खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु, लुक्ला विमानस्थलमा उडान सङ्ख्या बढ्यो

 फागुन ८, २०७८ आइतबार २०:३१:३४ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेकाे खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । चिसो माैसममा सुनसान बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै चहलपहल बढ्न थालेको स्थानीयवासीले बताएका छन् । 

जाडो छल्न काठमाण्डौलगायत अन्य क्षेत्रमा गएका स्थानीयवासी पनि फागुन लागेसँगै धमाधम फर्किन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । अहिले खुम्बुमा विदेशी पर्यटकहरू समेत देखिन थालेको उहाँले बताउनुभयो । 

खुम्बु भित्रिनेको सङ्ख्या बढेसँगै केही दिनयता तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान र अवतरणको सङ्ख्यामा वृद्धि भएको छ । चिसो क्रमशः घट्दै गएसँगै पर्यटक तथा स्थानीयवासी फर्किन थालेकाले विमानस्थलमा यात्रुको चाप वृद्धि भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुक्लामा एक हप्तायता विमानमार्फत दैनिक एक सय जनाको हाराहारीमा यात्रु भित्रिने गरेका छन् । लुक्लाबाट फर्किने यात्रु शून्यप्रायः भए पनि भित्रिने यात्रुको सङ्ख्या बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । 

हिजाे शनिवार तारा एअरलाइन्सको तीन वटा र समिट एअरको दुई वटा उडानमार्फत झन्डै ८० जना यात्रु खुम्बु भित्रिएको प्राधिकरण प्रमुख अछामीले बताउनुभयो । भित्रिने यात्रुमा स्थानीयवासी र विदेशी तथा स्वदेशी पर्यटक रहेको उहाँले बताउनुभयो । खुम्बुमा वर्षमा दुई सिजन असोज, कात्तिक मङ्सिर र चैत्त, वैशाख, जेठलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया