नेपाली अलैँची कतार 'एक्सपो' मा

 फागुन ३०, २०७८ सोमबार २०:१८:२५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका ६ मा फलेको अलैँची कतारको राजधानी दोहामा प्रदर्शनीमा राखिएको छ । फुङलिङ नगरपालिका ६ का भीमबहादुर गुरुङले उत्पादन गरेको अलैँची पुष्पलाल ओझाले जिल्ला  सदरमुकाममै ग्रेडिङ गरेका थिए । ताप्लेजुङमा फल्दै यही ग्रेडिङ भएर झापाको बिर्तामोडमा प्याकेजिङ गरिएको थियो । 

ताप्लेजुङ, झापा हुँदै गएको अलैँची कतारको राजधानी दोहामा सञ्चालित पाँच दिने प्रदर्शनीमा पुर्‍याइएको थियो । देशभर उत्पादन भएको अलैँची धेरैजसो खाडी देशहरू साउदी अरेबिया, कतार,  दुबईमा पुग्ने गर्दछ । तर नेपालको नामभन्दा पनि दोस्रो देश भारतको नाम भएर जाने गरेको छ । नेपाल नजोडी जानु देशका लागि घाटा हुने विज्ञहरू बताउँछन् ।  

नेपालकै नामबाट अलैँची सिधै ती देशमा पठाउने प्रक्रियाका लागि प्रयास गरिएको नेपालबाट अलैँची पठाएका चन्द्रप्रकाश भट्टराइर्लले (सिपि) बताउनुभयो । उहाँले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सहयोगमा कतारमै रहेका कुमार खड्का र काजिमान पौडेलमार्फत प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

याफ्रे कृषि उत्पादन प्रशोधन बिक्री तथा निकासी केन्द्रमार्फत लगिएको अलैँची कतारका नागरिकले निकै मन पराएको भट्टराईले बताउनुभयो ।  भट्टराई वातावरण संरक्षण तथा विकास मञ्चका पूर्वअध्यक्ष हुनुहुन्छ, उहाँको संस्थाले इसिमोड नेपालसँगको सहकार्यमा तीन वर्षसम्म अलैँचीका विषयमा अध्ययन गरेको थियो । 

त्यही समयमा नेपालको अलैँची चीन लैजानका लागि पनि प्रयास गरिएको थियो । चीनका व्यवसायी तथा स्वास्थ्य क्षेत्रका व्यक्तिलाई अलैँची बगानको भ्रमण पनि गराइएको थियो । 

कतारको प्रदर्शनीमा बसेका पौडेलले नेपाली अलैँचीमा त्यहाँका नागरिकको चासो देख्दा प्याकेजिङमा सुधार गरेर हवाई जहाजबाट लैजान सकिने हिम्मत बढेको बताउनुभयो । ‘प्याकेटको बाहिर यहाँको स्थानीय भाषामा लेख्नुपर्ने रहेछ’, उहाँले भन्नुभयो, ‘यहाँको नियमअनुसार खाद्य गुणस्तर परीक्षण गराएर यो कस्तो ठाउँमा उत्पादन भएको भनेर खुलाउनुपर्ने रहेछ ।’ 

अहिलेसम्म नेपालको अलैँची भारत जाने र भारतले आफ्नै ब्रान्ड बनाएर अन्यत्र बिक्री गर्ने गरेको छ । पहिला ग्रेडिङ पनि भारतमै हुने गरेको थियो । अहिले भने नेपालमै हुन थालेको छ । व्यवसायीले जिल्ला–जिल्लामा पनि ग्रेडिङ गर्न थालेका अलैँची व्यवसायी ओम विमली बताउनुहुन्छ । देशका ४३ जिल्लामा खेती विस्तार भएको अलैँची वार्षिक सात हजार मेट्रिक ट्रनसम्म उत्पादन हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी ताप्लेजुङले तीन हजार ट्रनको हाराहारीमा उत्पादन गर्ने गरेको छ । 

प्रदर्शनीमा राखिएको नेपाली अलैँची । फोटो : सिपी भट्टराईको फेसबुकबाट ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया