सोलु करिडोर प्रसारण लाइन पर्सिदेखि सञ्चालनमा आउने

 माघ २९, २०७८ शनिबार ९:६:४७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलु कोरिडोर १३२ केभी प्रसारण लाइन आउँदाे सोमवार (पर्सि)बाट सञ्चालनमा आउने भएको छ । परीक्षण प्रसारणको क्रममा कुनै अवरोध नभएकाले फागुन २ गतेबाट सञ्चालन गर्ने तयारी भइरहेको आयोजना प्रमुख जर्नादन गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार वन तथा वातावरण मन्त्रालयबाट पछिल्लो ४ वर्षमा बढेका रुख बिरुवा कटानको स्वीकृति आउन समय लाग्ने देखिएपछि हाँगाबिँगा कटान गरेरै भए पनि प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

जसका लागि अहिले रुख बिरुवाको हाँगा कटान गर्ने कार्य भइरहेको छ । आयोजनाको काम करिब १ महिना अगाडि नै सम्पन्न भए पनि रुट क्षेत्रमा रुख बिरुवाको सङ्ख्या बढेपछि पुनः कटानको स्वीकृति लिने प्रक्रिया अघि बढाउँदा समय लागेको आयोजनाले जनाएको छ ।

प्राधिकरणले वन क्षेत्रको रुटमा हुर्किएका र थपिएका रुख कटानका लागि गरेको प्रस्ताव मन्त्रालयमा पुगिसकेको छ । वन क्षेत्रमा हुर्किएका र बढेका ३ सय ६४ रुख बिरुवा कटानका लागि प्रस्ताव पेस गरिएको छ । सन् २०१६ को सेप्टेम्बर २५ देखि यो प्रसारण लाइनको निर्माण सुरु भएकाे थियाे ।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनको रुटमा ३ सय २ वटा टावर निर्माण भएका छन् । आयोजनाले यसअघि तिङलादेखि उदयपुरको घुर्मीसम्मको ४२ किलोमिटर खण्डको परीक्षण गरेको थियो । याे परीक्षण सफल भएपछि आज (शनिवार) बाँकी खण्ड उदयपुरदेखि सिरहासम्मको क्षेत्रमा परीक्षण गरिने जनाइएको छ ।

प्रसारण लाइन सञ्चालनमा आउनासाथ २३ दशमलव ५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत् प्रवाह हुनेछ । २०७६ सालकाे चैतदेखि सञ्चालनमा आएको आयोजना प्रसारण लाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।

हिउँदमा समस्या नभए पनि बर्खामा १७ मेगावाट विद्युत् खेर गइरहेको थियो । त्यही प्रसारण लाइनमा प्रवाह हुने गरी निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी, १९ मदशलव ८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको बेनीलगायत आयोजनाको काम भइरहेकोे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया