचरोड अनि त्यसको बीच–बीचमा आलु पनि लगाइएको रहेछ । एकदमै प्रशंसायोग्य छ', उहाँले भन्नुभयो, ' यसलाई अझ प्याकेजमै तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमको बेलामा प्रबर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रबर्द्धन हुने र व्यापक रुपमा पर्यटकहरुलाई पनि भित्र्याउन सकिन्छ ।’

रत्नेचौर पुगेका पर्यटकले फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने र टिकटकमा भिडियो बनाएपछि तोरीबारी तथा पिचरोडसहित रत्नेचौरको गाउँ पनि भाइरल बनेको छ । बिदाको दिन र शनिबारको दिनमा धेरै पर्यटकहरु तोरी बारीमा फोटो खिच्न र रमाउन आउने गरेको रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयाे, 'फराकिलो र सम्म परेको फाँट, रत्नेचौर–कुडुँले जोड्ने निर्माणाधीन झोलुङ्गे पुल, खुलाचौर, खाने, बस्ने ठाउँ तथा पहेँलपुर तोरी फुलेका कारण धेरै पर्यटकहरु रत्नेचौरमा घुम्न आउने गरेका छन् ।'

रत्नेचौरमा पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो । मौरीपालन तथा मह उत्पादनका लागि उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रुपमा प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगमा फुलेको तोरीले गाउँको सुन्दरतामा निखार ल्याउने गरेको छ । मिलमा पिँधेर बनाइने तोरीको तेल तथा त्यसबाट निस्कने पिनालाई मानिसको कपालमा पर्ने चायाँ हटाउनका लागि पिनाले नुहाउने गरिन्छ ।

नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका गाउँमा पहेँलो रङको तोरी खेती हुने गरेको छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुने कृषि प्राविधिकहरु बताउँछन् । तेलहन बालीमा पर्ने तोरी ३ महिनामा पाक्दछ । समथर भू–भाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिने किसानको अनुभव छ । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया