म्याग्दीमा मतगणना सुरु, धवलागिरि गाउँपालिकाको मतपेटिका गणनास्थल पुर्‍याइँदै

 बैशाख ३१, २०७९ शनिबार १२:१०:१२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पालिका तह चुनाव अन्तर्गत हिँजो (शुक्रवार) सम्पन्न मतदानको म्याग्दीमा मतगणना सुरु भएको छ । जिल्लाको बेनी नगरपालिकासहित चारवटा गाउँपालिकामा आज बिहानैदेखि मतगणना सुरु गरिएको हो ।

अहिले बेनी नगरपालिका–१, रत्नेचौरबाट तीनवटा मतदान केन्द्रको मतगणना सुरु गरिएको म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका, रघुगंगा, मंगला र मालिका गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

त्यस्तै धवलागिरि गाउँपालिका १ गुर्जाबाट भने भूगोलका हिसाबले धेरै टाढा रहेको हुँदा मतपेटिका ल्याउन ढिलाई भएकाले मतगणना हुन नसकेको हो । म्याग्दी सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको गूर्जा पुग्न धवलागिरि गाउँपालिकाको केन्द्रबाट पनि एक दिनको पैदलयात्रा गर्नुपर्छ । गुर्जाबाट मतपेटिका बोकेर हिँडेको टोली अहिले बीच बाटोमा आएको हुँदा मतपेटिका आएपछि मात्रै धवलागिरि गाउँपालिकाको मतगणना सुरु हुने निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताउनुभयो ।

मतगणना गर्नका लागि म्याग्दीका सबै मतगणना हुने स्थानहरुमा तारजालीको बार लगाउनुका साथै सिसी क्यामेरा समेत जडान गरिएको छ । म्याग्दीमा हिँजो सम्पन्न पालिका तह चुनावमा जिल्लाभर कुल ६६ दशमलव २३ प्रतिशत मत खसेको थियो । जिल्लामा पालिका तह चुनावमा कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएकोमा जम्मा ५६ हजार ५ सय ४३ अर्थात् ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

पुरुष ४१ हजार ४ सय १४ जना रहेकोमा २६ हजार ५ सय १० र महिला ४३ हजार ९ सय ६० रहेकोमा ३० हजार ३२ जना तथा अन्यतर्फ एकजना मतदाताले भोट खसालेका थिए । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दी जिल्लामा पालिका तह चुनावको लागि कुल २ सय ३७ पदमा ७ सय १८ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

पालिका तह चुनावका लागि म्याग्दीको बेनी नगरपालिकासहित केही वडा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन तथा एमाले एक्लैले चुनावमा प्रतिस्पर्धा गरेका छन् । रघुगंगा, मंगला र मालिका गाउँपालिकामा भने एमाले, कांग्रेस र माओवादी छुट्टाछुट्टै उम्मेदवार खडा गरेर चुनावमा सहभागी भएका हुन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया