सर्वोच्च अदालतका न्यायाधीशसहितको टोली कालापत्थर पुग्दै, ‘गाउँपालिकालाई जानकारी छैन’

 फागुन २३, २०७८ सोमबार १३:११:९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सर्वोच्च अदालतका न्यायउधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ । हिजाे आइतवार लबुचेमा बसेको याे टाेली आज साेमवार बिहान गोरप्सेपतर्फ प्रस्थान गरेको हो ।

फागुन १६ गते लुक्ला आएको ४० जना महिलाको टाेली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था (साथसाथै) की अध्यक्ष प्रजिता कार्कीले बताउनुभयो । उहाँका अनुसार याे टोली भाेलि मङ्गलवार बिहान ८ बजे कालापत्थर पुगेर अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम गर्नेछ ।

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरू १३ दिने पदयात्रमा निस्किएको आयोजक संस्थाले जनाएको छ ।

विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको, पानीको मुहान सुक्ने क्रम बढेकाे र यसको प्रत्यक्ष असर महिलामा परिरहेको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

२०२२ मा 'साथ साथै' को यो अभियान सातै प्रदेशमा पुर्‍याउने लक्ष्य रहेको जानकारी गराउनुभयो । यसअघि पदयात्रा अघि 'साथ साथै' ले अन्नपूर्ण आधार शिविर र मार्दी हिमाल क्षेत्रमा पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ । यो अभियानले जलवायु परिवर्तन र महिलाको मुद्दा मात्रै उजागर नगरि आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

अभियानमा निस्कँदै गर्दा विभिन्न सङ्घ–संस्थादेखि अन्य व्यक्तिहरूले समेत सकारात्मक रूपमा सहयोग गरेको आयोजक संस्थाले जनाएको छ । सबैको सहयोग र कार्यक्रम आयोजना हुने अघिल्लो दिनसम्म अभियानमा रहेका सबै जना सकुशल गोरप्सेपमा पुग्नुले पनि अभियानको उद्देश्य पूरा हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष कार्कीले टेलिफोन सम्पर्कमा बताउनुभयो ।

अभियानका क्रममा अन्य व्यवस्थापनको जिम्मेवारी भने एलिट एक्सपिडिशनले लिएको छ । यस्तै अभियानका क्रममा हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरीसमेत साथमै खटाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

गाउँपालिकालाई कार्यक्रमबारे जानकारी नै छैन

कालापत्थर रहेको गाउँपालिका खुम्बुपासाङ ल्हामु हो । यही गाउँपालिकामा विशेष कार्यक्रम आयोजना हुँदैछ । त्यो पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जलवायु परिवर्तनका कारण महिलाको जनजीवनमा पारेको अवसरको विषयमा घोषणा पत्र नै जारी गर्ने योजना छ । तर कार्यवाहक अध्यक्ष महिला भएर नेतृत्व गरेको गाउँपालिका र सिङ्गो जनप्रतिनिधिले कार्यक्रमबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताउँछन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले कालापत्थरमा कार्यक्रम गर्ने गरी महिला टोली पदयात्रामा निस्किएको समाचारमा देखेकाे भए पनि आधिकारिक संस्थाबाट खबर नभएको बताउनुभयो । गाउँपालिकासँग समन्वय गरेको भए आफूहरूले पनि सहयोग गर्नसक्ने भन्दै कार्यवाहक अध्यक्ष शेर्पाले समन्वय नगरेको विषयमा कुनै पनि आपत्ति नभए पनि स्थानीय सरकारको समेत सहभागितामा गरेको कार्यक्रमले अझ बढी सार्थकता पाउन सक्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया