लुक्ला विमानस्थल नजिकैकाे वनमा लागेको आगो अझै निभेन

 फागुन २३, २०७८ सोमबार १६:१३:० | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – खुम्बुपासाङ ल्हामु गाउँपालिका २ मा रहेकाे सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएकाे छैन । सिम्रिक एअरको हेलिकप्टरले पानी खन्याएर आगो निभाउने प्रयास गरे पनि सफल हुन नसकेकाे बताइएको छ ।

फायर फाइटिङसहितको हेलिकप्टर आगो निभाउन आज साेमवार बिहानदेखि खटिएको भए पनि आगो झन् फैलिएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओमप्रसाद यादवले जानकारी दिनुभयो । 

आगो निभाउन नसकेपछि हेलिकप्टर काठमाण्डौ फर्किएको छ । आगो निभाउन प्रहरी र स्थानीयवासी खटिरहेका छन् । अहिले हेलिकप्टर कम्पनी र प्रदेश प्रहरी कार्यालयसँग समन्वय भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।    

धुवाँले गर्दा आज बिहान झन्डै एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो । आगोका कारण सल्ला, उत्तिस लगायतका प्रजातिका बोटबिरुवाहरू धेरै मात्रामा नष्ट भइसकेको स्थानीयवासीले बताएका छन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका २ लुक्लाको हरियाली सामुदायिक वनमा हिजाे आइतवार रातिदेखि सुरु भएकाे आगलागीको कारण पत्ता लाग्न सकेको छैन । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया