बेलैमा साहुको दुईसय रुपैयाँ तिर्न नसक्दा जेल जान बाध्य

 भदौ ३१, २०७५ आइतबार १२:२०:२६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – साहुसँग लिएको दुईसय रुपैयाँ तिर्न नसक्दा जनकपुरका एक दलित एवं विपन्न परिवारका व्यक्ति जेल जाने भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा बस्ने ६० वर्षका राधाकृष्ण खत्वेलाई साहुबाट लिएको ऋण नतिरेको भन्दै अदालतले जेल सजाय सुनाएको हो ।   

खत्वेले २०४६ साउन १५ गते स्थानीय विक्रम यादवसँग १ हजार रुपैयाँ ऋण लिनुभएको थियो । एकहजार ऋणको विक्रमले खत्वेसँग तीनहजार रुपैयाँको कपाली तमसुक बनाएका थिए । र, तमसुकअनुसार मासिक तीनसय रुपैयाँका दरमा खत्वेले ब्याज तिर्नु पर्ने थियो ।

२०४७ जेष्ठ ८ गते खत्वेले साहु विक्रमलाई ८ सय रुपैयाँ फिर्ता गर्नुभयो । १ हजार रुपैयाँको ९ महिनाको ब्याज २ सय ७० र मूलधनमा बाँकी २ सय रुपैयाँ तिर्न बाँकी थियो । 

त्यति रकम समेत खत्वेले तिर्न नसक्दा साहु यादवले २०४९ साल भदौ १५ गते श्रीमती गुलाबदेवी यादवको नाउँमा बाँकी रहेको ४ सय ७० रुपैयाँको २ हजार ९ सयको तमसुक बनाउन लगाए । रकम थपेर कागज बनाएपछि खत्वेले तिर्न सक्ने अवस्था नहुँदा यादवले फेरि वि.स. २०५८ साल असार २० गते खत्वेसँग ४० हजार रुपैयाँको तमसुक बनाए ।

‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ । म जेल जाँदैछु’ खत्वेले भन्नुभयो ‘तर बेलैमा दुईसय रुपैयाँ तिर्न नसकेकै कारण जेल जानु समाजबाट मानवीयता समाप्त हुँदै गएको मलाई लागिरहेको छ ।’

आर्थिक अवस्था निकै कमजोर रहेको खत्वेले कृषि विकास बैंकमा धितो राखेको आफ्नो ४ कट्ठा जग्गा फुकुवा गराएर साहु यादवलाई लिन गुहार गर्नुभयो । तर यादवले मानेनन् र फेरि १ लाख ६५ हजार रुपैयाँको कपाली तमसुक बनाउन बाध्य बनाए ।

पैसा तिर्न नसकेपछि विक्रमले आफूविरुद्ध वि.स. २०६३ साल पुष ९ गते जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको खत्वेले बताउनुभयो । यादवले मुद्दा गरेपछि स्थानीयले ७६ हजार रुपैयाँ लिएर मिलापत्र गर्न आग्रह गर्दा आफू तयार भए पनि साहु यादवले नमानेको खत्वेको भनाई छ । 

पैसा तिर्न नसकेपछि जिल्ला अदालत धनुषाले वि.स. २०६४ साल माघ २७ गते खत्वेलाई एक वर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि खत्वेले पुनरावेदन अदालतमा मुद्दा गर्नुभयो । र अहिलेसम्म चलिआएको पुनरावेदनको मुद्दामा उच्च अदालत जनकपुरले फैसला सदर गरेको छ । र अदालतले पक्राउ पूर्जी जारी गरेको छ । 

‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ । म जेल जाँदैछु’ खत्वेले भन्नुभयो ‘तर बेलैमा दुईसय रुपैयाँ तिर्न नसकेकै कारण जेल जानु समाजबाट मानवीयता समाप्त हुँदै गएको मलाई लागिरहेको छ ।’

उहाँले भन्नुभयो ‘म दुई सय रुपैयाँ तिर्न नसक्दा जेल गएपनि समाजका कोहि व्यक्तिलाई यस्तो दिन नआओस् ।’

दुईसय रुपैयाँ तिर्न नसक्दा विपन्न परिवारका खत्वेलाई जेल पठाउन बाध्य पार्ने साहु यादवले गाउँका अरु ९ जनासँग कपाली तमसुक गराएर जबर्जस्ती मनोमानी तरिकाले जथाभावी रकम असुल्ने गरेको पीडितहरुले बताएका छन् ।


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया