सुदूरपश्चिममा प्रसिद्ध मेला बान्नीकी चैतलीको रौनक

 बैशाख २, २०७९ शुक्रबार ८:३१:४१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - सुदूरपश्चिममा प्रसिद्ध मेला बान्नीकी चैतलीको रौनक छ । होली पूर्णिमादेखि सुरु हुने मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ ।

मेला सुरु भएपछि हरेक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो भएर व्रत बस्ने बान्नी मष्टाका पुजारी नृपराज जोसीले बताउनु भयो ।

उहाँका अनुसार परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवी प्रकट भइ महिसासुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गर्छ ।

सुर्मादेवीले दानवको बध गरेको प्रतीकका रुपमा चैत्र औँसीका दिन काटेको लिङ्गोलाई चैत्र शुक्ल त्रयाेदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । दर्शनार्थीले हिजो बान्नीको काङ्कर अर्थात लिङ्गो र बान्नी मष्टाको दर्शन गरेका छन् ।

झन्डै ३५ मिटर लामो लिङ्गोलाई समाएर झन्डै ३ सय मिटर हिँडाउने गरिन्छ । यसरी हिँडाएर ल्याएको लिङ्गोलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर खेल्ने प्रचलन छ ।

लिङ्गो हिँडाएको र भकुन्डो खेलेको हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौँ दर्शनार्थी बझाङको छविसपाथीभेरा गाउँपालिकाको बान्नी चौरमा पुग्ने गर्छन् । बझाङमा नयाँ वर्षको स्वागत गर्न विसुपर्व समेत मनाउने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया