आफैले बनाएकाे विश्व रेकर्ड ताेड्न २६ औँ पटक सगरमाथा आराेहण गर्दै कामीरिता शेर्पा

 चैत २६, २०७८ शनिबार १६:८:५३ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बु थामेका कामीरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्न लाग्नुभएको छ । यसअघि २५ औं पटक सगरमाथा आरोहण गरिसक्नुभएका ५२ वर्षीय शेर्पाले २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न आइतबार काठमाण्डौबाट जहाजमा लुक्ला आउने बताइएको छ ।

कोरोना महामारीका कारण तीन वर्षअघि सगरमाथा आरोहण गर्न नपाएका विदेशीको अनुरोधमा कामीरिता यसपटक सगरमाथा चढ्न लाग्नुभएको हो ।  विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीमा रहनुभएको छ । दोस्रो शिविरमाथिदेखि चुचुरोसम्म उहाँले करिब १३ हजार मिटर डोरी कतै दोहोरो त कतै एकसरो टाँगेर बाटो बनाइदिनुपर्नेछ ।

समुद्री सतहदेखि ५३ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरदेखि ६४ सय मिटर उचाइमा रहेको दोस्रो शिविरसम्म डोरी टाँग्ने र हिउँखाडलमा भर्‍याङ राख्ने काम ‘सगरमाथा प्रदूषण नियन्त्रण समिति’ले गर्छ । त्यसभन्दा माथि उकालोमा डोरीमात्रै टाँग्ने जिम्मा हरेक सिजनमा आरोहण गराउने कम्पनीको साझा संस्था एक्सपिडिसन अपरेटर्स एसोसिएसनले लिन्छ । एसोसिएसनका तर्फबाट दोस्रो शिविरदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कामको नेतृत्व सम्हाल्दै आएका छन् । काठमाण्डौको सेभेन समिट ट्रेक्स प्रालिमा आबद्ध उहाँले एक याममा कम्तीमा २० हजार डलर पारिश्रमिक लिने गरेको बताउनुभयो ।

सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका कामीरिताले गत वर्ष पनि दुईपटक सगरमाथा आरोहण गर्ने योजना बनाउनुभएको थियो । तर परिवारको अनुरोधमा दोस्रो पटकको आरोहण रद्द गरेर काठमाण्डौ फर्किनुभएको थियो । कामीरिताले विश्वकै दोस्रो अग्लो शिखर केटू, चौथो अग्लो ल्होत्से, छैटौं अग्लो चोयु र मनास्लु हिमाल पनि आरोहण गरिसक्नुभएको छ ।

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उहाँकै जिल्लावासी पासाङदावा शेर्पा रहनुभएको छ । पासाङदावा पनि २३ पटक सगरमाथाको चुचुरोमा पुगिसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया