तुलसीपुर उपमहानगरमा 'स्मार्ट छोरी' कार्यक्रम, ३ सय ८१ छोरी सहभागी

 फागुन १३, २०७८ शुक्रबार १०:९:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको स्मार्ट छोरी कार्यक्रममा करिब ४ सय छोरीको खातामा पैसा जम्मा गरिएको छ ।

छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ २०७७ साउन १ गतेदेखि लागू भएको  स्मार्ट छोरी अहिलेसम्म झण्डै ३ सय ८१ जना छोरीको बैंकमा खातामा पैसा जम्मा गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले उनीहरुको बैंक खातामा पहिलो वर्ष एक वर्षमा मासिक एक सयका दरले वार्षिक एक हजार दुईसय रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको थियो । चालु आर्थिक वर्षमा दोब्बरले वृद्धि गरी वार्षिक दुईहजार चार सयका दरले जम्मा गर्दै आएको महिला बालबालिका तथा सामाजिक विकास शाखाकी राधा भट्टराईले जानकारी दिनुभयो ।

'बिहेवारी २० वर्ष पारि' भन्ने मूल नाराका साथ सञ्चालन भएको यो कार्यक्रम अन्तर्गत गएकाे आर्थिक वर्ष र चालुआर्थिक वर्षको फागुन पहिलो हप्तासम्म ३ सय ८१ जना छोरी बैंक खाता सञ्चालन भएको भट्टराईले बताउनुभयो । जसमा गएकाे आर्थिक वर्षमा १ सय ३४ जना र चालु आर्थिक वर्षको फागुन पहिलो हप्तासम्म २ सय ४७ जना गरी ३ सय ८१ जना स्मार्ट छोरीहरु यो कार्यक्रममा जोडिएका छन् । तुलसीपुर क्षेत्रका नागरिकहरुले यो सुविधा लिने गरेका छन् । २०७७ साउनदेखियता जन्मिएका छोरीहरुलाई मात्रै यो कार्यक्रममा समावेश गरिएको छ ।

बालविवाह न्यूनीकरण गर्ने उद्देश्यकासाथ यो कार्यक्रम लागू गरिएको हो । छोरीले कम उमेरमा विवाह गर्दा भविष्यमा विभिन्न खाले समस्या भोग्नु पर्ने हुँदा 'बिहेवारी २० वर्ष पारि' भन्ने नारा साथ स्मार्ट छोरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यस कार्यक्रममा समावेश हुनका लागि छोरी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता बनाइ सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर उपमहानगरपालिकामा गएर कागजपत्र पेस गर्नु पर्ने व्यवस्था गरिएको छ । छोरीको जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि, अभिभावक आमाबुबा दुवै जनाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, छोरीको पासपोर्ट साइजको फोटाे ४ प्रति, आमाबुबाको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि, अस्पताल वा स्वास्थ्य केन्द्रमा सुत्केरी भएको प्रमाणपत्रको प्रतिलिपि, गर्भवती तथा सुत्केरी जाँच गरेको कार्डको प्रतिलिपि पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

आवश्यक प्रक्रिया पूरा गरी बैंक खाता सञ्चालन गरेपछि उपमहानगरपालिकाले २० वर्ष नपुग्दासम्म प्रत्येक वर्ष मासिक तथा वार्षिक रुपमा रकम सम्बन्धित खातामा जम्मा गरिदिने उहाँले जानकारी दिनुभयो  । याे रकम २० वर्ष पुगेपछि मात्रै एकमुष्ट रुपमा निकाल्न पाइने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया