दाङको तुलसीपुर उपमहानगरमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी

 फागुन १२, २०७८ बिहिबार १३:४७:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले आउँदाे शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । जसका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले दिएको अधिकार प्रयोग गरी तुलसीपुर उपमहानगरपालिकाको पाठ्यक्रम तयार पार्ने काम अन्तिम चरणमा पुर्याएको नगरपालिकाले जनाएको छ ।

आउँदाे शैक्षिक सत्रदेखि लागू गर्ने गरी पाठ्यक्रम निर्माणको काम भइरहेको उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । यसका लागि प्रारम्भिक चरणमा सरोकारवालासँग छलफल गरी स्थानीय पाठ्यक्रमको आवश्यकता पहिचान गरिसकेको छ ।

पाठ्यक्रम निर्माणलाई व्यवस्थित बनाउन निर्देशक समिति र कार्यदल गठन गरेर कामलाई अगाडि बढाइरहेको तुलसीपुर उपमहानगरपालिकाले पाठ्यक्रम विकास केन्द्रका विज्ञसँग पनि निरन्तर छलफल गरिरहेको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी बताउनुहुन्छ ।

स्थानीय पाठ्यक्रम निर्माणका क्रममा तुलसीपुर उपमहानगरपालिकाले पालिका भित्रका शिक्षासँग सरोकार राख्ने विभिन पक्षसँग पटक-पटक परामर्श गरेको छ । शिक्षकका पेसागत सङ्गठन, संस्थागत विद्यालयका सङ्गठन लगायतका सरोकारवालासँगको छलफलपछि आवश्यकता पहिचान गरिएको र उनीहरुसँग नै पाठ्यक्रममा राख्नु पर्ने विषयवस्तुको बारेमा पनि छलफल गरिसकिएको उपमहानगरले जनाएको छ ।

राष्ट्रिय पाठ्यक्रमले नसमेटेका विषयलाई समेट्ने, तुलसीपुर उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, कला संस्कृति, स्थानीय सरकारको जिम्मेवारी, स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध, स्थानीयस्तरको ज्ञान सिप र आवश्यकता लगायतका विषयवस्तु समेट्न सुझाव आएको उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

पाठ्यक्रम तयार भएपछि पाठ्यपुस्तक तयार गरेर आउँदाे शैक्षिक सत्रदेखि नै कार्यान्वयनमा लैजाने योजना बनाएको तुलसीपुर उपमहानगरपालिकाले पाठ्यक्रम तयार भइसकेपछि तत्कालका लागि स्रोत पुस्तिका बनाएर कक्षा सुरु गर्नेछ ।  स्थानीय पाठ्यक्रम लागू भएपछि आफ्नै परिवेशको बारेमा विद्यार्थीहरुले पढ्न पाउनुका साथै स्थानीयस्तरको कार्यसम्पादनमा प्रभावकारिता र सहजता आउने तुलसीपुर उपमहानगरपालिकाको विश्वास रहेको छ ।

उपमहानगरपालिकाले निर्माण गरिरहेको पाठ्यक्रमले स्थानीयस्तरकै विषय वस्तु समेट्नु पर्ने शिक्षा क्षेत्रसँग सरोकार राख्नेहरुको सुझाव रहेको छ । स्थानीय पाठ्यक्रम तयार भइ लागू भए विद्यार्थीहरुमा पढाइप्रतिको रुचि बढ्ने र स्थानीय कला संस्कृति इतिहास, प्राकृति स्रोत साधनको संरक्षण र प्रचारप्रसार हुने उनीहरुको विश्वास रहेको छ ।

स्थानीय पाठ्यक्रमसँगै तुलसीपुर उपमहानगरपालिकाले शैक्षिक योजना पनि तयार गरिरहेको छ । शिक्षाको रणनीतिक र आवधिक योजना बनाइसकेको तुलसीपुर उपमहानगरपालिकाले दिगो विकास लक्ष्यले राखेको गुणस्तरीय शिक्षाको लक्ष्य समेत पूरा गर्ने कार्यनीतिसहितको शैक्षिक योजना निर्माण गरिरहेको हो ।

तुलसीपुर उपमहानगरलाई सबै प्रकारको शिक्षाको केन्द्र बनाउने उद्देश्य राखेर शिक्षा योजना बनाउने तयारी गरिरहेको शिक्षा महाशाखाले यस विषयमा विभिन्न विज्ञहरुसँग छलफल गरिरहेको छ । शिक्षामा चासो राख्ने सरोकारवालासँगको पटक पटकको अन्तरक्रियाबाट धेरै महत्त्वपूर्ण सुझाव आएको शिक्षा महाशाखाले जनाएको छ ।

तुलसीपुरलाई शिक्षाको केन्द्र बनाउने, शिशु कक्षादेखि नै शैक्षिक सुधार गर्ने, शैक्षिक संस्थालाई भौतिक रुपले सम्पन्न गराउने रणनीति अन्तर्गत रहेर शिक्षा योजना निर्माणको काम ५० प्रतिशत सकिएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

स्थानीय विज्ञ, तयार नेपाल, उपमहानगरपालिकाका शिक्षा सल्लाकार, टिच फर नेपाल, पाठ्यक्रम विकास केन्द्रका विज्ञ लगायतको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक योजना र स्थानीय पाठ्यक्रम निर्माण भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया