स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बेनी अस्पतालमा ओपीडी सेवा बन्द

 माघ ९, २०७८ आइतबार २०:२८:४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आज (आइतवार) देखि ओपीडी सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमध्ये ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द गरिएको बेनी अस्पतालले जनाएको छ । 

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सेवा सञ्चालनमा असहज भएकाले आउँदो शुक्रवारसम्मका लागि ओपीडी सेवा बन्द गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो । गएकाे शुक्रवारकाे बैठकले इमरजेन्सी, इन्डोर, शल्यक्रिया र ल्याब सेवालाई निरन्तरता दिने र ओपीडी सेवा भने आजदेखि बन्द गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । 

बेनी अस्पतालमा ओपिडी सेवा बन्द भएपछि कोरोना भाइरस (कोभिड–१९) को पहिलो र दोस्रो लहरको समयमा यसअघि सञ्चालन गरेर बन्द गरिएको फिभर क्लिनिक आजदेखि फेरि सञ्चालन गरिएको छ । म्याग्दीमा आजसम्म एक सय ९४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जिल्लामा कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । 

यसैबीच कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएपछि म्याग्दीमा १० दिनका लागि शैक्षिक संस्था र तातोपानी कुन्ड तथा माघ महिनाभर धार्मिक स्थलहरू बन्द गरिएको छ ।

म्याग्दीमा अहिले दुई सय ८० वटा अक्सिजन सिलिन्डर मौज्दात रहेको बेनी अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार अहिलेसम्म ७९ हजार सात सय ४१ जनाले पहिलो मात्रा र ६० हजार एक सय ५१ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया