हेलिकप्टर कम्पनीहरूले तिर्न बाँकी रकम उठाउन सगरमाथा निकुञ्जले समिति गठन गर्‍याे

 फागुन १०, २०७८ मंगलबार १८:२९:१७ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले हेलिकप्टरहरुले राजस्व तिर्न बाँकी रहेको विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । निकुञ्ज क्षेत्रमा उडान गर्ने हेलिकप्टरहरूले तोकिएको राजस्व छल्ने क्रम बढेसँगै निकुञ्जले छानबिन समिति गठन गरेको हो । कार्यालयले सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलको संयाेजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको सदस्यहरूमा चौरीखर्क रेन्जपोस्टका रेन्जर श्यामप्रकाश तामाङ र खुम्जुङ रेन्जपोस्टका रेन्जर खिमराज वली तथा जोरसल्ले पोस्टका सिनियर गेमस्काउट एसना राई र चौरीखर्क रेन्जपोस्टका गेमस्काउट भूपबहादुर थापा रहेका छन् । गठित समितिले यही फागुन १३ गतेभित्रमा अध्ययन र छानबिन गरी कार्यालयलाई प्रतिवेदन पेस गर्ने निकुञ्जले जनाएको छ ।

राजस्व असुल गर्न बाँकी रहेका हेलिकप्टर कम्पनीहरूको सूची तयार गर्ने, उनीहरूलाई टेलिफोन गरी ताकेता गर्ने लगायतका काम समितिको जिम्मेवारीमा पर्ने प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताउनुभयो । राष्ट्रिय निकुञ्जलाई हेलिकप्टर कम्पनीहरूले एक करोड रुपैयाँभन्दा बढी राजस्व तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा उडान गर्ने हेलिकप्टरलाई प्रति पटक तीन हजार रुपैयाँ र नेपाली पाइलटलाई एक सय रुपैयाँ, सार्क देशका पाइलटलाई एक हजार पाँच सय तथा अन्य देशकालाई तीन हजार रुपैयाँ शुल्क लिने गरेको छ । निकुञ्जले यसअघि हेलिकप्टर अवतरण शुल्क मात्रै लिँदै आएको भए पनि गएकाे वैशाख २८ गतेदेखि पाइलटबाट पनि शुल्क लिन थालेको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया