मुस्ताङ र म्याग्दीमा हिमपात : यातायात, बिजुली र हवाई सेवा बन्द (फोटो फिचर)

 माघ २१, २०७८ शुक्रबार १३:२१:५५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मुस्ताङमा फेरि हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण हिजो रातिदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । 

पाँच वटा गाउँपालिका रहेको जिल्लाको माथिल्लो क्षेत्रसहित सबै ठाउँमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । हिमपात भएपछि मुस्ताङका डाँडापाखा अहिले सेताम्मे बनेका छन् । वर्षा र हिमपातले तापक्रम घटेको हुँदा अत्यधिक चिसो भइरहेको स्थानीयको भनाइ छ । 

मुस्ताङमा यो सिजनको चौथो पटक भारी हिमपात भएको हो । हिमपातका कारण सडकमा हिउँ जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरुद्ध बनेको प्रजिअ शर्माले बताउनुभयो।

हिमपातले गर्दा सडक बन्द भएकाले म्याग्दीबाट मुस्ताङतर्फ गाडी नपठाउन आग्रह गरिएको उहाँले बताउनुभयो । सडकमा जमेको हिउँ पग्लिएपछि र मौसम खुलेपछि मात्रै यातायात सञ्चालन हुने जनाइएको छ। मुस्ताङमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । 

हिमपात र हावाहुरीले बिजुलीको तार चुडाएपछि मुस्ताङमा हिजो रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको निलगिरि उपभोक्ता सहकारीको कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो । उहाँले अहिले अवरुद्ध विद्युतकाे मर्मतकार्य सुरु गरिएको हुँदा थासाङ गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाबाहेक अन्य सबै ठाउँमा विद्युत् अवरुद्ध भएको जानकारी दिनुभयो ।

मुस्ताङमा निलगिरि उपभोक्ता सहकारीमार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ । यसैबीच वर्षा, हिमपात र कोभिड–१९ सङ्क्रमण जोखिमको कारण यात्रु नपाउँदा जोमसोम–पोखरा विमानस्थलमा हवाई उडान पनि अवरुद्ध बनेको प्रजिअ शर्माको भनाइ छ । 


    
यसैबीच वर्षासँगै म्याग्दीको माथिल्लो क्षेत्रमा पनि भारी हिमपात भएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मल्कबाङमा हिमपात भएको छ भने हिमपातका कारण गुर्जा जाने पैदलमार्ग अवरुद्ध बनेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल घोरेपानी, पुनहिल, महरेडाँडा, खोप्रालेकलगायत क्षेत्रमा हिमपात भएको पर्यटक प्रहरी कार्यालय घोरेपानीका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमराज गौलीले बताउनुभयो । 


    
गएरातिदेखि परेको हिमपातका कारण घोरेपानी क्षेत्रमा मात्रै झण्डै दुई फिटसम्म हिउँ जमेको छ भने अहिले पनि पातलो हिमपात भइरहेको छ । मालिकाको निस्कोट, रुम, ओखरबोट, देवीस्थान, मङ्गलाको टोड्के, झाँक्रीपानी र किमचौर, रघुगङ्गाको कुइनेमङ्गले, पाखापानी, चिमखोला, रुइसे तथा बेनी नगरपालिकाको गाजने र भकिम्ली क्षेत्रमा पनि हिमपात भएको छ ।  

वर्षा र हिमपातले अत्यधिक चिसो बढेपछि नागरिकहरु घरभित्रै आगो, हिटर तथा कोइला बालेर बस्न बाध्य भएका छन् । वर्षा र हिमपातले खाद्यबाली राम्रो हुने भएपछि किसानहरु भने उत्साहित बनेका छन् । 


 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया