लुक्ला विमानस्थलको हेलिप्याड एक महिनाभित्रमा सञ्चालनमा आउने

 माघ २६, २०७८ बुधबार २०:८:५१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा पर्ने सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लाको नयाँ हेलिप्याड एक महिनाभित्रमा सञ्चालन आउने भएको छ । विमानस्थलको धावनमार्ग नजिकै निर्माण सम्पन्न हेलिप्याड आउँदाे मार्च अर्थात् फागुन दाेस्राे हप्ताबाट सञ्चालन गरिने नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख द्वारिका अछामीका अनुसार २०७६ जेठ १ गतेदेखि निर्माण सुरु भएको हेलिप्याडको भौतिक संरचना निर्माण काम गएकाे मङ्सिरमा सकिएको थियो । तर गएकाे पुसमा प्राधिकरणको केन्द्रीय कार्यालयबाट आएका इन्जिनियर बाबुराम पौडेल नेतृत्वको पाँच सदस्यीय वरिष्ठ सुरक्षा मूल्याङ्कन टोलीले केही प्राविधिक कुरा अपुग भएको बताएकाे थियाे । 

टोलीले देखाएकाे कमजाेरीबारे केन्द्रीय कार्यालयले लुक्ला विमानस्थललाई पत्रचार गरेपछि समस्या समाधान गरी आउँदाे सिजन (मार्च) देखि हेलिप्याड सञ्चालनमा आउने विमानस्थल प्रमुख अछामीले बताउनुभयो । कान्छाराम कन्ट्रक्शन प्रा.लि.ले प्राधिकरणको ३२ करोड रुपैयाँको लागतमा निर्माण गरेको याे हेलिप्याड झन्डै १२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।  

एकै पटक आठ वटासम्म हेलिकप्टर बस्न मिल्ने याे हेलिप्याड सञ्चालनपछि विमानस्थलमा ट्राफिक जाम हुने समस्या हट्ने नागरिक उड्यायन प्राधिकरण लुक्लाले जनाएको छ । नेपालकै व्यस्त विमानस्थलमध्ये एक लुक्ला विमानस्थलमा सिजनको समयमा दैनिक एक सय पटकभन्दा बढी हवाई उडान तथा अवतरण हुने गरेको छ ।

२०७६ वैशाख १ गते लुक्ला विमानस्थलबाट रामेछाप विमानस्थल उडेको समिट एअरको जहाज धावनमार्गबाट चिप्लिएर दाहिनेतर्फ मोडिँदा धावनमार्ग नजिकै पार्किङ गरिएको हेलिकप्टरमा ठोक्किएको थियो । त्याे दुर्घटनामा तीन जनाको ज्यान गएको थियो । त्यसलगत्तै प्राधिकरणले गठन गरेको छानबिन समितिले विमानस्थलको धावनमार्ग नजिकै हेलिकप्टर रोक्न नहुने निष्कर्ष निकालेको थियो । त्यहीअनुसार धावनमार्गको दाहिनेतर्फ केही टाढा रहेको जमिनमा हेलिप्याड बनाउने निष्कर्षमा प्राधिकरण पुगेको थियाे । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया