स्थानीय बासिन्दाको दबाबपछि बन्दै सडक

 चैत २८, २०७८ सोमबार १३:२४:३० | वैद्यनाथ पाैडेल
unn.prixa.net

२०७३ सालमा चापागाउँ–लगनखेल सडक विस्तार गरेर कतै २० मिटर तथा कतै २२ मिटर बनाउने निर्णय गरियो । त्यस्तै सातदोबाटो–गोदावरी सडक खण्ड विस्तारको निर्णय २०७४ सालमा भएको हो । त्यहाँ पनि कतै २० तथा कतै २२ मिटर सडक विस्तार गर्ने निर्णय भयो । 

सडक विभाग अन्तर्गत उपत्यका सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार स्थानीयवासीको विरोधका कारण सडक विस्तार हुन नसकेपछि चापागाउँ सडक २०७६ पुष ३ गते तथा गाेदावरी सडक २०७७ चैत १ गते मन्त्रिपरिषद्ले जे जति चौडाइ उपलब्ध छ त्यसमा कालोपत्रे गर्ने भन्ने निर्णय गर्यो । मन्त्रिपरिषदबाट उपलब्ध चौडाइमा सडक कालोपत्रे गर्ने निर्णय भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण यी दुवै खण्ड लामो समयसम्म कालोपत्रे भएन। 

सामाजिक सञ्जालको प्रभाव

२०७३ सालमा सडक विस्तार गर्न सुरु गरिएको ललितपुरको लगनखेल–चापागाउँ सडक अन्तर्गत ढोलाहिटी–सुनाकोठी खण्ड लामो समयसम्म नबनेपछि स्थानीयवासीले दबाब सिर्जना गर्नका लागि भनेर २०७७ साल भदौ १६ गते सामाजिक सञ्जाल फेसबुकमा सुनाकोठी बाटो नाम राखेर फेसबुक पेज बनाए । 

चापागाउँ दोबाटोबाट लगनखेल जाने करिब पाँचसय मिटर सडक पिच नभएपछि स्थानीयले बाटो खनेर बन्द गरेको तस्बिर राखेर अब हामीले पनि यसरी नै दबाब दिनुपर्छ भनेर पेजमा पोष्ट गरियो । अनि सुरु भयो सुनाकोठी खण्डको बाटो बन्ने अभियान । 

स्थानीयवासी सुनिता खड्का भन्नुहुन्छ, ‘अहिले इन्टरनेट तथा सामाजिक सञ्जालको समय भएका कारण फेसबुक पेजमार्फत अभियान सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने लागेर पेज बनाइएको हो । जुन प्रभावकारी पनि देखियो ।’

नभन्दै फेसबुक पेज बनाएर थालेको अभियानले सार्थक रुप लियो । फेसबुक पेजमार्फत लामो समय बाटो नबनेका कारण सम्बन्धित ठेकेदार पक्षले सुनुवाइ नगरेमा बन्द गर्ने अवस्था आउन सक्ने बारेमा सचेत पनि गराइयो । यसमा कतैबाट पनि सुनुवाइ भएन । 

फलस्वरुप फेसबुक पेज निर्माण भएको २० दिनपछि अर्थात २०७७ असोज ४ गते बाटो पूर्ण रुपमा बन्द गरियो । असारको समय भएका कारण र बाटोमा जताततै ठूला खाल्डा र धान रोपाइँ गरी विरोधको नयाँ शैली पनि अपनाइयो । 

दबाबपछि काम सुरु

बाटो बन्द गरिएको भोलिपल्ट अर्थात असोज ५ गते ललितपुर महानगरपालिका वडा नं २७ वडा कार्यालयमा वडा अध्यक्ष, ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीयवासी तथा दुई जना प्रदेश सभासद समेत रहेको बैठकले ६ बुँदे प्रस्ताव पारित गर्यो । प्रस्तावमा पहिले बाटोलाई सामान्य अवस्थामा गाडी चलाउन मिल्ने गरी खाल्डा पुर्नेदेखि पिच गर्नेसम्मका प्रस्तावहरु थिए । 

बर्खा, कोभिड तथा सामान नपाइने विभिन्न कारण देखाउँदै पुनः काम भएन । विरोध र दबाबका काम पनि चलिरहे । बन्द र विरोधको परिणाम बल्ल सात महिनापछि देखियो अर्थात २०७७ माघ २६ गते बाटो पिच भयो । 

स्थानीयवासी खुसी थिए हिलो र धुलो नभएकोमा अनि आफूले गरेको विरोधको सुनुवाइ भएकोमा । तर, उनीहरुको खुसी लामो समय टिक्न सकेन । बाटो कालोपत्रे भएको सात महिना अर्थात २०७८ भदौमा कालोपत्र उप्कियो । अवस्था पुरानै भयो । पानी पर्दा हिलो नपर्दा धुलो । 

‘धेरै सङ्घर्ष गरेर गराएको पिच छ महिना नभइ उप्कियो । कस्तो खालको पिच हो यो ?’ स्थानीय राजेश खड्काको प्रश्न छ, ‘अब फेरि धुलो हिलो । यसका बारेमा कसले हेर्ने हो ।’

‘यसको सबैभन्दा पीडा भनेको बाटोको दायाँबायाँ घर हुने हामी जस्ताको हो’ अर्का स्थानीय प्रणय खड्का आक्रोश व्यक्त गर्नुहुन्छ, ‘घरमा यही धुलोका कारण बिरामी पर्छन् । झ्याल ढोका खोल्न मिल्दैन । लुगा सुकाउन मिल्दैन ।’ 

बाटो पिच भएको छ महिना पनि नपुग्दै पहिलेको जस्तै ठूला खाल्डा तथा पिच उप्किएर धुलो, हिलो भएपछि सम्बन्धित निकायले यसको मर्मत सम्भार गर्ने आशा गरेका थिए स्थानीयले । तर, यसमा कुनै प्रगति तथा उपलब्धिको आशा नदेखेपछि तत्कालीन हाम्रो नेपाल हामी नेपालीका अभियन्ता तथा अहिलेका राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य विनोद खड्काको अगुवाइमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष ज्ञापन पत्र बुझाउने काम भयो । 

ज्ञापन पत्र बुझाइयो । प्रजिअले बुझे । तर, हात लाग्यो शून्य ! 

अन्य विकल्पले काम नगरेपछि बन्द

अन्य विकल्पले काम नगरेपछि फेरि खड्का लगायत अन्य स्थानीयवासी मिलेर बन्दको आह्वान भयो । सडक बन्द भयो । सडकमा वरिष्ठ मदनकृष्ण श्रेष्ठ स्वयम् आएर ग्यास चुल्हो राखेर चिया पकाएर पिउनुभयो । परिणाम भोलिपल्टै हात लाग्यो । पिच गर्ने सर्तसहित बाटोमा बेस बिच्छ्याएर सम्याउने काम भएको छ । तर, ढल सम्बन्धी केही काम भइरहेका कारण पिच भने भएको छैन ।

यो भयो सुनाकोठी सडकको कथा । यस्तै कथा छ गोदावरी सडक खण्डको पनि । गोदावरी सडक खण्ड विस्तार तथा निर्माणका लागि भनेर करिब चार वर्ष अगाडि अर्थात २०७४ सालमा बाटो भत्काउने काम सुरु भयो । 

भत्काउन सजिलो थियो । एक्स्काभेटर ल्याइयो अनि बाटो तत्काल भत्काइयो । सकियो । तर, बनाउनका लागि ढल अनि खानेपानीका पाइप तथा प्राधिकरणको पोलको समस्या जटिल थियो । सबैभन्दा जटिल थियो बाटो विस्तारका लागि स्थानीयको घर भत्काउनु । 

हरिसिद्धि, बाँडेगाउँ, ठैब जस्ता घना बस्ती भएका ठाउँमा घर भत्काएर बाटो विस्तार गर्न स्थानीयको अवरोध आयो । उपभोक्ता तथा बाटो छेउछाउ घर भएका स्थानीयवासी यसबाट सबैभन्दा पीडित भए । बाटो विस्तार नगरि नबनाउने ठेकेदार कम्पनी तथा विस्तार गर्न नदिने स्थानीयवासीबीचको विवादले लामो समय हरिसिद्धि, बाँडेगाउँ तथा ठैबको बाटो बनेन । 

यही विवाद चलिरहँदा पनि टौखेलभन्दा माथि गोदावरीसम्म तथा यता हात्तीवनसम्मको बाटो भने पहिले नै बन्यो । त्यहाँ विस्तार तथा निर्माणमा समस्या थिएन । बाटो बनाउने अन्य उपाय नदेखेपछि त्यहाँका स्थानीयवासीले पनि छिमेकी सडक सुनाकोठीका बासिन्दाको उपाय अवलम्बन गरे । सडक लामो समय बन्द भयो । अन्ततः बाटो विस्तार नहुने गरी अहिले कायम रहेको सडक मात्र पिच हुने गरी सम्झौता भयो र पिच पनि । 

हरिसिद्धि, बाँडेगाउँ, ठैब सडक पिच भएको दुई महिना मात्र भयो । ‘सडकका कारण हामीले धेरै समय दुःख पायौँ । अब स्थानीयवासी नताती र बन्द नगरि बाटो नबन्ने भयो भनेपछि हामीले बन्द गरेका हौँ। बन्द भएपछि बाटो पनि बन्यो’ स्थानीयवासी भुपदास महर्जन भन्नुहुन्छ, ‘अझ त्यो सानो हरिसिद्धिको मोड त पिच भएको तीन/चार दिन मात्र भयो ।’

महर्जनका अनुसार धुलिखेलको बाह्र वर्षको मेलमा पुजारीहरुले सामान बोकेर जानुपर्ने हुँदा स्थानीयको दबाबमा हरिसिद्धिको झन्डै तीन सय मिटर सडक पिच भएको हो । 

अर्का स्थानीय रमेश महर्जन भन्नुहुन्छ, ‘आखिर बाटो हो बनाइ हाल्छन नि भनेर बसेको त कहिल्यै बनाउँदैनन् । अब हामी नताती हुँदैन भनेर बाटो बन्द गरेपछि बल्ल बाटो पिच भयो ।’

जोरपाटी नगरपालिकाका वसन्त भण्डारी भन्नुहुन्छ, ‘हाम्रो सङ्घर्षका कारण बाटो त बन्यो । तर, ढल र अन्य निर्माणको काम भने बाँकी नै छ । मुख्य कुरा सडकपेटी राम्रोसँग बनेका खण्डमा अझ सजिलो हुन्थ्यो।’

स्थानीयवासी तातेपछि बनेका सुनाकोठी तथा हरिसिद्धि सडक केवल प्रतिनिधि उदाहरण मात्र हुन् । यसअघि कलङ्की – नागढुङ्गा तथा चाबहिल – जोरपाटी सडक पनि लामो समय बनेनन् ।जुन-जुन ठाउँमा स्थानीयवासीले आफ्नो ठाउँका बारेमा चासो, चिन्ता र अपनत्व लिएका छन् त्यस्ता ठाउँमा वर्षाैँ हुन नसकेका कामहरु एक झट्कामा भएका यस्ता धेरै उदाहरण छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया